भर्खरै :

जाडो महिनामा ध्यान दिनुपर्ने कुरा

जाडो महिनामा अधिकांश विद्यालय र क्याम्पसमा हिउँदे बिदा हुने भएकाले धेरै मानिस यतिबेला देशका विभिन्न स्थानमा भ्रमण जाने गर्छन् । हिमाली जिल्लामा मानिस जाडोबाट जोगिन तलतिर झर्ने गर्छन् भने हिउँसँग खेल्ने भनी कतिपय मानिस हिउँ पर्ने चिसो ठाउँतिर जाने गर्छन् । नयाँ ठाउँमा पुग्न र नयाँ अनुभव गर्न नै घुम्ने जाने हो । त्यसकारण हिमालका मानिस तराई झर्नु र तराई अनि पहाडका मानिस हिउँ पर्ने स्थानमा जानु स्वाभाविक हो । तर, जुनसुकै ठाउँमा घुम्न गए पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु आवश्यक छ । जहाँ जाँदा पनि जाडो महिनामा चिसो हुने भएकोले न्यानो कपडा लगाउने जरुरी छ । शरीरलाई न्यानो पार्ने गरम खाद्य पदार्थ खान आवश्यक छ । चिसो ठाउँमा लामो समय बस्नुले विभिन्न शारीरिक समस्या आउने भएकाले सकेसम्म चिसो स्थानमा कम समय बस्ने र लामो समय बस्नुपरे तातो हुनेजस्तो न्यानो कपडा र आगो आदिको बन्दोबस्त गरी बस्न बुद्धिमानी हुनेछ ।
सकेसम्म तातो पानी खाँदा शरीरलाई फाइदा हुनेछ । बासी खाना कुनै पनि मौसमको लागि उपयुक्त होइन । त्यसकारण ताजा खाना नै खानु उपयुक्त हुनेछ । मानिसहरू चिसो भएको भन्दै बन्द कोठामा मकल ताप्दै सुत्ने गर्छन् । तर, कोठा धुँवाले भरिंदा निस्सासिएर मानिसले अनाहकमा जीवन गुमाएका धेरै घटना भएका छन् । त्यसकारण कोठा न्यानो बनाउने नाममा हावा आवतजावत गर्ने कुनै प्वाल नै नहुँदा अनपेक्षित घटना पनि हुनसक्छ । आगो ताप्दा निकै सावधान हुनुपर्छ । आगो अन्यत्र सल्केर आगजनी हुनसक्छ । यसतर्फ ध्यान दिनुपर्दछ । बन्द कोठामा ग्यास वा विद्युत्का हिटर ताप्नु पनि स्वास्थ्यको लागि हानिकारक हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *