भर्खरै :

वस्तुको मूल्य निर्धारणमा माक्र्सवादी अवधारणा

राजन फाजू
कार्ल माक्र्स यस्ता व्यक्तित्व हुन्, जसको विचारमाथि संसारमा सबैभन्दा बढी वादविवाद एवम् तर्कवितर्क हुन्छ । संसारमा कुनै एक व्यक्ति जसका धेरै आलोचक छन् र त्योभन्दा बढी प्रशंसक पनि छन् भने ती व्यक्ति थिए कार्ल माक्र्स । वैज्ञानिक समाजवादका प्रणेता कार्ल माक्र्सलाई इतिहासको महान विचारकको रूपमा लिइन्छ । विश्वका करोडौं मानिस कार्ल माक्र्सलाई बडो आदरका साथ भविष्यवेत्ताको रूपमा हेर्छन् । अर्थशास्त्री सुम्पेटरका अनुसार “माक्र्सका कट्टर चेलाहरूले माक्र्सवादलाई धर्मकै रूपमा मान्छन् र माक्र्स विरोधीहरूलाई पापीको संज्ञा दिन्छन् ।” सन् १९९९ मा वीवीसीले गरेको एक सर्वेक्षणअनुसार पछिल्लो १ हजार वर्षमा सबैभन्दा प्रभावशाली व्यक्तित्वमा कार्ल माक्र्स पर्नुभयो । दोस्रो र तेस्रोमा वैज्ञानिकद्वय क्रमशः अल्वर्ट आइन्स्टान र आइज्याक न्यूटन घोषित भए ।
मानव इतिहासलाई नै तरङ्कित पारेका माक्र्सद्वारा लिखित विश्वविख्यात कृति हो ‘दास क्यापिटल ।’ जर्मन भाषाको ‘दास’ को अर्थ ‘द’ भएकोले ‘दास क्यापिटल’ भनिएको हो । सन् १८६७ मा प्रकाशित दास क्यापिटल विश्व इतिहासको निम्ति उत्कृष्ट कृति ठहरिएको छ । उक्त पुस्तकमा आर्थिक विकासको प्रक्रिया कस्तो हुन्छ, पुँजीवादी अर्थतन्त्र कसरी धराशायी हुन्छ र अन्त्यमा साम्यवादी समाजको निर्माण कसरी हुन्छ भन्ने व्याख्या गरिएको छ । तीन खण्डमा प्रकाशित जम्माजम्मी २ हजार पृष्ठको ती पुस्तकहरूमा १९ औं शताब्दीको युरोपको आर्थिक र सामाजिक यथार्थलाई विस्तारमा व्याख्या गरिएको छ ।
१५० वर्षपछि पनि माक्र्सको कृति ‘पुँजी’ को सान्दर्भिकता जीवितै हुँदा कोहीकोही आश्चर्यमा पर्छन् । किन अहिले पनि लाखौँ मानिसहरू माक्र्सको ‘पुँजी’ पढ्छन् ? माक्र्सको ‘पुँजी’ मृत वा अप्रचलित भइसक्यो भन्ने पश्चिमा देशमा पनि सन् २००८ को विश्व अर्थतन्त्रमा आएको ठूलो आर्थिक सङ्कटपछाडि यसको बिक्री ह्वात्तै बढेको थियो । पुँजीवादका महत्वपूर्ण विशेषता बुझ्न यो कृतिले उल्लेखनीय सहयोग गर्छ । भलै त्यतिबेलाको समकालीन पुँजीवाद अहिलेको भन्दा फरक थियो । पुँजीवादको पतनपछि समाजवादको उदय हुन्छ भन्ने भविष्यवाणी गर्ने माक्र्सलाई इतिहासको पिताको रूपमा लिइन्छ । माक्र्सको विश्लेषणलाई आर्थिक विकासको प्रक्रियाको महत्वपूर्ण कडीको रूपमा लिइन्छ । उच्च तहको आर्थिक विकासपछि मात्र सामाजिक कारणले पुँजीवाद परिवर्तन हुन्छ भनेर माक्र्सले परिकल्पना गरेका छन् । राज्यको अस्तित्वलाई समाप्त पार्ने माध्यम समाजवाद हो । माक्र्सले परिकल्पना गरेको समाजमा मानिसको क्षमताअनुसारको आवश्यकता पूरा हुने गरी वस्तु तथा सेवाको वितरण हुन्छ । माक्र्सको सिद्धान्त केही मान्यतामा आधारित छ । जस्तो कि समाजमा दुई वर्ग हुन्छन्् ः बुर्जुवा वर्ग र कामदार वर्ग । कामदार वर्गको आम्दानीको निर्धारण उनीहरूको जीविकोपार्जनमा आधारित हुन्छ । मूल्य सृजनाको प्रमुख स्रोत श्रम हो । उत्पादनका प्रमुख साधन पुँजीपतिको हातमा हुन्छ । पुँजीले श्रमिकको शोषण गर्छ । श्रमिक समरूप हुन्छ र पूर्णतः गतिशील हुन्छ । राष्ट्रिय आम्दानीलाई ज्याला र नाफाको रूपमा बाँडिन्छ आदि ।
कार्ल माक्र्सका अनुसार पुँजीवादलाई बुझ्न सबभन्दा पहिले वस्तु के हो भन्ने बुझ्नु जरूरी छ । वस्तुको दुई रूप हुन्छ । पहिलो रूप ः वस्तुमा उपयोग मूल्य हुन्छ, दोस्रो रूप ः वस्तुमा विनिमय मूल्य हुन्छ । उपयोग मूल्य भन्नाले त्यस वस्तुमा अन्तर्निहित रहेको गुण हो । जस्तै अक्सिजनको उपयोग मूल्य धेरै हुन्छ तर यसको लागि हामीले कुनै मूल्य तिर्दैनौँ किनकि हामीले लिने अक्सिजनमा मानिसको श्रम मिसिएको छैन । यो नितान्त प्राकृतिक उपहार हो । त्यसैगरी पानीमा उपयोग मूल्य बढी हुन्छ, किनकि पानी मानिसको जीवनरक्षक हो । त्यसैले उपयोग मूल्य उक्त वस्तुको गुणसँग सम्बन्धित हुन्छ । विनिमय मूल्य सङ्ख्या (परिमाण) सँग जोडिएको हुन्छ । मानौं एउटा कलमसँग दुई सिसाकलम साटिन्छन् भने त्यो सङ्ख्यात्मक सम्बन्ध हो । तर, एकथरि वस्तुसँग अर्कोथरि वस्तु विनिमय गरिन्छ भने त्यो कुन आधारमा हुन्छ त ? ती दुई वस्तुको विनिमय गर्दा कुनै न कुनै कुरा साझा हुनुपर्छ । माक्र्सका अनुसार त्यो आधार भनेको, त्यो साझा कुरा भनेको मानिसको श्रम हो ।
वस्तुमा रहेको गुणले विनिमय निर्धारण हुँदैन । यदि गुणको आधारमा वस्तुको मूल्य निर्धारण हुने भए सुनभन्दा पानी धेरै गुणा महङ्गो हुनुपर्ने हो । यहाँ एक कलम बराबर दुई सिसाकलम हुनाको कारण कलम बनाउन मानिसको श्रम वा मेहनत दुई गुणा बढी आवश्यक हुने भएर हो । वस्तु बनाउनको लागि आवश्यक मानिसको श्रम समयलाई ‘आवश्यक सामाजिक समय’ भनिन्छ । वस्तु बनाउनको लागि समाजमा रहेका विभिन्न मानिसहरूको फरक–फरक मेहनत वा श्रमको समूहलाई ‘सामाजिक श्रम विभाजन’ भनिन्छ । यदि कुनै वस्तुबाट मानिसको श्रमलाई निकाल्ने हो भने त्यसमा कच्चा पदार्थमात्र बाँकी हुन्छ जुन प्रकृतिबाट निःशुल्क पाइन्छ । यसरी प्रकृतिबाट पाएको वस्तु र मानिसको श्रम मिलेपछि मानव समाजको लागि चाहिने वस्तु बन्छ । यसबाहेक अरू कसैको योगदान छैन भने नाफा कसको लागि ? माक्र्स तर्क गर्नुहुन्छ । यसलाई प्रष्ट पार्न माक्र्सले ‘मूल्यको श्रम सिद्धान्त’ लाई प्रयोग गर्नुभयो, जसअनुसार कुनै पनि वस्तुको मूल्य त्यस वस्तु उत्पादन गर्नको निम्ति गरिने सामाजिक श्रम अवधिको मूल्य भन्ने बुझिन्छ । जति धेरै श्रम समय हुन्छ त्यति नै वस्तुको मूल्य बढी हुन्छ । त्यसरी नै कम श्रम समय लाग्ने वस्तुको मूल्य पनि कम नै हुन्छ । यति कुरा स्पष्ट नै छ । यही कुरालाई प्रष्ट पार्न ‘पुँजी’ मा कार्ल माक्र्सले पूरा खण्डभरि व्याख्या गर्नुभएको छ । यो कुरा भन्दा विशेषगरी अर्थशास्त्रका विद्यार्थीहरू अलमलमा पर्छन् । श्रमको मूल्य निर्धारण माग र आपूर्तिले गर्छ कि मूल्यको श्रम सिद्धान्तले ? तर, पुँजीवादीहरूले उत्पादनको क्रममा उत्पादित वस्तुको पूरा मूल्य नदिई जीवन निर्वाह गर्ने ज्याला मात्र दिन्छन्, जसले श्रमिकलाई श्रम आपूर्ति योग्य मात्रै बनाउँछ । यो जीवन निर्वाह ज्याला पूरा कार्यघण्टाको केही भागमात्रै समतुल्य हुन्छ र नतिरिएको बाँकी कार्यघण्टा बापतको श्रममूल्य– अतिरिक्त श्रम पुँजीपतिले नाफाको रूपमा आफैले राख्छ । यही श्रमद्वारा उत्पादित मूल्य र श्रमिकको ज्यालाबीचको अन्तर वा नतिरिएको अतिरिक्त श्रमको मूल्यलाई नै ‘अतिरिक्त मूल्य’ को रूपमा माक्र्सले सैद्धान्तिकृत गरेका छन् । वस्तुको मूल्यको निर्धारण माग र आपूर्तिले गर्छ भन्ने कुरामा शास्त्रीय अर्थशास्त्री आडम स्मिथ र मार्सललगायत कार्लमाक्र्स पनि सहमत छन् । तर, शास्त्रीय अर्थशास्त्रीले नभनेको विषय भनेको वस्तु उत्पादन गर्न श्रम समय जति लाग्छ त्यही उत्पादन लागत हो । आधारभूत रूपमा हरेक उत्पादन लागतलाई विभिन्न भागमा विभाजन गर्न सकिन्छ र जसलाई सामाजिक श्रम अवधिको मूल्यले गुणन गरिन्छ ।
मूलधारका अर्थशास्त्रीका अनुसार श्रम अवधि उत्पादन लागतको एक पक्षमात्र हो, त्यसबाहेक कच्चा पदार्थको मूल्य उत्पादन साधनलाई संगठित गरेबापतको मूल्य पनि जोडिन्छ । कार्ल माक्र्स भन्छन्– ‘त्यसो होइन, यदि कच्चा पदार्थको मूल्यलाई पनि हेर्ने हो भने त्यसको मूल्य पनि श्रम अवधिसँग जोडिएको हुन्छ ।’ सरलताको लागि घर बनाउने डण्डीको मूल्य निर्धारणलाई लिऊँ । डण्डी बनाउन मानिसको श्रम चाहिन्छ । डण्डीको लागि फलाम आवश्यक हुन्छ । कच्चा पदार्थलाई फलाममा रूपान्तरण गर्न मानिसको श्रम चाहिन्छ । फेरि फलामको लागि चाहिने कच्चा पदार्थ पृथ्वीको गर्भबाट उत्खनन् गर्न श्रम नै चाहिन्छ । त्यो कच्चा पदार्थ प्रकृतिले मानिसको लागि निःशुल्क दिएको छ । भन्नुको तात्पर्य डण्डी उत्पादनसम्म आइपुग्दा हरेक चरणमा आवश्यक मानिसको श्रम अवधिको मूल्य जोड्दा हुन आउने कुल मूल्यले नै डण्डीका मूल्यनिर्धारण गर्छ ।
(बाँकी भोलिको अङ्कमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *