भर्खरै :

तातोपानी नाकाको समयमै काम सक्न निर्देशन

मेलम्ची, ३ माघ । चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् ।
नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका उपमहानिर्देशक भाइसीको नेतृत्वमा आएको टोलीले बिहीबार तातोपानी नाका क्षेत्रको अनुगमन गरिएको नेपालको तर्फबाट अनुगमनमा सहभागी बा¥हबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले जानकारी दिनुभयो । ‘मे १८ मा उक्त नाका खोल्न सकिन्छ कि ? सकिँदैन भनेर दुई देशका प्रतिनिधिद्वारा अनुगमन भएको हो’, नगरप्रमुख शेर्पाले भन्नुभयो ।
उहाँका अनुसार मितेरी पुल, सुख्खा बन्दरगाह, सडकलगायत निर्माणाधीन पूर्वाधारको स्थलगत अनुगमनपछि दुवै देशका प्रतिनिधि तोकिएकै समयमा नाका खुलाउन सकिने निष्कर्षमा पुगेका हुन् । ‘कामको तीव्रता राम्रै पाइयो, चीनको तर्फबाट समयमै काम सम्पन्न गर्ने देखियो’, प्रमुख शेर्पाले भन्नुभयो । उहाँका अनुसार चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले ताकेता गरेको थियो । जसअनुसार अहिले चिनियाँ रेलबे कन्स्ट्रक्सन कम्पनी लिमिटेड सीआरसीसीले पुनः निर्माणको कामलाई तीव्रता दिएको छ ।
अनुगमनपछि जस्तोसुकै मूल्य चुकाएर भए पनि समयमै काम सक्न चिनियाँ भन्सार विभाग उपमहानिर्देशक भाइसीले सीआरसीसीलाई निर्देशन दिएको प्रमुख शेर्पाले जानकारी गराउनुभयो । उहाँका अनुसार सुक्खा बन्दरगाह, सडक मितेरी पुललगायत १५ स्थानमा सीआरसीसीले २७८ कामदार परिचालन गरेको छ । २२ किमि सडकको पुनःर्निर्माण गर्ने जिम्मा लिएको सीआरसीसीले ८–८ घण्टाको सेक्टर बनाएर २४ सैं घण्टा कामलाई तीव्रता दिएको छ । अब आउँदो चार महिना सकाउने गरी कामलाई तीव्रता दिएको सीआरसीसीले पहिरो नियन्त्रण, कङ्क्रिट, माटो फिलिङ, मेशिनरी वाल, ग्याबिनलगायतको काम एकैसाथ थालेको छ ।
अनुगमनको उक्त टोलीमा नेपालको तर्फबाट भन्सार विभाग उपमहानिर्देशक पङ्गेनीको नेतृत्वमा भन्सार प्रमुख कृष्ण बस्नेत, बा¥हबिसे नगरपालिका प्रमुख निम्फुन्जो शेर्पा, सीमा सुरक्षाबलका प्रहरी प्रमुखलगायत नेपाल सरकारका सबै निकायको प्रतिनिधि सहभागी थिए । त्यस्तै चिनियाँ टोलीको तर्फबाट भन्सार विभाग उपमहानिर्देशक भाइसीको नेतृत्वमा सरकारको सबै निकायको प्रतिनिधि सहभागी थिए । उपमहानिर्देशक भाइसी सिन्चुवाङ प्रान्तका चिनियाँ कम्युुनिष्ट पार्टीका जिम्मेवार सदस्यसमेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *