भर्खरै :

नेमकिपा बाँके जिल्ला सम्मेलन सम्पन्न

कोहलपुर, ४ फागुन । शनिबार सम्पन्न नेपाल मजदुर किसान पार्टी बाँकेको प्रथम जिल्ला सम्मेलनले बखतबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
सम्मेलनको बन्द बैठकमा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले समसामयिक राजनीतिक र अन्तर्राष्ट्रिय परिस्थितिबारे प्रशिक्षण दिनुभयो ।
प्रशिक्षणमा प्रजापतिले युवा पुस्ताले देश र जनताको सेवा गर्न राजनीतिक गतिविधिमा संलग्न नभए शोषक वर्गको सेवामा जीवन बिताउनुपर्ने बताउनुभयो ।
नेमकिपाको राजनीति कामदार जनताको राजनीति भएको प्रस्ट पार्दै शोषणमा आधारित पुँजीवादी व्यवस्थाले राजनीतिलाई फोहोर बनाएको प्रस्ट पार्नुभयो ।
पुँजीवादी व्यवस्था नाफा र धनमा टिकेको व्यवस्था भएकाले पैसाको लागि महिला बेचविखनजस्ता विकृति पुँजीवादी समाजमा हुने बताउनुभयो ।
“राजनीतिक गतिविधिमार्फत मात्र समाजमा रहेको सामन्ती संस्कार हटाउन सकिन्छ । समाजवादी संस्कृतिको विस्तारले मात्र सामन्तवादी र पुँजीवादी विकृतिमा नियन्त्रण गर्न सकिनेछ ।”, उहाँले भन्नुभयो ।
व्यापक कामदार जनता राजनीतिक र सैद्धान्तिकरूपमा सचेत र सङ्गठित भए समाजवादी क्रान्ति नजिकिने भन्दै क्रान्ति कुनै राजनीतिक घटनामात्र नभई निरन्तरको प्रक्रिया भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय राजनीतिबारे कार्यकर्तालाई जानकारी दिंदै प्रजापतिले भेनेजुयलामा माडुरो नेतृत्वको समाजवादी सरकारले साम्राज्यवादविरोधी र समाजवादी नीति अङ्गालेकोले संरा अमेरिकाले नाकाबन्दी र सैनिक हमलाको बहाना खोजिरहेको हो भन्नुभयो ।
“हिजो जसरी तेलको लागि इराकमाथि हमला गरी सद्दाम हुस्सेनको संरा अमेरिकाले हत्या गरको थियो, त्यसरी नै लिवियामा मोअम्मर गद्दाफीको हत्या गरेको थियो, आज भेनेजुयलाको तेल कब्जा गर्न उस्तै षड्यन्त्र भइरहेको छ ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका हरिराम सुवाल, नेपाल क्रान्तिकारी महिला सङ्घका सुनकेसा शाहीलगायतले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *