भर्खरै :

माडुरोको दोस्रो कार्यकाल सुरू

कराकस, ११ जनवरी । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले गएको बिहीबार आफ्नो दोस्रो कार्यकालको लागि त्यहाँका सर्वोच्च अदालतका प्रधान्यायाधीशसामु शपथ ग्रहण गरेका छन् । उनको आगामी कार्यकाल संविधानतः ६ वर्षको हुनेछ । शपथ ग्रहणपश्चात् आयोजित समारोहमा बोल्दै माडुरोले आफ्नो नयाँ कार्यकाल भेनेजुयलाको शान्तितिरको यात्रारम्भ हुने बताए ।
“यो विजय मेरो होइन, यो विजय विद्रोही र सार्वभौम भेनेजुयाली जनताको हो ।”, माडुरोले भने ।
उनले भेनेजुयला बिना कुनै सन्देह प्रजातान्त्रिक देश भएको र बितेका २५ वर्षमा भेनेजुयलामा १९ पटक निर्वाचन हुनु नै भेनेजुयला प्रजातान्त्रिक देश हुनुको प्रमाण भएको बताए ।
सन् २०१८ मे २० मा सम्पन्न राष्ट्रपति निर्वाचन ‘‘अन्तर्राष्ट्रिय शक्तिबाट निर्वाचन विफल बनाउने अनेक षड्यन्त्र र संस्थागत प्रक्रियालाई अवैधानिकतातिर लाने प्रयास हुँदाहुँदै पनि’’ सम्पन्न भएको उनले बताए ।
माडुरोको शपथ ग्रहण समारोहमा बोलिभिया, क्युवा, निकारागुआ, एल साल्भाडोरलगायत ९४ देशका प्रतिनिधिहरू सहभागी थिए ।
गएको मे महिनामा सम्पन्न निर्वाचनमा माडुरोले कुल खसेको मतको ६७.८४ प्रतिशत मत प्राप्त गरेका थिए । संरा अमेरिकालगायत पश्चिमा देशहरूले माडुरोको सत्तालाई अपदस्थ गर्ने अनेक प्रकारका जालझेल गर्दा पनि माडुरो नेतृत्वको प्रगतिशील सरकार डगमगाएको छैन । ड्रोन आक्रमणमार्फत् उनको हत्या गर्ने प्रयास समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *