सानै उमेरदेखि बालबालिकाहरूलाई खेलकुद, सङ्गीतजस्ता अतिरिक्त क्रियाकलापमा संलग्न हुन दिनुपर्ने
- आश्विन ३, २०८३
भक्तपुर, ५ असोज । भक्तपुर नगरपालिका वडा नं. १ खेलकुद समितिको आयोजनामा सञ्चालित वडा नं. १ व्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिता सोमबार सम्पन्न भयो ।
असोज ३ गतेदेखि ५ गतेसम्म तीन दिन सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा राजश्री गुरुकुल प्रथम, अक्सफोर्ड प्राक्टिकल स्कूल द्वितीय, सूर्यविनायक सेकेन्डरी स्कूल तृतीय र गणेश स्कूल सान्त्वना भएका छन् ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फुटसल पछिल्लो समय क्रमशः लोकप्रिय हुँदै गएको खेल भएको उल्लेख गर्दै खेलमैदानको अभावबिच पनि प्रतियोगिता आयोजना हुनु सकारात्मक भएको बताउनुभयो ।
उहाँले खेलाडीहरूले अनुशासित र व्यवस्थित रूपमा खेल प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै हारजितलाई स्वाभाविक रूपमा लिन आग्रह गर्नुभयो ।
“हार्ने खेलाडीहरू निराश नभई आगामी दिनमा अझ उत्कृष्ट खेल प्रदर्शन गर्छु भन्ने उत्साहका साथ अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।
खेलकुदमार्फत समाजलाई अनुशासित, सभ्य र सुसंस्कृत बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । भक्तपुर नगरपालिकाले विभिन्न खेलका प्रशिक्षणहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले इच्छाअनुसार खेल प्रशिक्षण लिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का अध्यक्ष श्यामकृष्ण खत्रीले वडाका गतिविधिमा खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
वडा नं. १ खेलकुद समितिका संयोजक युनिस सुवालले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि र उत्साह बढाउन सहयोग पुगेको आयोजकले जनाएको छ ।
Leave a Reply