भर्खरै :

सेनकालीन इतिहास जोडिएको क्षेत्र ओझेलमा

– दयाराम आचार्य
कावासोती, २२ पुस । सेनकालीन इतिहाससँग जोडिएको नवलपरासीको नवलपुरमा रहेका विभिन्न क्षेत्र उचित संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेका छन् ।
सेनकालीन समयमा निर्माण भएको गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्यास आश्रम, मुकुन्दपुर दरबार, रुद्रपुर गढीलगायतका क्षेत्रको संरक्षण तथा प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेका हुन् ।
किंवदन्तीअनुसार कैलाश सन्यास आश्रममा पाल्पाका राजा मणिमुकुन्द सेनले यहाँ मन्दिर निर्माण गरेका हुन्् । पन्ध्रौँ शताब्दीको अन्त्य तथा १६ औँ शताब्दीको सुरुतिर पाल्पाका राजा मणिमुकुन्द यस क्षेत्रमा आई बसेको गरेको किंवदन्ती रहिआएको छ । सोही क्रममा राजा मुकुन्दसेनले मुकुन्दपुर डाँडामा दरबार निर्माण गरी सुरक्षाका लागि गैँडाकोटदेखि माथि डाँडामा सैनिक टुकुडी र मौलाकालिका देवीको स्थापना र शिख्रौलीमा शिव मन्दिर स्थापना गरेको भन्ने किंवदन्ती पाइन्छ ।
सयौँ वर्ष पहिलाको इतिहास जोडिएको कैलाश सन्यास आश्रमको संवद्र्धनमा भने राज्यस्तरबाट खासै चासो नदिएको कैलाश आश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले बताउनुभयो ।
पुरातत्व विभागले विसं २०७० मा यस मन्दिर परिसरमा उत्खनन् गरेको थियो । विभागले उत्खनन् गर्दा विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग, ढुङ्गा छेडेर राखिएका फलामका छड, देवीदेवताको मूर्ति र विभिन्न आकारप्रकारमा कँुदिएका कलात्मक ढुङ्गा फेला परेका थिए । ढुङ्गा शङ्ख, चक्र, विभिन्न देवीदेवताको आकारप्रकारमा कुँदिएका छन् ।
पुरातत्व विभागका अनुसार यहाँ भेटिएका कलात्मक ढुङ्गा सेनकालीन हुन् । विभागले १ हजार ५१८ वटा ढुङ्गा उत्खनन् गरेर राखेको छ । शिवलिङ्ग र केही देवीदेवताका मूर्ति कँुदिएका ढुङ्गालाई टिनको टहरामा सुरक्षित गरी राखिएको छ । तर, अन्य ढुङ्गा भने बाहिरै जमिनमा फैलाएर राख्दा लेउ लागेको छ । यी ढुङ्गाको सुरक्षा नगरे यसको मौलिक कलात्मकता नास हुने हो कि भन्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।
समितिका अध्यक्ष घिमिरेले सरकारले पटक–पटकको पहलपछि यहाँ उत्खनन् गरे पनि उत्खनन् गरेका ढुङ्गाको उचित सुरक्षा गर्न नसकेको बताउनुहुन्छ ।
पुरातत्व विभागले शिव मन्दिर निर्माण गरिने जनाएको छ । प्रयोग गर्न मिल्ने ढुङ्गा मन्दिर निर्माणका लागि प्रयोग गरिनेछ । विभागले रु. ७ करोड ६८ लाख ५४ हजार १११ विनियोजन गरेर मन्दिर निर्माणका लागि बोलपत्र आह्वान गरेको भए पनि सो रकममा सम्झौता हुन नसकेपछि पुनःमूल्याङ्कन गरी पुनःबोलपत्र आह्वान गर्ने आश्वासन आफूहरूले पाएको अध्यक्ष घिमिरेले बताउनुभयो । एक महिनाअघि मन्दिर पुनःनिर्माणको पहल गरिदिन आग्रह गर्न जाँदा विभागले चाँडै प्रक्रियामा जाने बताएको घिमिरेले बताउनुभयो ।
नवलपुरमा नै रहेको सेनकालीन रुद्रपुर गढीको उत्खनन्समेत हुनसकेको छैन । हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको गढीमा दरबारको भग्नावशेष, दरबारको सुरक्षाका लागि वरिपरिबाट खनिएको खाल्डो र सेनाहरूले परेड खेल्ने टुँडिखेलसमेत रहेको धौवादी समाजसेवी अगुवा झविलाल रानामगरले बताउनुभयो । तर, यसको उत्खनन् र संरक्षणमा राज्यस्तरबाट कुनै कार्य नभएको उहाँले बताउनुभयो । नवलपुरमा रहेका सेनकालीन इतिहास बोकेका यी क्षेत्रको संवद्र्धन गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके हजारौँ पर्यटक भित्याउन सकिने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *