भर्खरै :

देशको परिस्थितिअनुसार क्रान्ति

भक्तपुर, ४ फागुन । “हरेक देशको पृष्ठभूमि र वस्तुस्थिति फरक–फरक हुन्छ । हामीले विभिन्न देशमा भएका मजदुर तथा किसान आन्दोलनहरूको अध्ययन गर्नुपर्छ र आफ्नो देशको परिस्थिति सुहाउँदो तरिकाले क्रान्तिको तयारी गर्नुपर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले शुक्रबारदेखि भक्तपुरमा सुरु भएको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको बैठकमा व्यक्त गर्नुभएको हो ।
अध्यक्ष बिजुक्छेले सैद्धान्तिक ज्ञानसँगसँगै कार्यकर्ताहरूले व्यावहारिक ज्ञान हासिल गरेमात्र सिद्धान्तलाई व्यवहारमा उतार्न सकिने बताउनुभयो ।
विश्वका विभिन्न देशमा भएका मजदुर आन्दोलनहरूको उदाहरण दिँदै उहाँले मजदुर पार्टीबाट खारिएका कार्यकर्ताहरू नै कालान्तरमा राम्रा कम्युनिष्ट नेता बन्ने गरेको बताउनुभयो ।
मजदुर आन्दोलनको क्रान्तिकारी धारलाई कमजोर पार्न नै पुँजीपतिहरूले टे«ड युनियनवादलाई अघि सारेको उल्लेख गर्दै बिजुक्छेँले विश्वका विभिन्न स्वतन्त्र एवम् सार्वभौम देशहरूमा भएका साम्राज्यवादी हमला र हस्तक्षेपको निरन्तर विरोध गर्नु साँचो अर्थमा कम्युनिष्टको अन्तर्राष्ट्रिय कर्तव्य भएको बताउनुभयो ।
बैठकमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार नियन्त्रण गर्छु भनी फलाक्दै हिँडेको ओली नेतृत्वको वर्तमान सरकार आफै संस्थागत भ्रष्टाचारमा लागेको बताउनुभयो ।
उहाँले वाइडबडी घोटाला, साढे तेत्तीस किलो सुनकाण्ड, एनसेल कर छलीलगायतका भ्रष्टाचारमा शासक दलहरूका शीर्ष नेताहरू नै संलग्न रहेको हुँदा छानबिन र कारबाहीमा ढिलासुस्ती भइरहेको बताउनुभयो ।
सचिव सुवालले शासक दलहरूले गुण्डा, तस्कर र ठग ठेकेदारहरूलाई संरक्षण दिएर पार्टी सदस्यता दिएको र तिनीहरूलाई ठेक्कापट्टामा लगाएर देशलाई खोक्रो बनाएको बताउनुभयो ।
विद्यार्थी कार्यकर्ताहरूलाई पार्टी प्रकाशनको नियमित अध्ययन, छलफल, विमर्श, अन्तरक्रिया गर्न गराउन उहाँले निर्देशन दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले नेमकिपा नेपाली जनताको जगमा उभिएको पार्टी भएको बताउनुभयो । विश्वका इराक, लिविया, सिरियालगायतका स्वतन्त्र र सार्वभौम देशमाथि साम्राज्यवादी शक्तिले हस्तक्षेप र आक्रमण गर्दा नेमकिपाले सडक, सदन र प्रकाशनमार्फत त्यसको विरोध गरी कम्युनिष्ट अन्तर्राष्ट्रवाद पूरा गरेको बताउनुभयो ।
नेक्राविसङ्घका केन्दं्रीय अध्यक्ष सबिन ख्याजूको अध्यक्षतामा बसेको बैठकमा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले हिन्द–प्रशान्त गठबन्धन र बदलिँदो अन्तर्राष्ट्रिय राजनीतिक परिवेशको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
दुई दिनसम्म चलेको बैठकमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय र साङ्गठनिक विषयवस्तुमाथि छलफल चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *