भर्खरै :

दस लाखको लागि जथाभावी सहिद घोषणा गलत

भक्तपुर, ८ फागुन । निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्न २०४६ को ऐतिहासिक जनआन्दोलनको क्रममा भक्तपुरबाट सहादत प्राप्त सहिदहरूको सम्मानमा बुधबार नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरले सहिद स्मृति उद्यानमा सहिद दिवसको आयोजना ग¥यो ।
सहिद परिवारका सदस्य र आन्दोलनमा घाइते भएका योद्धाहरूको उपस्थितिमा भएको सो कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले देश र जनताको निम्ति बलिदान हुने वीर सपुतहरू नै सहिद भएको तर सरकारमा गएका पार्टीहरूले दश लाख सहयोग दिलाउन जथाभावी सहिद घोषणा गरेको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “सहिदको सपना पूरा गर्ने दाबी गरी सरकारमा गएका पार्टीहरू संस्थागत भ्रष्टाचारमा लागेको राष्ट्रपति विद्यादेवी भण्डारीकै भनाइ छ । उपप्रम उपेन्द्र यादवले प्रम ओलीलाई सरकारले भ्रष्टाचार र अनियमितता अन्त्य गर्न नसकेको र सुशासन कायम गर्न नसकेको पत्र दिए । राष्ट्रपति र उप्रप्रमको भनाइले प्रम ओलीको राजीनामा मागेको हो ।”
दुईतिहाइको सरकार दाबी गर्ने एमाले–माओवादीले सरकार गठनअघि भारतीय प्रम मोदीको विशेष दूतको रुपमा सुष्मा स्वराजलाई नेपाल बोलाई सोल्टी होटलमा आत्मसमर्पण गरे । भारतीय पूर्वविदेशमन्त्री जर्ज फर्नान्डेजले भारतीय संसद्मा चोर, डाका, हत्यारा, भ्रष्टाचारी सांसदहरूको सूची नै पेश गरेका थिए । नेपालमा त्यो रोग देखिंदै छ । फौजदारी अभियोग लागेकाहरू चुनावमा उठे र जिते, हालै सपथग्रहण पनि गरे । यसले भारतकै स्थिति देखाउँछ, सांसद सुवालले भन्नुभयो ।
नेपालमा अझै सियो बनेको छैन तर प्रम ओली घरघरमा खाना पकाउने ग्यासको पाइप लाइन जोड्ने, रेल र पानीजहाज चलाउने र भूउपग्रह उदाउने दाबी गर्दैछन्, उहाँले टिप्पणी गर्नुभयो ।
सचिव सुवालले सहिदको सपना पूरा गर्न र देशको छिटो विकास गर्न वर्तमान पुँजीवादी सरकारबाट सम्भव नहुने र समाजवादी व्यवस्था नै स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहिदको बलिदानले प्राप्त प्रजातन्त्रलाई संस्थागत गर्दै इमानदारीपूर्वक देश र जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकार दलगत र व्यक्तिगत स्वार्थमा लागेर अपराधीहरूलाई प्रोत्साहन दिएर सहिदको सपनामा कुठाराघात गरिरहेको चर्चा गर्दै उहाँले देशको घटनाक्रमले राज्यसत्ता गुण्डा, तस्कर र बलात्कारीहरूको हातमा जानसक्नेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।
स्वदेशमै रोजगारीको बन्दोबस्त भए युवाहरू विदेश पलायन नहुने उल्लेख गर्दै केन्द्रीय सदस्य प्रजापतिले देशको शिक्षा, उद्योग आदि निजीकरण गर्ने सरकार कम्युनिष्ट नहुने दाबी गर्नुभयो ।
सबै नागरिक समान नभएसम्म सङ्घर्ष चालू रहने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “बहुमत जनता सचेत र सङ्गठित भएपछिमात्र काम गरी खाने जनताको एक दिन विजय निश्चित छ, असङ्गठित मजदुर किसानलाई राजनीतिकरूपले सचेत गरी पुँजीवादी व्यवस्था ढालेर समाजवादी व्यवस्था स्थापना गर्न सकिन्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले जनताको सुखको स्वर्ग ल्याउन जनताको प्रजातन्त्र र समाजवाद प्राप्त गर्ने उद्देश्यका साथ नेमकिपा सङ्घर्षरत रहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले साम्राज्यवाद र विस्तारवादको विरोध गरी कम्युनिष्ट सिद्धान्त र विचारको नेतृत्व गरेर समाजवादी गणतन्त्र स्थापना गर्न नेमकिपा लागिपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहिदहरूको रगतले पञ्चायत व्यवस्था ढल्यो, अरू सहिदहरूको रगतले पुँजीवादी व्यवस्था पनि अन्त्य हुनेछ ।”
कार्यक्रमका सभापति एवम् आयोजक समितिका जिल्ला अध्यक्ष गोविन्द दुवालले अन्याय, अत्याचार, दमन, शोषणविरूद्ध दुःखी जनताले सङ्घर्ष जारी राख्ने बताउँदै माक्र्सवाद र लेनिनवादी सिद्धान्तअनुसार नेमकिपाले गरिब जनताको पक्षमा सधैँ सङ्घर्ष गरिरहने बताउनुभयो ।
सभामा भनपाका उपप्रमुख रजनी जोशीले सहिदहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै सक्षम, शिक्षित र सुरक्षित नपा बनाउने भनपाको लक्ष्य रहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले २०४६ को जनआन्दोलनको कार्यक्रमसम्बन्धी सङ्क्षिप्त जानकारी दिनुभयो भने नेक्रामसङ्घका रोशनमैया सुवालले कम्युनिष्ट भनिने सरकार पुँजीवादको दलदलमा फसिरहेको हुँदा देशमा अझै आन्दोलनको आवश्यकता रहेको औँल्याउनुभयो ।
जनआन्दोलनका घाइते योद्धा सत्य सम्मेलन राजोपाध्यायले सहिदको रगतले सत्तामा पुगेका नेता र मन्त्रीहरूमा अझै पञ्चायती शैली बाँकी रहेको हुँदा समाजवाद आएपछि मात्र सहिदको बलिदान खेर नजाने बताउनुभयो ।
सहिदको सम्मानमा एक मिनेट मौनधारण गरिएको सो सभामा सहिदहरू राजकुमार सुवाल, कृष्णराम दुवाल, निर्मलकुमार शाक्य, हरिकृष्ण भुजू, महेश श्रेष्ठ र पुष्परत्न शाक्यप्रति पुष्पाञ्जली अर्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *