भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–२१ –क्रान्ति –निर्माण –सुधार

(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको अध्याय १ र २ मजदुर दैनिकमा मंसिर २१ देखि २८ गतेसम्मको अङ्कमा प्रकाशित भएको थियो । चीनको सुधारबारे लेखिएको अध्याय ३ मजदुर दैनिकमा पुस ९ गतेदेखि पुस १३ गतेसम्म प्रकाशित भयो । चौथो अध्याय पुस १६ गतेबाट प्रकाशित गरेका छौं –सम्पादक)
बहुपक्षीय कूटनीतिको विकासमा सक्रियता ः
बहुपक्षीय कूटनीतिको क्षेत्रमा चीनले सक्रियता देखाउँदै आएको छ । संयुक्त राष्ट्र सङ्घ, सुरक्षा परिषद्को स्थायी सदस्यको नाताले अन्तर्राष्ट्रिय प्रणालीमा चीन सक्रियतापूर्वक भाग लिन्छ, राष्ट्र सङ्घको अधिकारलाई अक्षुण्ण राख्न बहुपक्षधरतालाई उत्साहित गर्छ । चीन न्यायपूर्ण र उचित अन्तर्राष्ट्रिय राजनीतिक वातावरण स्थापनाको निम्ति समर्पित छ । चीन एक पक्षवाद र हैकमवादको विरोध गर्छ र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रजातान्त्रीकरण र कानुनीकरणलाई उत्साहित गर्छ । चीन राष्ट्र सङ्घका सबै मुख्य संस्थाहरूका काममा भाग लिन्छ, आर्थिक र सामाजिक क्षेत्रका बहुपक्षीय गतिविधिमा भाग लिन्छ, अन्तर्र्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिन्छ । जस्तो कि, चीनले खुला र सक्रियतासाथ एपेक, ‘साङ्घाइ सहकार्य सङ्घ’ र अन्य क्षेत्रीय बहुपक्षीय संस्थाहरूमा भाग लियो । सन् २००१ मा विश्व व्यापार सङ्गठनमा चीनको औपचारिक प्रवेशदेखि यसले डब्लुटीओका सबै अभिभारा पूरा गरेको छ ।
२१ औँ सताब्दीको सुरुवातदेखि चीनले शान्तिपूर्ण स्वतन्त्र विदेश नीति लागू गरेको छ । चीन शान्तिपूर्ण विकासको निम्ति सतत् प्रयास गर्छ, आपसी हित र जित–जितको निम्ति खुला रणनीतिको खोजी गर्छ र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा सबै देशसँग मित्रवत सम्बन्ध विस्तार गर्छ । चिनियाँ नेताहरू शान्ति, विकास र सहकार्य नै अन्तर्राष्ट्रिय राजनीतिका चालक भएको बताउँछन् र मतभिन्नताहरूलाई थन्काएर आपसी सम्मान र साझा धरातलको खोजी गर्ने मान्यतासाथ अन्तर्राष्ट्रिय विषयहरू सम्हाल्छन् । तिनीहरू दीगो शान्ति र साझा समृद्धिको मेलमिलापपूर्ण विश्वको निर्माणको निम्ति सक्रिय वकिल हुन् ।
एक नयाँ उदीयमान र जिम्मेवार मुख्य शक्तिको रूपमा चीन सकारात्मक मनशायसाथ विश्वका सवालहरूमा अन्तर्राष्ट्रिय सहकार्यमा भाग लिन्छ र आफ्नो क्षमताअनुरुपका जिम्मेवारी बहन गर्छ । यसले गम्भीर सङ्क्रामक रोगहरूको रोकथाप र उपचार, राष्ट्र सङ्घको सुधार, क्षेत्रीय सुरक्षाका गम्भीर विषयको व्यवस्थापन, अन्तर्राष्ट्रिय आर्थिक सङ्कटलाई सामना गर्ने, विकसित र विकासशील देशहरूबीच वार्तालाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय राजनीति र आर्थिक थितिमा सुधार गर्ने आदि विषयमा चीन महत्वपूर्ण भूमिका निर्वाह गर्ने काम गर्दैछ । बहुपक्षीय कूटनीतिसाथ चीन बाँकी विश्वसँग नजिकको सम्बन्ध विकास गर्दैछ ।
आधुनिक राष्ट्रिय सुरक्षा स्थापना
जनवादी गणतन्त्र स्थापनादेखि चीनले सदा राष्ट्रिय रक्षाको रणनीति अपनाएको छ र यो प्रतिरक्षा प्रकृतिको छ । चीनको राष्ट्रिय रक्षा, राष्ट्रिय सुरक्षा र एकता सुनिश्चितकर्ता हो । राष्ट्रिय रक्षा भन्नु जनताको शान्तिपूर्ण जीवनको अधिकारको रक्षा र विकासका हरेक प्रयासमा सहयोग गर्नु हो । बलियो र खँदिलो राष्ट्रिय सुरक्षाको निर्माण गर्नु चीनको आधुनिकीकरणको रणनीतिक कामहरूमध्येको एक हो । जनवादी गणतन्त्र चीनको संविधान, राष्ट्रिय सुरक्षा कानुन र अन्य सम्बन्धित कानुनहरूका अनुसार राष्ट्रिय सुरक्षाका गतिविधिमा राज्य एकीकृत नेतृत्वको अभ्यास गर्छ र चीनको सशस्त्र सेना चिकपाको नेतृत्व मातहत हुन्छ । सुधार र खुलापन थालेदेखि चीनको समग्र आर्थिक विकास र राष्ट्रिय सुरक्षाको प्रबन्धले विकास र सुरक्षालाई ध्यानमा राख्नु पर्ने ठानेको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले चिनियाँ विशेषताको सेना बनाउने बाटो लिएको छ ।
राष्ट्रिय प्रतिरक्षा रणनीतिको समायोजन र सैन्य निर्माणको निर्देशक सिद्धान्तहरू ः सन् १९८० को दसकको मध्येमा चीनको अन्तर्राष्ट्रिय सम्बन्धको विकास र अन्तर्राष्ट्रिय तनाव घटेसँगै चिकपाको केन्द्रीय सैन्य आयोगका अध्यक्ष तेङ सियाओपिङले निम्न निधो गरे, “तत्काल भविष्यमा ठूलो युद्धको सम्भावना छैन ।” यो नयाँ निधोको आधारमा चीनले आफ्नो राष्ट्रिय सुरक्षा रणनीतिमा महत्वपूर्ण समायोजन ग¥यो र यसलाई युद्धको दीर्घकालीन तयारीको ध्याउन्नालाई शान्तिकालको निर्माण तर्फको ध्यान परिवर्तन भनियो ।
यो जनवादी गणतन्त्र चीनको राष्ट्रिय सुरक्षा रणनीतिको इतिहासमा महत्वपूर्ण घुम्टि थियो । यसले राष्ट्रिय सुरक्षा र सैन्य निर्माणमा ठूलो प्रभाव पा¥यो । त्यही विन्दूबाट सशस्त्र सेनाको पुनःसङ्गठन गर्ने र यसका प्रणालीहरूको सुधार नै सशस्त्र सेनाको सुधारको मुख्य काम बन्यो । सन् १९८५ मा चीनले सशस्त्र सेनाको सङ्ख्या १० लाखले घटायो । सन् १९९७ मा फेरि ५ लाख जवान घटाइयो । सन् २००३ मा अझै २ लाख सेना घटाइयो । निशस्त्रीकरणको समाप्तिसँगै चीनसँग अहिले २३ लाख सेना छ ।
घरेलु र अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनको प्रकाशमा क्रान्तिकारीकरण, आधुनिकीकरण र नियमीकरणको सिद्धान्तअनुसार पीएलएले विस्तृत विकास ग¥यो । निरन्तर भइरहेको विश्व सैन्य विकाससँग हेलिँदै सेनालाई आधुनिक प्रविधिसम्पन्न गरिँदै छ । सैन्य निर्माणमा सङ्ख्याभन्दा गुणस्तर बढाउनमा पीएलएले ध्यान दिएको छ । जनशक्तिभन्दा प्रविधि विस्तारमा ध्यान दिइएको छ । पीएलएले सेनालाई विज्ञान र प्रविधिमा सबल बनाउनमा जोड गरेको छ । राष्ट्रिय रक्षा नेतृत्व र व्यवस्थापन प्रणालीमा गरिएको सुधारले उपयुक्त आकार र तर्कसङ्गत संरचना, प्रभावशाली सङ्गठन, तीक्ष्ण र लचकदार र बलियो युद्ध क्षमता भएको सेनाको निर्माणमा चीन अग्रसर छ । यसैबीच चीनले बिस्तारै केन्द्रिकृत र एकीकृत आधुनिक राष्ट्रिय सुरक्षा प्रणाली बनाउँदै छ ।
चीनले राष्ट्रिय सुरक्षा र अर्थतन्त्रको एकीकृत विकास गर्ने सिद्धान्त समातेको छ । राष्ट्रिय सुरक्षा र आर्थिक विकासका मागहरूको सन्दर्भमा कुरा गर्दा चीन रक्षा खर्चमा न्यायोचित निर्णय गर्दछ र कानुनअनुसार सुरक्षा कोषको व्यवस्थापन र प्रयोग गर्दछ । सन् १९७९ देखि १९८९ सम्म चीनको राष्ट्रिय सुरक्षाको निम्ति कम रकम उपलब्ध गराइयो, तैपनि वस्तुस्थितिअनुसार व्यवस्थापन गरियो । यो अवधिमा सुरक्षा खर्चमा वार्षिक १.२३ प्रतिशत बढ्यो । त्यही समयमा उपभोक्ता मूल्य सूचीमा सालाखाला वार्षिक ७.४९ प्रतिशत बढेको थियो । वास्तवमा सुरक्षा खर्चमा सालाखाला वार्षिक ५.८३ प्रतिशतले घटेको स्थिति थियो । सन् १९९० देखि २००५ मा सुरक्षा खर्चमा वार्षिक सालाखाला १५.३६ प्रतिशतले बढ्यो । उपभोग्य वस्तुको मूल्यवृद्धि सोही समयावधिमा ५.२२ प्रतिशत थियो, यस मानेमा सुरक्षा खर्चमा सालाखाला वृद्धि ९.६४ प्रतिशतमात्र हुन्थ्यो । चीनको सुरक्षा खर्चमा वृद्धिले निम्न उद्देश्य पूरा ग¥यो ः (१) सैन्य जवानहरूको पारिश्रमिक वृद्धि र उनीहरूको बस्ने वातावरणमा सुधार, (२) अनुसन्धान, हतियार जुटाउनु, मर्मतसम्हार र भण्डारण र सैन्य पूर्वाधारमा लगानी, (३) सैन्य जवानहरूको तालिममा सहयोग, (४) मुद्रा अवमूल्यनको क्षतिपूर्ति, (५) आधुनिक सुरक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग खर्च वृद्धि ।
चीन उपयुक्त र न्यायोचित तरिकाबाट राष्ट्रिय सुरक्षा खर्चमा वृद्धि गर्दैछ । यो वृद्धि सुरक्षा आधारमा देखिएका कमजोरी सुधार गर्न र राष्ट्रिय आर्थिक विकाससँग सामाञ्जस्य हुन्छ । जम्माजम्मी र प्रतिजवानको हिसाब गर्दा खासगरी मुख्य शक्ति राष्ट्रसँगको तुलनामा चीनको सुरक्षा खर्च कम हुन्छ । सन् २०१० मा चीनको राष्ट्रिय सुरक्षा खर्च ५३२.११५ अर्ब थियो र यो सन् २००९ को भन्दा ७.५ प्रतिशतले बढी थियो । चीन जनसङ्ख्या उच्च भएको देश हो र शुद्धरूपमा यसको राष्ट्रिय सुरक्षा खर्च संरा अमेरिकाको भन्दा १२.३ प्रतिशतमात्र हो, जवकि प्रतिव्यक्तिको आधारमा संरा अमेरिकाको तुलनामा यो २.५ प्रतिशतमात्र हो । प्रतिजवानको हिसावमा राष्ट्रिय सुरक्षा खर्च संरा अमेरिकाको तुलनामा ६.६ प्रतिशतमात्र हो । जम्माजम्मी एवम् प्रतिजवानको हिसाबमा चीनको राष्ट्रिय सुरक्षा खर्च बेलायत, फ्रान्स र जापानको तुलनामा पनि कम छ ।
चीनको राष्ट्रिय सुरक्षामा पारदर्शिता बढाउन सन् १९९८ देखि चिनियाँ सरकारले राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी सातवटा श्वेतपत्र जारी गरेको छ । श्वेतपत्रमा चीनको राष्ट्रिय सुरक्षा नीतिहरू, राष्ट्रिय सुरक्षा स्थिति र सैन्य निर्माणबारे उल्लेख छ । यसले चीन र अन्य देशहरूबीच सहकार्य सुधारका साथै एकअर्काबीच विश्वासको वातावरण बन्छ । सन् २०११ मार्चमा ‘सन् २०१० मा चीनको राष्ट्रिय सुरक्षा’ प्रकाशित भयो । पछिल्लो श्वेतपत्रले निम्न बुँदाहरूमा प्रकाश पार्छ ः पहिलो, चीन शान्तिपूर्ण विकासको बाटोमा सदा रहन्छ र राष्ट्रिय सुरक्षा नीति प्रतिरक्षा प्रकृतिको हुन्छ । दोस्रो, चीन राष्ट्रिय सुरक्षा निर्माण र आर्थिक विकाससँगसँगै जाने विकासलाई प्राथमिकता दिन्छ र मध्यम समृद्ध देशको निर्माणको सिलसिलामा देशलाई धनी बनाउने र सशस्त्र शक्तिलाई बलियो बनाउने संयुक्त उद्देश्यलाई प्राथमिकता दिन्छ । तेस्रो, आत्मविश्वास बढाउन चीन अन्य देशसँग सैन्य आदानप्रदान र सहकार्यलाई सक्रियतासाथ अगाडि बढाउँछ । चौथो, शान्ति र स्थायित्वको निम्ति चीन आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य एवम् जिम्मेवारी पूरा गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *