भर्खरै :

चाकु व्यवसायीलार्ई भ्याइनभ्याइ

बनेपा, ३० पुस ः काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।
माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको देखिन्छ । विगत १५ वर्षदेखि सो व्यवसाय गर्दै आएका पाँचखाल नगरपालिका–४ लामीडाँडाका विष्णुपुकार श्रेष्ठले दैनिक १०० किलोदेखि १५० किलोसम्म चाकु बिक्री भइरहेको बताउनुभयो ।
“दिनको यति नै व्यापार हुन्छ भन्ने त हुँदैन तर पनि कामदारको ज्याला कटाएर दुई हजारदेखि रु दुई हजार ५०० सम्म कमाइ हुन्छ”, श्रेष्ठले भन्नुभयो, “चाकु बनाउनलाई दिनको ५० किलोको दुई÷तीन बोरासम्म सख्खर खपत हुन्छ ।”
त्यसका लागि आवश्यकपर्ने कच्चपदार्थ (सख्खर) कृष्णनगरबाट ल्याउने गरेको र एक पटकमा ५०÷६० बोरासम्म ल्याउने गरेको उहाँले बताउनुभयो । खासै पुस र मागमा बिक्री हुने गरेको चाकु बनाउने काम एक÷दुई महीनासम्म चल्ने गरेको उहाँको भनाइ छ । काम गर्नेलाई दैनिक रु सात सयका दरले ज्याला दिने गरेको छ । आफ्नो पसलमा चार जनाले काम गरिरहेको श्रेष्ठले बताउनुभयो ।
अरनिको राजमार्गको छेउमा पसल गरेर चाकु व्यवसाय सञ्चालन गर्दै आउनुभएका श्रेष्ठले बाहिर सडक छेउमा नै यात्रा गर्ने यात्रुलाई बिक्री गर्दै आउनुभएको छ । त्यस्तै चाकु खरिद गर्न सिन्धुपाल्चोक, दोलखा र रामेछापको मन्थलीसम्मका व्यापारी पसलमा आउने गरेको उहाँले बताउनुभयो ।
अर्का नजिकैको चाकु पसलमा काम गर्दै आउनुभएका श्याम तामाङले सानाठूला गरी दैनिक चार हजार पिससम्म बिक्री हुँदै आएको बताउनुभयो । “किलोको हिसाबमा भन्दा पनि हामीले सख्खरलाई घोलेर साना र ठूला साइजमा चाकु बनाएर प्याकिङ गर्ने हो, त्यसरी बनाएका चाकु दैनिक चार हजार पिससम्म बिक्री हुन्छ”, ताामाङले भन्नुभयो, “बजारमा मागअनुसार पु¥याउन यतिखेर हम्मेहम्मे हुन्छ ।” उहाँका अनुसार यहाँ उत्पादन हुने चाकु काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौँका विभिन्न बजारमा बिक्री हुने गरेको छ ।
पाँच÷छ वर्ष अगाडिदेखि काम गर्दै आउनुभएका तामाङले दैनिक रु एक हजार १०० पाउने गरेको बताउनुभयो । सो पसलमा काम गर्ने अरु पाँच जना कामदारले भने कामअनुसारको दैनिक रु ७०० देखि ८०० सम्म ज्याला पाउने गरेको बताउनुभयो । कामदारले दाउरा चिर्ने, घोल्ने, तयार पारिएको चाकुमा पौष्टिक तत्व मिसाएर प्याकिङ गर्ने र बजारमा बिक्री गर्नेलगायतका काम गर्नुपर्छ ।
पुस–माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने र शरीरलाई आवश्यकपर्ने पौष्टिक तत्व प्राप्त हुने भएकाले मानिसले चाकु सेवन गर्ने गर्दछन् ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *