भर्खरै :

बिहेको बहानामा बिक्री हुन्छन् चेलीबेटी

घोराही, ५ माघ । बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरूषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त व्यक्तिसँग पुनः विवाह पनि गरिन् । विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे ।
नेपालगञ्जको बाटो रिक्सामा चढेर जाँदै गर्दा एक भारतीय महिलाले ती व्यक्तिलाई फोन गरेर माल कहिले ल्याउँछस् भन्दै सोधेको र ल्याउँदै छु भनेर यताबाट जवाफ दिएको ती महिलाले सुनेपछि उनी भागेर घोराहीको महिला सेवा केन्द्रमा आइपुगिन् । पति र बालबच्चा छाडेर हिँडेकी उनी अहिले घर न घाटको भइन् । उनलाई बेच्न लैजाने व्यक्ति भने अझै फरार छन् ।
बुटवलकी १८ वर्षीया एक युवती पनि घोराही–१० नारायणपुरका एक व्यक्तिको मायाजालमा परेर विवाहसमेत गरिन् । घरमा श्रीमती छ भन्दै उक्त व्यक्तिले ती केटीलाई बेचबिखनका लागि कृष्णनगर हँुदै भारत लैजाँदै गर्दा माइती नेपालले पक्राउ गरी दाङ प्रहरीमार्फत जिल्लास्तरीय सेवा केन्द्रमा ल्याउन लाग्दा उक्त व्यक्ति फेला बेपत्ता भए भने उनी माइती नेपालको सम्पर्कमा गइन् ।
तुलसीपुर –४ का २२ र २३ वर्षका दुई युवती पनि विवाहको नाटक गरेर भारत बेचिँदै गर्दा माइती नेपालको सहयोगमा दाङ फर्केको सेवा केन्द्रको तथ्याङ्कमा उल्लेख छ । बङ्गलाचुली गाउँपालिकाकी २२ वर्षीया महिला र पञ्चकुलेकी १८ वर्षीया एक महिला पनि विवाहपछि भारतमा लगेर बेच्न लाग्दा भागेर सेवा केन्द्रमा आइपुगेका थिए ।
जिल्लास्तरीय सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा सिमाना पारी जाने अधिकांश महिला विवाहको नाटकमा आफन्त तथा नजिकका विश्वासिलो पात्रबाटै बेचबिखनमा पर्ने गरेको उल्लेख छ तर महिला पटकपटक बेचबिखनमा पर्दा पनि पीडक भने कारवाहीबाट उम्कने गरेका छ । जिल्ला प्रहरी कार्यालयमा पनि आव २०७१÷७२ मा तीन, २०७२÷७३ मा एक, २०७३÷७४ मा तीन र २०७४÷७५ मा दुई महिलाले आफू बेचबिखनमा परेको भनी गरे पनि अभियुक्त भने अझैसम्म फरार छन् ।
जिल्ला घोराहीको महिला सेवा केन्द्रकी अध्यक्ष हुमा डीसी महिलाले तुरून्तै अर्को व्यक्तिलाई विश्वास गर्नु, वास्तविकता नबुझेर पछि लाग्नु, आफैँ आत्मनिर्भर नहुनुजस्ता कारणले बेचबिखनमा पर्ने गरेको बताउनुहुन्छ । पछिल्लो समय भारतमा वेश्यावृत्तिका लागि मात्रै नभई राम्रो काम र आकर्षक तलबको लोभमा महिला भारतबाहेक तेस्रो मुलुकमा पनि बेचिने गरेको पाइएको उहाँ बताउनुहुन्छ ।
अहिले नेपाली महिला भारतको अवैधानिक बाटो हँुदै साउदी अरव, कुबेत, बहराइन, मलेशियाजस्ता देशमा पनि जाने अनि बेचिने गरेको तर तिनको उद्धारमा समस्या भइरहेको अध्यक्ष डिसी बताउनुहुन्छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले ललाइफकाइ प्रलोभनमा पार्ने, वा झुक्याइ, जालसाजी गरी, प्रपञ्च मिलाइ, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गगरेर शरीर बन्धक राख्ने कार्यलाई मानव बेचबिखन हुने भनी परिभाषित गरेको छ ।
त्यसैगरी नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ लग्ने वा आफैसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने गरेमा पनि बेचविखन गरेको मानिने उल्लेख गरिएको छ । यस्ता अघिकांश उजुरीमा पीडकहरू उम्किने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *