भर्खरै :

का. मणिराम तिवारीको सम्झनामा

गंगाराम ज्याख्व
पश्चिम आकाशमा
चम्किरहेको अनगिन्ती
ताराहरूमध्ये एक
२०७५ पुस ६ गते शुक्रबार
एकाबिहान
झिसमिसे उज्यालो नहुँदै
एउटा तारा झर्छ
अनि कता हराउँछ कता ।
आकाशबाट तारा झरेको देख्नु
अशुभ भन्छन् बुढापाकाहरू
ताराहरू चम्कनु उसको गुण हो
आकाशबाट झरेर बिलाउनु
प्राकृतिक नियम हो विज्ञानको ।
बिहान हिंडिरहेको बेला
छातीमा चस्स दुख्नुले
मनमा कुरा खेल्न थाल्छ
के भएको हो आज मलाई
हिजो अस्ति यस्तो भएको थिएन
आज किन हुन्छ ?
चिसोको कारणले हो कि
खै भन्न सकिन्न ।
केही समयपछि तार आउँछ
एकजना इमानदार सङ्घर्षशील
त्यागी, अथक, सिद्धान्तनिष्ठ
राजनैतिक कार्यकर्ता
अगुवा किसान कार्यकर्ताले
यो संसार त्यागेको सुन्दा
मनमा आकुलब्याकुल हुनथाल्छ ।
बिहानको चिसो हावामा
हिंडिरहेको बेला
५ बज्दा नबज्दै
आफ्नो छातीमा अकस्मात् दुख्नु
के यो अशुभको
सङ्केत त होइन ?
हुन त हामी भौतिकवादीहरूले
यो अन्धविश्वासलाई कसरी मान्नु
अब
हराइसकेको तारा
खोजेर कहाँ पाउनु ?
सम्झनाबाहेक
निरन्तर हिंडिरहने बटुवाको लागि
नयाँ तारा चाहिन्छ नै
नयाँ तारा प्राप्तिको लागि
एउटा अठोट र साहस लिई
हामीहरू हरदम लाग्नैपर्छ
हामीहरू हरदम लाग्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *