भर्खरै :

ख्वप अस्पताल भवन समयमै सम्पन्न होस्

– हर्षबहादुर केसी
जनस्वास्थ्य सेवा केन्द्र र नर्सिङ्ग सेवा सञ्चालन गर्दै आएको भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालन गर्ने भएको छ । निर्वाचनताका नेमकिपाले प्रतिबद्धता गरेबमोजिम उक्त ख्वप अस्पताल स्थापना गर्न लागेको हो । ख्वप अस्पताल सञ्चालन गर्न बिहीबार एक समारोहबीच शिलान्यास गरियो । शिलान्यास नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छें (रोहित) ले गर्नुभएको थियो । उक्त अस्पताल तीन वर्षमा पूरा गर्ने लक्ष्य नपाले राखेको छ ।
भवनको निर्माण कार्य सम्पन्न भएपछि सो अस्पतालले आकस्मिक सेवा, एक्सरे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, एमआरआइ, प्याथोलोजी प्रयोगशाला, प्रसूति सेवा विभाग र शल्यक्रिया विभाग सञ्चालन हुनेछ । त्यस्तै सघन उपचार विभाग, वेस्मेट पार्किङ्ग, शव गृह, बैठक कक्ष र सभा कक्षको पनि बन्दोबस्त हुनेछ । भवन पाँच तलाको हुनेछ । अस्पताल सञ्चालन हुने उक्त जग्गाको क्षेत्रफल ५,४९६.७० वर्गमिटर रहेको छ । जमिन तलाको क्षेत्रफलमात्रै १,३३९.२५ वर्गमिटर रहेको छ ।
ख्वप अस्पताल भनपाको महत्वपूर्ण र उत्कृष्ट आयोजनामध्ये एक हो । अस्पतालमा बालमैत्री र अपाङ्गमैत्री हुने बताइएको छ । वर्षात्को पानी र सौर्य ऊर्जाको पनि उपयोग गर्ने बताइएको छ । स्थानीय जनतादेखि देशभरका जनताको सेवा पु¥याउने उद्देश्यले स्थापना गर्न लागेको सो अस्पताल छिटोभन्दा छिटो निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा दिन नपाका जनप्रतिनिधिहरूलाई अग्रीम शुभकामना पनि दिइएको छ । अस्पतालको लागि सम्बन्धित निकायले २५ शय्याको स्वीकृति प्रदान गरिसकेको छ । अस्पतालको क्षमता एक सय शय्या रहेको छ ।
उक्त अस्पताल बनाउन हालसम्म सरकारले कुनै आर्थिक सहयोग गरेको छैन । विदेशी लगानी पनि छैन । आ.व ०७५÷०७६ मा अस्पताल भवन निर्माण गर्न भनपाले रु. १४ करोड बजेट छुट्याएको छ । समयमै भवन निर्माण गरी सस्तो, भरपर्दो गुणस्तरीय स्वास्थ्य सेवा जनताले पाउने आशा राख्नु स्वाभाविकै हो । काठमाडौं उपत्यका भूकम्पीय क्षेत्रमा परेको हुँदा अस्पतालको भवन पक्कि बनाउनुपर्ने विज्ञहरूको सुझाव मननीय छ । ख्वप अस्पताल बनेपछि त्यो भनपाको मात्र होइन देशकै निम्ति गौरवको विषय बन्ने छ । बिरामीहरूले रोगको उपचार गर्न पाउने भरपर्दो र विश्वासिलो अस्पतालको रुपमा अघि बढ्ने जनताको विश्वास छ । भनपाले ख्वप अस्पतालझैं अन्य योजनाहरू पनि प्रतिबद्धताबमोजिम आफ्नो कार्यकालभित्र पूरा गर्ने विश्वास प्रत्येक नगरवासीले लिनु अन्यथा होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *