भर्खरै :

समाजवादउन्मुख राज्यमा समाजवादउन्मुख संविधान खोइ ?

– मेरिना शाक्य
पुँजीपति वर्गको प्रतिनिधित्व गरिरहेको सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनपछि राजनीतिक क्रमभङ्ग गरी समाजवादको नयाँ यात्रा सुरु भएको बताए । नेकपा आक्रामक ढङ्गले र समाजवाद स्थापना गर्न आर्थिक समृद्धिका लागि अगाडि बढिसकेको बताउने नेता दाहालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन अघि बढाउन त के प्रतिरक्षाको अभ्यास पनि गरेका छैनन् । सरकारको नेतृत्व गर्ने नेकपाले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन अघि बढाएर होइन कम्युनिष्ट सिद्धान्त र विचार तोडमरोड गरिरहेकोले संसारका कम्युनिष्ट पार्टी, वामपन्थी र प्रगतिशील समूह चकित छन् र साम्राज्यवादी र विस्तारवादी देशहरू खुसी छन् ।
नेकपा कम्युनिष्टको सिद्धान्त र विचारअनुसार अघि नबढेको र नेकाले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको राजनीतिक विश्लेषकहरूको ठम्याइ हो । पुँजीवादी बन्दोबस्तको सरकारमा टेकेर, पुँजीवादी ऐन, कानुन र संविधानभित्र रहेर कम्युनिष्ट पार्टीले बहुमत जनताको हितमा काम गर्नसक्दैन, गरिरहेको छैन । वर्तमान सरकार साँच्चै दुईतिहाइ मत प्राप्त कम्युनिष्टको सरकार हो भने पुँजीवादी ऐन कानुन सबै फालेर कम्युनिष्ट आचरणभित्र रहेर ऐन, कानुन र संविधान बनाउनुपर्छ । सरकारले एकातिर हालको संविधानभन्दा एक इञ्च पनि बाहिर जान नसक्ने बताइरहेको छ भने अर्कोतिर कम्युनिष्ट पार्टीको भजन गाएर विश्वलाई चकित पार्ने डम्फू बजाइरहेको छ । पाँच वर्ष शासन गर्न पाउने अधिकार पाएको वर्तमान सरकारले समाजवादउन्मुख राज्य बनाउन समाजवादउन्मुख संविधान, समाजवादउन्मुख बजेट तथा समाजवादउन्मुख नीति तथा कार्यक्रम लागू गर्नसके त्यो नै ठूलो उपलब्धि हुनेछ ।
सडक चौडा बनाउन, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय खेल मैदान बनाउन र रेल कुदाउन कम्युनिष्टको सरकार जरुरत छैन । त्यस्तो कार्य त कम्युनिष्टबाहेक जुनसुकै सरकार आए पनि गर्न सकिन्छ । देशभर भइरहेको भ्रष्टाचार, घूस, अनियमितता, ढिलासुस्ति आदि अन्त्य गर्नसके कम्युनिष्टको सरकारले राम्रो काम गरेको जनताले बुझ्नेछन् । भ्रष्टाचार, अनियमितता गरेरै सत्तारुढ दल नेकपाका नेता, मन्त्री र सांसदहरू मोटाइरहेका छन्, पदको दुरुपयोग गरी अकुत सम्पत्ति जोडिरहेका छन् । सबभन्दा पहिले सत्तारुढ दल नेकपाले सबै नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरूलाई इमानदार बनाउनुपर्छ, निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्नुपर्छ भन्ने भावना जगाउनुपर्छ । तर नेकपाले त्यस्तो कुनै अभ्यास गरिरहेको छैन, गर्नेछैन । अनि कसरी देशमा समाजवाद स्थापना हुन्छ, देश कसरी समृद्ध बन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *