भर्खरै :

दार्चुला–तिङ्कर सडकः दस वर्षमा ३२ किमि साधारण बाटो खुला

– नरेन्द्रसिंह कार्की
दार्चुला, ३ माघ । केन्द्रीय सरकारको महाकाली करिडोर योजनाअन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू. ३० करोड १७ लाख बजेट छुट्याइएको थियो ।
सात महिनाअघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड जलविद्युत् आयोजनाबाट विस्फोटक पदार्थ आइसकेपछि विजयपुरका सबै स्थानमा साधारण बाटो खुलेसँगै व्यास गाउँपालिकाको वडा नं ६ हुतीसम्म बाटो जोडिन पुगेको छ ।
सडक हुतीको वडा कार्यालयसम्म पुगेकाले स्थानीयवासीले बाटो निर्माणमा संलग्न पदाधिकारीलाई सम्मान पनि गरेका थिए । व्यासको तङ्लेभीरबाट हुतीसम्म सडक पुग्न झण्डै एक महिनाभन्दा बढी समय लाग्यो । खलङ्गादेखि हुती ३२ किलोमिटर पर्छ । साधारण बाटो खुलेसँगै हुतीमा ट्याक्टर तथा मोटरसाइकल पनि पुगेको छ । सडकको थोरै सुधार हुनेबित्तिकै खलङ्गादेखि हुतीसम्म नियमित जिप सञ्चालन हुन थालेकोे व्यास गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मनोज कुँवरले बताउनुभयो ।
“ट्याक्टर चल्न थालेका छन्, ट्याक्टरबाटै तेल ढुवानी भइरहेको छ । थोरै सुधार गर्ने हो भने नियमित जिप सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो । विजयपुरदेखि माथिल्लो क्षेत्रमा अहिले महालक्ष्मी कन्सट्रक्सनले सडक खन्ने काम गरिरहेको छ । व्यास गाउँपालिकाको सुनसेरासम्म एक महिनाभित्रै सडक पु¥याउने गरी कामको गति बढाइएको निर्माण व्यवसायी बालमुकुन्द नेपालले जानकारी दिनुभयो । धौलाकोट क्षेत्रमा सडक खन्न केही अप्ठयारो देखिएको छ । हुतीबाट धौलाकोटसम्म पुग्न झण्डै छ किलोमिटर बाटो भए पनि धौलाकोटको सिलाजित भीरमा काम गर्न समस्या भएको निर्माण व्यवसायी नेपालले बताउनुभयो । उक्त क्षेत्रको चट्टान काट्न कम्प्रेसर उपकरण मगाइएको छ ।
धौलाकोटको भीर काट्नेबित्तिकै सजिलै सुनसेरासम्म सडक पुग्छ, व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भन्नुभयो, “हुतीबाट सुनसेरा सडक पुग्न १२ किमि छ । गाउँपालिका केन्द्रसम्म मात्रै गाडी गुडाउन सकिए पनि व्यासका वडा नं ३, ४, ५ र ६ का नागरिकलाई आवतजावतमा सहज हुन्छ ।”
अहिले सडकको काम तीव्रगतिमा भइरहेका कारण स्थानीयवासी पनि सुनसेरासम्म गाडी गुड्नेमा ढुक्क छन् । दुहुँ गाउँपालिकासम्म गाडी गुड्न थालेको छ, व्यासको सुनसेरासम्म सडक पुग्यो भने त्यहाँका बासिन्दाको गाडी चढ्ने सपना पूरा हुने दिन धेरै टाढा छैन, व्यास गाउँपालिका–४ सुनसेराका कमलापति भट्टले भन्नुभयो ।
कच्ची सडक भए पनि आफ्नो देशकै बाटो भएर यात्रा गर्न पाइएला । सुनसेरासम्म गाडी पुग्नेबित्तिकै व्यास–२ मालका बासिन्दालाई समेत नेपालबाटै सामान ढुवानी गर्न सहज हुने उहाँको भनाइ थियो । “आफ्नो देशको भूमिमा सडक नहुँदा भारतीय भूमि भएर यात्रा गर्नुपरेको तीतो यथार्थ बिर्सिन कहाँ सकिएला र” भटृले भन्नुभयो ।
सडक सञ्जालमा नजोडिएको दार्चुलाको उत्तरी सीमाको व्यास गाउँपालिकाको केन्द्रसम्म अब गाडी गुडाउन त्यति समस्या छैन । अहिले सडक गाउँपालिका केन्द्रसम्म पु¥याउन पहल भइरहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनुभयो । स्थानीयवासीको पहिलो प्राथमिकता भनेकै तिङ्कर सडक हो । उहाँले भन्नुभयो, “सडक नहुँदा महाकालीमाथि तुइनको प्रयोग गर्नुपर्ने अवस्था केही हदसम्म अन्त्य गर्न सडकलाई प्राथमिकता दिएका छौँ ।”
तिङ्कर सडक योजनाका इन्जिनियर रैखोला तिङ्कर सडकको अहिले टेण्डर स्वीकृत भएको व्यास गाउँपालिकाको वडा नं २ माल गाउँसम्म सडक पु¥याउन समस्या नरहेकोे बताउनुभयोे ।
आर्थिक वर्ष २०६५ बाट सुरु भएको यो सडक पहिलो गुरुयोजनाअनुसार यसै आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने हो तर पछिल्लो समय महाकाली करिडोरमा सडक गाभिएपछि यो सडकको समयावधि २०७९ पु¥याइएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलासम्म करिडोरको कुल लम्बाइ २९१ किलोमिटर छ ।
यसअघि दार्चुला तिङ्कर सडक खलङ्गा जिरो प्वाइन्टदेखि तिङ्कर सीमा क्षेत्रसम्म १३५ किलोमिटर निर्माण गर्ने योजना थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *