भर्खरै :

जातीय–क्षेत्रीय होइन, वर्गीय रुपमा अघि बढौँ

भक्तपुर, १५ पुस । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले युवा कार्यकर्ताहरूले भूगोल, इतिहास र सैन्य स्थितिबारे गहन अध्ययन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
नेपाल क्रान्तिकारी युवा सङ्घको ११ औं भक्तपुर जिल्ला सम्मेलनको बन्द सत्रमा प्रशिक्षण दिँदै अध्यक्ष रोहितले जातीय र क्षेत्रीय नाराभन्दा वर्गीयरूपमा अगाडि बढ्ने माक्र्सवादी साहित्य र पार्टी प्रकाशनहरूको नियमित रूपमा अध्ययन गर्नुपर्छ भन्नुभयो ।
‘‘देशको मुक्ति र राजनीतिक स्वतन्त्रताका लागि इमानदार र अनुशासित भई जनताको बीचमा गएर काम गर्न सिक्नुपर्छ । नयाँ पुस्तालाई कम्युनिष्ट साहित्य पढाउने र चेतनास्तर उठाउने काममा युवाहरूले भूमिगत शैलीमा काम गर्नुपर्छ । समाजवादी गणतन्त्र स्थापना गर्न वैचारिक रूपले सक्षम हुन जरूरी छ ।’’ उहाँले भन्नुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले नेक्रायुसङ्घका सबै सदस्यहरूले माक्र्स, एंगेल्स, लेनिन, स्तालिन, फिडेल क्याष्ट्रो, किम इल सङको जीवनी अध्ययन गरी नेमकिपाको तत्कालीन र दीर्घकालीन लक्ष्य पूरा गर्न अघि बढ्नु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘पार्टी प्रकाशनहरू अध्ययन गरी सङ्गठन विस्तारमा योगदान गर्नु आवश्यक छ । पुँजीवादी सरकारको भागवण्डाको लागि निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्नेहरू नामले कम्युनिष्ट भए पनि यथार्थमा कम्युनिष्ट होइन ।’’
‘‘कम्युनिष्ट दाबी गर्ने एमाले र माओवादी सरकारमा गएर संविधानअनुसार आधारभूत शिक्षा निःशुल्क र अनिवार्य तथा मावि कक्षा निःशुल्क गरिएन । प्रधानमन्त्री ओली आफै लागेर बालकक्षा भर्ना ९७.२ प्रतिशत पुगेको सार्वजनिक गरियो । तर, सरकारले एक कक्षामा भर्ना भएका १०० जना विद्यार्थीमध्ये २२ जनामात्र मावि कक्षामा पुगेको यथार्थलाई कहिल्यै सार्वजनिक गरेन ।’’ उहाँले बताउनुभयो ।
सचिव सुवालले विकास भनेको विदेशी ऋणमा बनेका सडकमा बैङ्क ऋणको गाडी गुडाउनु होइन, राजनीतिक चेतना र उच्च सांस्कृतिक स्तर नै विकास हो भन्ने विचार राख्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले ठूला पार्टीहरूभित्र बेमेलका कारण व्यक्तिवादी चरित्र र सोच रहेको बताउँदै प्रदेशको राजधानी भक्तपुरमै राख्ने प्रस्ताव सङ्घीयता सन्तुलित विकासको सिद्धान्तविपरीत रहेको बताउनुभयो ।
‘‘युवाहरूले पुँजीवादी सोच त्यागी समाजवादी विचारका साथ सङ्गठन गर्नुपर्छ’’, उहाँले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजूले लामो समयको व्यापार युद्धले अन्तर्राष्ट्रियरूपमै आर्थिक मन्दी निम्त्याउने विचार राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘चीनको राजनीतिक व्यवस्था र सवल नेतृत्वको कारण चीनको आर्थिक विकासलाई व्यापार युद्धले केही फरक पार्ने छैन ।
नेपाल प्राध्यापक समाजका सहसचिव सुजन माकले गुप्त दस्तावेजबारे प्रशिक्षण दिँदै माक्र्स–एँगेल्सले निर्माण गरेको धरातलमा लेनिनवादको विकासबारे युवा कार्यकर्ताहरूले जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।
बन्द सत्रबाट मिनबहादुर बाटाको अध्यक्षतामा २१ सदस्यीय नेक्रायुसङ्घ भजिस गठन गरिएको छ ।
बन्दसत्रको अध्यक्षता नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *