भर्खरै :

मसान पाटी पुनः निर्माणको शिलान्यास

भक्तपुर, ३० पुस । भक्तपुर नगरपालिका वडा नं ७ हनुमानघाटस्थित चन्द्रदीपसँगैको मसान पाटी पुनःनिर्माणको शिलान्यास सोमबार प्रतिनिधिसभा सदस्य प्रेम सुवालबाट भयो ।
शिलान्यास कार्यक्रममा सांसद सुवालले सम्पदा संरक्षण सबै नगरवासीको सरोकारको विषय भएको बताउँदै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।
सांसद सुवालले पहिलेजस्तै सम्पदा निर्माणका लागि आर्थिक र भौतिक रुपले सहयोग गर्नुपर्ने औँल्याउनुभयो ।
उहाँले पाटी निर्माण गर्दा सांस्कृतिक र सम्पदाको अवमूल्यन नहुने ढङ्गले र घामपानी र हावाहुरीलाई ध्यानमा राखी निर्माण गर्नुपर्ने औंल्याउनुभयो ।
अहिले शासक दलका नेताहरूको व्यवहार प्रजातान्त्रिक र गणतान्त्रिक बन्न नसकेको बताउँदै उहाँले देशमा पहिले एउटा राजा भएको तर अहिले धेरै राजाजस्तै देखिएको बताउनुभयो ।
सरकारले महाराजगञ्जस्थित सुविधासम्पन्न प्रहरी प्रशिक्षण प्रतिष्ठान तोडेर पनौतीमा सार्ने निर्णय गरेको, त्यसो गर्दा देशको दशौं अर्ब रुपैयाँ खर्च हुने हुँदा सरकारको निर्णयको विरोध गर्दा गणतन्त्रविरोधीको आरोप सत्तापक्षले लगाएको उहाँले बताउनुभयो । भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भनपाले सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र विकास निर्माणमा जोड दिएर काम गरिरहेको बताउँदै भूकम्पले क्षति पु¥याएका पाटी–पौवा, मठमन्दिर आदि सम्पदाको पुनःनिर्माण अघि बढाएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले यस आवमा रु. १४ करोड विनियोजन गरी ख्वप अस्पतालको भवन निर्माण थालनी गरेको र सल्लाघारीस्थित १०८ रोपनीको सार्वजनिक जग्गा संरक्षण गर्न पर्खाल निर्माण सुरु गरेको जानकारी दिनुभयो ।
पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रत्नलाल साँदले निर्माण कार्य समयमै सम्पन्न गर्न आर्थिक, भौतिक र श्रमदानका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा उपभोक्ता समितिका लक्ष्मीप्रसाद रञ्जित र कविता शर्माले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *