भर्खरै :

“सहायताको नाममा हमलाको तयारी गर्दै संरा अमेरिका”

हवाना, २० फेब्रुअरी । क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिग्युजले मानवीय सहायताको नाममा भेनेजुयलामाथि सैनिक हस्तक्षेप गर्ने संरा अमेरिकी योजनाप्रति भत्र्सना व्यक्त गरेका छन् ।
रोड्रिग्युजले विगतमा विश्वका अन्य भूभागमा भयावह अवस्था निम्त्याएको पूर्ववर्ती योजनालाई नै वाशिङ्टनले निरन्तरता दिन खोजिरहेको बताए । उनले संरा अमेरिकी सैनिक हस्तक्षेपले आर्थिक, सैनिक, सामाजिक र मानवीय दुष्परिणाम निम्त्याउनुका साथै सम्पूर्ण ल्याटिन अमेरिकामा अस्थिरता ल्याउने चेतावनी दिए ।
“भेनेजुयलामा शान्ति रक्षा गर्न र सैनिक हमला रोक्न राजनीतिक भिन्नता सल्टाउन क्युवा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्न चाहन्छ ।”, उनले भने ।
गएको शुक्रबार अर्बपति रिचार्ड ब्रानसनले कोलोम्बियाबाट भेनेजुयलासँग सीमावर्ती कोलोम्बियाली सहरमा बसेका भेनेजुयालीहरूको निम्ति राहत कार्यक्रम घोषणा गरेका थिए । भेनेजुयलाभित्र विपक्षीहरूले सरकारविरोधी प्रदर्शनलाई जारी राखेको सन्दर्भमा आगामी फेब्रुअरी २३ को दिन त्यस्तो राहत वितरण गर्ने घोषणा गरिएको हो ।
भेनेजुयलाको राष्ट्रिय सभाका अध्यक्ष हुवाँ गुइएडोले आफैंलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि भेनेजुयलामा सत्तासीन समाजवादी पार्टी र विपक्षी समूहहरूबीच भएको शक्ति सङ्घर्षले गएको महिनादेखि गहिरिंदै छ ।
संरा अमेरिका र उसले भनेको कुरा मान्ने देशहरूले तत्कालै मान्यता दिएका गुइएडोले आगामी फेब्रुअरी २३ का दिन कोलोम्बियाली सीमावर्ती सहर कुकुटाबाट संरा अमेरिकी सहायता भेनेजुयलामा भित्याउने घोषणा गरेका थिए । तर, सरकारले भने त्यसमा रोक लगाएको छ ।
भेनेजुयाली विपक्षीहरूको लागि उक्त ‘सहायता’ देशभित्र ल्याउन निकै महत्वपूर्ण मानिएको छ किनभने त्यसैको आधारमा विपक्षीहरूले माडुरोविरोधी सङ्घर्षलाई अझ अघि बढाउने योजना बनाइरहेको छ ।
भेनेजुयलाका संस्कृतिमन्त्री अर्नेस्टो भेलिगासले सो सहायतालाई युद्धकै संज्ञा दिएका छन् । उनले मानवीय सहायताको नाममा संरा अमेरिकाले भेनेजुयलामाथि दबाब दिन खोजिरहेको उनको भनाइ थियो ।
माडुरो सरकारले संरा अमेरिकाको सो ‘सहायता कार्यक्रम’ लाई आफूमाथि हमला गर्ने पूर्वतयारीको रुपमा लिंदै अस्वीकार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *