भर्खरै :

खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेक्का रद्द

– रमेश लम्साल
काठमाडौँ, १५ पुस । नेपाल विद्युत् प्राधिकरणले तोकिएको शर्त र समयअनुसार काम नगरेको भन्दै तामाकोशी–काठमाडौँ ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का रद्द गरेको छ । सो प्रसारण लाइनको काम चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेञ्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त रुपमा गर्दै आएका थिए ।
ठेक्का सम्झौताअनुसारको काम नगरेपछि प्राधिकरणले चिनियाँ कम्पनीको ठेक्का रद्द गरेको हो । प्राधिकरणका अनुसार तामाकोशी–काठमाडौँ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिनअघि तोडिएको हो ।
प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत् अर्थात् रु. १४ करोड ५४ लाख (१४ लाख ५४ हजार डलर) र रु. छ करोड १६ लाख ७४ हजार कार्यसम्पादन जमानत समेत जफत गरेको छ । आयोजना प्रमुख नवराज ओझाले तोकिएको शर्तअनुसार काम नभए पनि ठेकेदारसँगको स्म्झौता रद्द गरिएको जानकारी दिनुभयो ।
प्राधिकरणले ठेकेदार कम्पनीसँग २०७३ असोज ११ मा ठेक्का सम्झौता गरी २०७६ जेठ १२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सम्झौताअनुसार एक करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र रु. ६१ करोड ६७ लाख ३६ हजारमा चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको प्रसारण लाइनको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिँदै आउनुभएको थियो । तर, कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *