भर्खरै :

आलोचना पनि असह्य भयो प्रम ओलीलाई !

प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्ष दल नेकालाई आलोचनामा समय खेर फाल्नुको सट्टा राष्ट्र निर्माणमा सहयोग गर्न र मिलेर अघि बढ्न अनुनय विनय गरे । आइतबार संसदमा सम्बोधन गर्दै प्रम ओलीले सरकारको कमी कमजोरी औंल्यायो भनेर चित्त पनि दुखाए । आलोचना गर्दा चित्त दुखाउने ओलीले भ्रष्टाचार, अनियमितताको विरोध गर्दा र अपराधीहरूमाथि कारबाहीको माग गर्दा लोकतन्त्र र गणतन्त्रलाई कमजोर बनाउन र बदनाम गर्न खोजिएको आशय व्यक्त गरे । आलोचना पनि सहन नसक्ने सरकार प्रमुख कतै निरङ्कुश शासक बन्ने अभ्यासतर्फ जुटेका त होइनन् ?
प्रमुख प्रतिपक्ष दलले आफ्नो भूमिका निर्वाह गर्नेतर्फ पाइला चाल्न खोज्दा हच्किने सरकार प्रमुख ओलीको आफ्नै दलका नेता र सरकारमा सामेल दलका नेता र मन्त्रीहरूले सरकारको कमजोरी औंल्याइरहेको तर्फ भने ध्यान गएको देखिँदैन । सरकारले गरेका सबै काम कारबाही ठीक भए नेकपाका नेता माधवकुमार नेपालले मुलुकमा अनुशासन पालनाको अवस्था अहिलेसम्मकै कमजोर हुनपुगेको दुखेसो किन पोखे ? मुलुकमा गल्ती गर्नेलाई दण्डित गर्ने प्रावधान कमजोर बन्दै गएको र गल्ती गर्नेहरू दण्डित हुनुको सट्टा पुरस्कृत हुने परम्परा मौंलाउँदै गएको स्वर किन निकाल्नुपथ्र्यो ? सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रमको ध्यानाकर्षण गर्दै देशमा अराजकता, कमिसनतन्त्र र भ्रष्टाचार नियन्त्रण हुन नसकेको उजुरी किन गर्नुपथ्र्यो ? सत्तारुढ दलका एक जिम्मेवार नेता र सरकारमा सामेल दलका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले भ्रष्टाचार, कमिसनतन्त्र नियन्त्रणको माग किन गर्नुप¥यो ?
जिम्मेवार यी दुई नेताको उक्त भनाइले देशमा विधिको शासन र सुशासन नभएको स्पष्ट हुन्छ । भ्रष्टाचारीहरूलाई उत्साहित गरिरहेको या भ्रष्टाचारीहरूको सेराफेरोमा सरकारका नेता र मन्त्रीहरू घुमिरहेको थाहा हुन्छ । देशमा भ्रष्टाचार मौलाइरहेको र अराजकता छाइरहेको भन्न करै लाग्छ । अनुशासनको पालना गर्न र गराउन सरकार असफल भएको थाहा हुन्छ । त्यही भएर देश विदेशमा समेत चर्चाको शिखरमा पुगेका वाडबडीको अनियमितताबारे प्रमले चुइँक्क बोलेन् । जेलमा रहेका अभियुक्त सांसद रेशम चौधरीको शपथग्रहणको प्रगति सम्बोधनमा अटाउन समयले नभ्याएको हो कि ¤ सांसद चौधरीको शपथग्रहण पहिले किन गलत र अहिले कसरी सही भयो ? के शपथ गराउन राजपाले दबाब नै दिनुपर्ने ? अदालतको अनुमतिविना सरकारले सिधै सिंहदरबारमा शपथको लागि ल्याउनु के अदालतको आदेश उल्लङ्घन होइन ? अनि नेकपाका नेता माधव नेपालले देशमा अनुशासनको पालना कमजोर हुँदै गइरहेको गुनासो गरेकोमा के आश्चर्य ?
–गोपाल नगरकोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *