दौड प्रतियोगिता सम्पन्न : फूटसल सुरू
- आश्विन २१, २०८३
भक्तपुर, २४ असोज । नेपाल भलिबल सङ्घको स्थापनाको ५० वर्षको उपलक्ष्यमा सङ्घको स्वर्ण जयन्ती कार्यक्रम भक्तपुर दरबार स्क्वायरमा सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उहाँले भलिबल खेलको निरन्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भलिबल खेलको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको बताउँदै भक्तपुर नगरपालिकाले पनि सीमित स्रोतसाधन र विभिन्न समस्याका बाबजुद भलिबल खेलको विकासका लागि काम गर्दै आएको उल्लेख गर्नुभयो ।
नगरपालिकाले नियमित रूपमा भलिबल प्रशिक्षण सञ्चालन गर्नुका साथै विद्यालयहरूमा प्रशिक्षकको व्यवस्था गरी विद्यार्थीहरूलाई खेलकुद प्रशिक्षण गर्दै आएको उहाँले बताउनुभयो । खेलकुद पूर्वाधार निर्माण र विकासमा नगरपालिकाले जोड दिँदै आएको उहाँको भनाइ थियो ।
नगर प्रमुख प्रजापतिले सहिद स्मृति खेलमैदानलाई प्राविधिक कारणले अपेक्षित रूपमा स्तरोन्नति गर्न नसकिएको उल्लेख गर्दै खेलकुदको विकासका लागि उपयुक्त पूर्वाधार आवश्यक रहेको बताउनुभयो । विश्व सम्पदा सूचीमा सूचिकृत ऐतिहासिक भक्तपुर दरबार स्क्वायरमा नेपाल भलिबल सङ्घको स्वर्ण जयन्ती कार्यक्रम आयोजना गर्न पाउनु गौरवको विषय भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेदरल्यान्ड्स भलिबल महासङ्घका प्रतिनिधि पिटर स्प्रिङजरले यस्तो गौरवपूर्ण समारोहमा सहभागी हुन आमन्त्रण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । खेलकुदप्रतिको लगाव जीवनशैलीसँग जोडिएको उल्लेख गर्दै उहाँले युवा पुस्ताको भविष्य निर्माणमा खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नेपाल र नेदरल्यान्ड्सबिचको मित्रता लामो समयदेखि कायम रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आपसी सम्बन्ध र सहकार्य निरन्तर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सङ्घको स्थापनाको ५० औँ वार्षिकोत्सव भक्तपुर दरबार स्क्वायरमा आयोजना गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।
उहाँले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो । सङ्घको ५० वर्षको यात्रा नेपाली भलिबल खेलको विकासका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उहाँले सङ्घको स्थापना, उद्देश्य र पृष्ठभूमिबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा अतिथि प्रजापतिले नेपाल भलिबल सङ्घका उपाध्यक्ष गौतमप्रसाद लासिवालाई भलिबल हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
Leave a Reply