भर्खरै :

प्रजग कोरिया–अमेरिका शिखर वार्ता भियतनाममा गर्न ट्रम्पको प्रस्ताव

टोकियो, २९ पुस (योनहाप) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजग कोरियाली नेता किम जोङ–उनसँग आगामी फेब्रुअरी मध्यतिर दोस्रो शिखर बैठक गर्न प्रस्ताव गर्नुभएको छ । उहाँले शिखर बैठक भियतनाममा हुनसक्ने बताउनुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
प्रजग कोरियाको आणविक निःशस्त्रीकरण कार्यक्रमलाई लिएर विवाद उत्पन्न भइरहेको सन्दर्भमा दुवै मुलुकबीच दोस्रो शिखर बैठक हुने अनुमान गरिएको थियो । यसअघि ऐतिहासिक पहिलो शिखर बैठक गत वर्ष जूनमा सिङ्गापुरमा भएको थियो ।
प्रजग कोरियाले अमेरिकी प्रस्तावमाथि अध्ययन गरिरहेको र त्यसप्रति औपचारिक प्रतिक्रिया दिने क्रममा रहेको जापानको अखबार योमुरी शिम्बुनले सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ ।
प्योङयाङ र वासिङ्टनबीच पहिलो शिखर बैठकमा भएको सहमतिको कार्यान्वयनलाई लिएर दुवै मुलुक घनीभूत छलफलमा छन् । उक्त सहमतिमा नेता किमले प्रजग कोरियाको सुरक्षा प्रत्याभूति भए पूर्ण आणविक निःशस्त्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रजग कोरियामाथि लागेका प्रतिबन्धहरू फुकुवा नभएकोमा प्रजग कोरियाली नेता कीमले निरन्तर असन्तुष्टी व्यक्त गरिरहनुभएको छ । तर, अमेरिकाले आणविक निःशस्त्रीकरण कार्यक्रमको पूर्ण पालना नहुँदासम्म प्रतिबन्धहरू फुकुवा नहुने अडान राखेको छ ।
ट्रम्प र किमको दोस्रो शिखर बैठकले यी असमझदारी हटाउने र प्रजग कोरियामाथिको प्रतिबन्ध फुकुवा हुने अपेक्षा धेरैले गरेका छन् । दुवै नेताको शिखर बैठकका लागि दक्षिण पूर्वी एसियाका मुलुकहरूले तीव्र इच्छा व्यक्त गरेका छन् जसमा भियतनाम, इन्डोनेसिया र मङ्गोलिया अग्रस्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *