भर्खरै :

डेमोक्रयाट पार्टी भन्छ, मेक्सिको पर्खाललाई बजेट दिन सक्दैनौं

वासिङटन, १७ पुस (एपी) । संयुक्तराज्य अमेरिकाका सङ्घीय कार्यालय बजेट अभावमा आङ्शिक बन्द भएको डेढ हप्ता भइसक्यो । अमेरिकी कङ्ग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्रयाट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनःअगाडि सारेको छ ।
राष्ट्रपति ट्रम्पका लागि “प्रतिष्ठाको विषय” बनेको सीमा पर्खालको बजेट पारित नभए के होला ? राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “बरु सरकारी कार्यालय बन्द हुन्, पर्खाल निर्माणका लागि बजेट छुट्याउनुको विकल्प छैन । राष्ट्रिय सुरक्षा नै मेरो पहिलो प्राथमिकता हो ।”
अमेरिकी कङ्ग्रेसका दुवै सदनमा केही वर्षदेखि बहुमतमा रहेको रिपब्लिकन पार्टीको प्रभाव खस्केको छ । खासगरी, अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा गत नोभेम्बरमा भएको निर्वाचनमा रिपब्लिकन पार्टीले बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पका कैयौँ महत्वाकाङ्क्षी योजना र कार्यक्रम ओझेलमा पर्ने निश्चित भइसकेको छ ।
विपक्षीको विश्वास आर्जन नगर्दासम्म ट्रम्पका आगामी दिन फलामका चिउरा चपाउनुसरह हुनेछ । हाल बन्द अवस्थामा रहेका सरकारी कार्यालयको बजेट व्यवस्थाका लागि नवनिर्वाचित डेमोक्रयाट्सले सोमबार दुईवटा विधेयक अगाडि सारेका छन् । यो बजेट पारित भएमा हजारौँ सङ्घीय कर्मचारी काममा फर्कन पाउनेछन् । कङ्ग्रेसको बहुमतसहितको नयाँ सत्र प्रारम्भ हुनासाथ उक्त बजेट पारित गर्ने योजना डेमोक्रयाट्सको छ ।
डेमोक्रयाट्सले हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत हासिल गरेयता पहिलो कार्यसूचीका रुपमा बजेट विधेयकको अनुमोदन रहेको छ ।
रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटले बजेट विधेयकलाई पारित गर्ने वा नगर्ने भन्ने बारेमा अन्यौल कायमै छ । खासगरी, रिपब्लिकन पार्टीभित्रै बजेटका बारेमा मतैक्य हुन सकेको छैन । सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलका प्रवक्ता डोनाल्ड स्टेवार्टले राष्ट्रपति ट्रम्पको समर्थनबेगर सिनेट रिपब्लिकनले कुनै कारबाही नगर्ने बताउनुभयो ।
“कुरा प्रस्टै छःराष्ट्रपतिले हस्ताक्षर नगर्ने किसिमको कुनै पनि कुरा सिनेटले राष्ट्रपतिकहाँ पठाउने छैन,” स्टेवार्टले भन्नुभयो ।
साङ्केतिक नै भएपनि तल्लो सदनले विधेयक पारित गरेमा त्यसले राष्ट्रपतिमाथि थप दबाब सिर्जना गर्नेछ । यस्तै, ट्रम्प प्रशासनका अधिकारीले गतिरोध अन्त्यका लागि राष्ट्रपतिले कुनै हतार नगरेको बताएका छन् । नाम बताउन नचाहने एक अधिकारीको भनाइमा राष्ट्रपति ट्रम्पको विश्वासमा सीमा पर्खालका बारेमा जनमत आफ्नो पक्षमा रहेको छ । ट्रम्पले सप्ताहान्तमा एकपछि अर्को ट्वीटमा डेमोक्रयाट्स वार्तामा आउनुको विकल्प नरहेको बताउनुभएको छ । सोमबार ट्रम्पले गर्नुभएको ट्वीटमा भनिएको छ, “सिमेन्ट र गिटीको पर्खाल बनाउनुको विकल्प छैन । मैले पर्खाल बनाउने प्रस्ताव त्यागेको छैन । सीमा सुरक्षासँग सम्बन्धित केही विज्ञले वारपार देखिने किसिमको पर्खाल उपयुक्त हुने प्रस्ताव गरेपनि मेरो धारणा बलियो सिमेन्टको पर्खाल नै हो ।”
राष्ट्रपति ट्रम्पले सोमबार फक्स च्यानललाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, “म डेमोक्रयाट्ससँग मध्यस्थता गर्न तयार, इच्छुक र सक्षम छु । तर मैले पर्खाल नै चाहिन्छ भन्नेमा जोड दिइआएको छु । हामीसँग बलियो सीमा सुरक्षा चाहिन्छ र सीमा सुरक्षामा पर्खालको ठूलो महत्व छ ।” बजेट पारित नहुँदा अमेरिकी सङ्घीय कार्यालय डिसेम्बर २२ देखि आङ्शिक बन्द भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *