भर्खरै :

जनचेतनामूलक आत्मरक्षा तालिम सम्पन्न

भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. ७ मा रहेका ८ वटा विद्यालयका विद्यार्थी एवम् शिक्षिकाहरूलाई आत्मरक्षा गर्ने कलासम्बन्धी पाँचदिने जनचेतनामूलक प्रशिक्षण तथा टेक्निकल तालिम शनिबार सम्पन्न भयो । नेपाल सेल्फ डिफेन्स एसोसियसनको संयोजनमा शनिबार भएको सो कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
युवा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको बलात्कार र महिला हिंसाबाट बच्न बालिका, किशोरी र वृद्धाले कसरी आत्मरक्षा गर्ने र यसबारे ज्ञान र सीप सिक्नु समयको माग एवम् आवश्यकता भएकोले आत्मरक्षा प्रशिक्षण भक्तपुर नगरपालिकाको १० वटै वडाका विद्यार्थीहरूलाई दिंदै आएको बताउनुभयो ।
वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले समाजमा हरेक मानिसलाई शङ्काको दृष्टिकोणले हेर्नुपर्छ, उसको आनीबानी चालचलनलाई नजर गरी सम्बन्ध गाँस्नुपर्छ, किशोरी महिलामा आत्मविश्वासको कमिको कारण दिन प्रतिदिन महिला हिंसा बढ्दै गएकोले आत्मरक्षा कलाले समाजमा सचेतना फैलिने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सेल्फ डिफेन्स एसोसियनका प्रमुख प्रशिक्षक सञ्जु महर्जनले आत्मरक्षा कला समय र परिस्थिति हेरेरमात्र प्रयोग गर्नुपर्ने बताउनुभयो ।
नेपाल सेल्फ डिफेन्स एसोसियसन भक्तपुरका जिल्ला अध्यक्ष नवराज घिमिरेले आत्मरक्षाको आवश्यकताबारे बताउनुभयो ।
आत्मरक्षा प्रशिक्षक तथा नेपाल सेल्फ डिफेन्स एसोसियसन भक्तपुरका उपाध्यक्ष पद्मा खयरगोलीले विद्यार्थी तथा महिला आफै समयमै सचेत, सबल, सक्षम र आत्मबलको लागि यो प्रशिक्षण दिइएको हो, यसको उद्देश्य जनचेतना जगाउने, आफूलाई अपराधीबाट बचाउने तथा परिआए प्रतिकार गर्नसक्ने बनाउनु हो, आत्मरक्षा कलालाई परिस्थितिअनुसार प्रयोग गर्नुपर्ने बताउनुभयो ।
आत्मरक्षासम्बन्धी जनचेतनामूलक तथा टेक्निकल तालिममा वाइजल्याण्ड सेकेण्डरी स्कूल, प्रोवेश स्कूल, नवीन स्कूल, बाल सेवक, विद्या विकास, चण्डेश्वरी प्रा.वि., इमेज स्कूल र सूर्योदय माविका १०० जनाभन्दा बढी विद्यार्थी एवम् शिक्षिकाहरूले भाग लिएका थिए ।
दुई चरण गरी १० दिनसम्म ४÷४ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई तालिम दिइएको प्रशिक्षणमा सहायक प्रशिक्षक रवीन्द्र श्रेष्ठ, रोजिना लोहला, जयन्ती श्रेष्ठ, अञ्जली श्रेष्ठ र विमुना कपालीले पनि सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *