भर्खरै :

भारतीय शिक्षा नीतिका आर्किटेक्ट मोलाना अब्दुल कलाम आजाद

फतिमा खान
शिक्षाशास्त्री, स्वतन्त्रता सङ्ग्रामी, राजनीतिक नेता एवम् पत्रकार मौलाना अब्दुल कलाम आजादले आफ्नो चार दसकभन्दा लामो सार्वजनिक जीवनमा धेरै क्षेत्रमा महत्वपूर्ण योगदान गरे । अब्बल बुद्धिजीवी आजादले विशेषतः भारतको शिक्षा क्षेत्रमा अमीट छाप छोडेर गएका छन् ।
उनको जन्म सन् १८८८ मा साउदी अरबको मक्कामा भएको थियो । उनी दुई वर्षको उमेरमा उनको परिवार साउदी अरबबाट बसाई सरेर भारतको कलकत्ता (हालको कोलकोत्ता) मा आए । अब्दुल कलामको हुर्काईमा शिक्षादिक्षाको कुनै कमी भएन । घरमा उनले पारसी, उर्दु र अरबीजस्ता भाषाको ज्ञान पाए भने इतिहास, दर्शन र रेखागणितमा उनी पारङ्गत बने ।
उनको त्यस्तै पृष्ठभूमिका कारण कालान्तरमा उनी स्वाधीनता प्राप्तिपश्चात्को भारतका प्रथम शिक्षा मन्त्री बने । दिल्लीमा उनले जामिया मिलिआ इस्लामिआ नामका शिक्षालयहरू स्थापना गरे । सन् १९९२ मा उनलाई मरणोपरान्त भारतकै सबैभन्दा ठूलो सरकारी पदक भारत रत्नद्वारा सम्मानित गरियो ।
मौलाना आजादको जन्म दिन ११ नोभेम्बरलाई भारतमा राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाइन्छ ।
सत्ताअघि सत्य
सन् १९१२ मा आजादले एल–हिलाल नामको साप्ताहिक पत्रिका प्रकाशन थाले । तत्कालीन भारतमा उपनिवेशवादी शासन चलाइरहेको बेलायतको नीतिमा प्रश्न उठाउने र हमला गर्ने एल–हिलाल निकै शक्तिशाली हतियार थियो । एल–हिलाल जनसमुदायबीच निकै लोकप्रिय बन्यो । लोकप्रियताबाट तर्सेर सन् १९१४ मा बेलायतले त्यसमाथि प्रतिबन्ध लगायो ।
तर, बेलायती उपनिवेशवादको यो दमनबाट आजाद कति पनि आत्तिएनन् । बरु तत्कालै उनले अर्को साप्ताहिक ‘एल–बालाघ’ को प्रकाशन आरम्भ गरे । सन् १९१६ मा भारतीय सुरक्षा कानुनअन्तर्गत उक्त साप्ताहिकको प्रकाशन पनि बन्द गरियो । बम्बई, पञ्जाब, दिल्ली र एकीकृत प्रान्तहरूले उनको प्रवेशलाई नै निषेध गरेका थिए । सन् १९२० सम्म त उनलाई बिहारको जेलमा कोचियो ।
कडा सेन्सरबीच पनि उनले बेलायती गतिविधिविरुद्ध आफ्नो कलममार्फत विद्रोह गर्न कहिल्यै विश्राम गरेनन् ।
स्वतन्त्रता आन्दोलन
रिहाइपश्चात् बेलायती उपनिवेशवादविरुद्ध लड्न गान्धीको भद्र अवज्ञाको सिद्धान्तबाट प्रभावित भई आजादले खालिफात आन्दोलनको नेतृत्व गरे । पहिलो विश्व युद्धपश्चात् इस्लामको सर्वोच्च धार्मिक नेताको रुपमा अट्टोमन सुल्तानको सत्ता जोगाउन बेलायतसमक्ष माग गर्दै भारतीय मुसलमानहरूले त्यो आन्दोलन थालेका थिए ।
आजाद ३५ वर्षकै उमेरमा काङ्गे्रस पार्टीका प्रभावशाली नेता बनिसकेका थिए । सन् १९२३ मा उनी भारतीय काङ्ग्रेसका सबभन्दा कान्छो नेता थिए । सन् १९४२ मा काङ्ग्रेसका अन्य नेताहरूसँगै उनलाई पनि भारत छोडो आन्दोलनमा सहभागी भएको भन्दै गिरफ्तार गरी चार वर्ष जेलमा थुन्यो । स्वतन्त्रता आन्दोलनपश्चात् मोलाना आजादले संविधानसभाको बहसमा अग्रणी भूमिका खेले । आजका हाम्रा धेरै कानुन, विशेषतः शिक्षा नीति त्यत्तिबेलाको तिनै बहसमा आधारित छन् । एउटा राष्ट्रको रुपमा उच्च शिक्षाको गुणस्तर विकासका निम्ति भारतले काम गर्नुपर्ने उनको विचार थियो । शिक्षाको गुणस्तरमा कुनै पनि कारण सम्झौता गर्न नहुने उनको विश्वास थियो ।
साम्प्रदायिक राजनीतिका कडा विरोधी
आजाद भारतका सबै धार्मिक समुदायबीच मेलमिलाप र सहिष्णुता हुनुपर्नेमा मतका बलिया समर्थक थिए । आफ्नो विश्व दृष्टिकोण विकास गर्न उनी अफगानिस्तान, इराक, इजिप्ट, सिरिया र टर्कीलगायतका देशको भ्रमणमा निस्के । उनले सधैं धर्मनिरपेक्ष राजनीतिको वकालत गरे । भारत विभाजनको क्रममा आफ्नै आँखा अगाडि भड्केको हिंसाले उनलाई गहिरो पीडा पु¥याएको थियो । हिंसा भड्किरहेकै समयमा उनी बङ्गाल, अस्साम र पञ्जाबमा भ्रमणमा निस्केका थिए । ती राज्यमा शरणार्थी शिविर निर्माण र त्यहाँ खानालगायत अन्य आवश्यक आधारभूत स्रोतको बन्दोबस्त सुनिश्चित गर्न उनी सक्रिय थिए ।
संविधानमा योगदान
भारतको संविधानको सातौं खण्डमा केन्द्रीय र प्रदेश सरकारले कानुन बनाउन सक्ने क्षेत्रको क्रमावली दिइएको छ । बेलायती शासनअन्तर्गतको भारतमा शिक्षालाई प्रादेशिकस्तरले बनाउन सक्ने विषयको रुपमा तोकिएको थियो । मौलाना आजाद शिक्षालाई प्रदेशको क्षेत्राधिकारमा मात्र सीमित राख्ने पक्षमा थिएनन् ।
राज्य ज्यादै महत्वपूर्ण विषय भएकोले प्रादेशिक सरकारको मात्र यो विषय छोड्न नहुने उनको भनाइ थियो । भारतभरिको शिक्षालाई समान राष्ट्रिय स्तरको बनाउन केन्द्रीय सरकारले पनि शिक्षा हेर्नुपर्ने उनको धारणा थियो ।
उनको यो धारणाप्रति जवाहरलाल नेहरूलगायत संविधानसभाका प्रमुख नेताहरू सहमत थिए । तर, विविधतायुक्त भारतमा यसो गर्नु उचित नहुने धारणा राख्ने नेताहरू पनि संविधानभित्र थिए । प्रादेशिक तहमै शिक्षालाई विकेन्द्रीकरण गर्न सके हरेक प्रदेशले आफू सुहाउँदो शिक्षा नीति बनाउन सक्ने उनीहरूको विचार थियो । अन्ततः शिक्षालाई प्रदेशको क्षेत्राधिकारभित्रको विषय बनाउनुका साथै केन्द्रीय सरकारको क्षेत्राधिकारभित्र पनि समावेश गरियो ।
शिक्षा आजादको निम्ति सधैं प्रमुख चासोको विषय रह्यो । सन् १९५८ को जनवरी १६ मा आयोजित एउटा सभामा बोल्दै उनले भनेका थिए, “कोही पनि व्यक्तिले कम्तीमा आधारभूत शिक्षा हासिल गर्न पाउने जन्मसिद्ध अधिकार हुन्छ भन्ने कुरा हामी क्षणको लागि पनि नभुलौं । शिक्षाबाट वञ्चित व्यक्तिले एक जना नागरिकको रुपमा आफ्नो दायित्व कदापि पूरा गर्नसक्दैन ।”
शिक्षाको अवसरबाट वञ्चित प्रौढ नागरिकलाई पनि शिक्षा दिन उनकै पहलमा प्रौढ शिक्षा बोर्ड गठन भएको थियो ।
भविष्यको बाटो
मौलाना आजाद सन् १९४७ देखि १९५८ सम्म भारतका शिक्षामन्त्री थिए । आफ्नो कार्यकालमा उनले १४ वर्ष उमेरसम्मका सबै केटाकेटीलाई अनिवार्य रुपमा निःशुल्क प्राथमिक शिक्षा दिने विचारको वकालत गरेका थिए । उनको विचारमा त्यो सबै नागरिकका आधारभूत अधिकार हो । उनले दिल्लीमा जामिया मिल्लाई इस्लामिया स्थापना गरे भने भारतको आईआईटी (प्र्राविधिक प्रतिष्ठानहरू) स्थापना गरे । भारतमा उच्च शिक्षाको नियमनकारी निकाय विश्वविद्यालय अनुदान आयोग स्थापना गर्नमा उनको महत्वपूर्ण भूमिका थियो । भारतका अन्य शैक्षिक प्रतिष्ठान स्थापना गर्नमा पनि मोलानाको महत्वपूर्ण योगदान थियो ।
विद्वान र राजनीतिक नेता मौलानाको २२ फेब्रुअरी सन् १९५८ मा निधन भएको थियो ।
स्रोतः द प्रिन्ट
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *