भर्खरै :

चौधरी र भट्ट उत्कृष्ट भलिबल खेलाडी

काठमाडौँ, ११ माघ : सशस्त्र प्रहरीको एपिएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धर्मबहादुर भट्ट यस वर्षको उत्कृष्ट भलिबल खेलाडी घोषित भएका छन् ।
नेपाल भलिबल सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा चौधरी र भट्टले उत्कृष्ट खेलाडी घोषित हुँदै जनही रु २५ हजार प्राप्त गरे । आर्मीकी निरुता ठगुन्ना र एपिएफका विनोदबहादुर चन्दले उदयीमान खेलाडी घोषित हुँदै जनही रु २५ हजार पुरस्कार प्राप्त गरे । वर्षको उत्कृष्ट प्रशिक्षक (महिला)तर्फ एपिएफका ज्ञानेन्द्र विष्ट र पुरुषतर्फ आर्मीका कपिलकिशोर श्रेष्ठ चुनिए । दुवैले जनही रु २५ हजार प्राप्त गरे ।
यस्तै उत्कृट टोलीतर्फ महिलामा एपिएफ र पुरुषतर्फ आर्मी घोषित हुँदै रु एक÷एक लाख प्राप्त गरे । विजेतालाई सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिनालगायतले पुरस्कृत गर्नुभयो । कार्यक्रममा सङ्घले भलिबललाई सहयोग गर्ने विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई सम्मानपत्रद्वारा सम्मान गरेको थियो ।
सो अवसरमा उपाध्यक्ष तिम्सिनाले खेल सङ्घको विवाद मिलाएर अघि बढ्ने बताउनुभयो । खेल सङ्घको विवादका कारण समाजका राम्रा व्यक्ति खेलकूदमा आउन नसकेको र एकै प्रकृतिका तीन खेल सङ्घ परिषद्मा दर्ता हुनु दुखद् विषय भएको उहाँको भनाइ थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *