भर्खरै :

सरकारको एक वर्षः भ्रष्टाचार र काण्डै काण्ड

कैलाली, ११ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नेमकिपा कैलालीको छैटौँ जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सचिव सुवालले लेनिनवादी नीतिअनुसार पुँजीवादी निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने र पुँजीवादी सरकारको लुछाचुँडीमा नलाग्ने पार्टी नेमकिपा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी सरकारको लुछाचुँडीमा लाग्ने पार्टीको नाममा कम्युनिष्ट शब्द जोडिए पनि यथार्थमा तिनीहरू पुँजीवादी पार्टी हुन् ।”
“ज्येष्ठ नागरिक भत्ता समाजवाद होइन पुँजीवादी देशमा युवालाई बेरोजगारी भत्तासमेत दिइन्छ । समाजवादमा शिक्षा–स्वास्थ्य निःशुल्क, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण र व्यक्तित्व विकासमा समान अवसर प्राप्त हुन्छ । संविधानमा समाजवादउन्मुख उल्लेख गर्ने, सरकारमा गएर निजीकरणको विधेयक पारित गर्ने पार्टीहरू कम्युनिष्ट हुन सक्दैनन् ।” सचिव सुवालले भन्नुभयो ।
“ओली सरकारको एक वर्षमा वाइडबडी खरिद, एनसेल पुँजीगत लाभकर, खराब ठेकेदारसँग २३ अर्ब रूपैयाँ परिचालन पेश्की काण्ड झन् बल्झियो । नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा अर्बौँ रूपैयाँ घोटाला र सुन तस्करीका ठूला माछा पक्राउ गर्ने काण्ड पनि यथावत रहे ।”, उहाँले बताउनुभयो । “राष्ट्रपति विद्यादेवी भण्डारीले संस्थागत भ्रष्टाचार भएको विषय उठाउनुभएको थियो । उपप्रम उपेन्द्र यादवले ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता नरोकिएको र सुशासन कायम नभएको पत्र प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो । के त्यो प्रम ओलीकै राजीनामा माग्नुभएको होइन ?” सांसद सुवालले स्पष्ट गर्नुुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा सियो बनेको छैन । तर, प्रम ओलीले घरघरमा ग्यासको पाइप पु¥याउने, पूर्व–पश्चिम रेल गुडाउने, कलकत्तासम्म पानीजहाज चलाउने, भूउपग्रह उडाउने बताए । नेपालको नदीनाला – महाकाली, कर्णाली, कोशी, गण्डक, अरूणलगायत भारतीय विस्तारवादलाई दिने सरकारहरूले ५ वर्षमा ५ हजार मेघावाट र १० वर्षमा १५ हजार मेघावाट जलविद्युत् उत्पादन गर्ने बताएको झूटाको खेती हो ।”
भारतले नागरिकता र प्रदेशबारे संविधान संशोधन गर्न÷गराउन एमाले–माओवादीको चुनावी मोर्चा र पार्टी एकता गर्न लगाएको घटनाहरूबाट पुष्टि भइरहेको छ, उहाँले बताउनुभयो ।
ओली सरकार पनि विदेशबाट आयात हुने गाडीमा भन्सार लगाएर, मदिरामा अन्तशुल्क लगाएर चलिरहेको चर्चा गर्दै सचिव सुवालले आन्तरिक उत्पादन बढाएर आयात प्रतिष्ठापन गर्ने र राजश्व बढाउने काम यो सरकारले गर्न सकेको छैन भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार अन्त्य नहुने भएकोले भ्रष्टाचार अन्त्य गर्न समाजवादी व्यवस्था अपरिहार्य भएको बताउनुभयो ।
वर्गीय आधारमा राजनीति गर्नुपर्नेमा जोड दिँदै उहाँले सिद्धान्त र विचारबाट प्रशिक्षित जनताले देशमा परिवर्तन ल्याउने बताउनुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले सार्वजनिक उद्योग र कलकारखाना निजीकरण गर्ने कम्युनिष्ट सरकार हुनैनसक्ने बताउनुभयो ।
नेमकिपा कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका जङ्गबहादुर तारामी, नेपाल क्रान्तिकारी महिला सङ्घका लक्ष्मी पुन, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजू, नेपाल क्रान्तिकारी किसान सङ्घ कैलालीका अध्यक्ष गजबहादुर दर्लामी र नेपाल क्रान्तिकारी मजदुर सङ्घ कैलालीका अध्यक्ष विकास खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा लक्ष्मीकुमारी पोख्रेलले पनि बोल्नुभएको थियो ।
कैलालीमा विद्यार्थी भेला सम्पन्न
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ कैलाली जिल्ला समितिको आयोजनामा विद्यार्थी भेला शनिबार सम्पन्न भयो ।
भेलामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले नेपालको सार्वभौमिकता र स्वाधीनताको पक्षमा नेक्राविसङ्घ सङ्घर्षरत रहेको बताउँदै कामदार वर्गका जनता एक हुनुपर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीहरू राजनैतिक रूपमा सचेत हुनुपर्नेमा जोड दिँदै विरोधीहरूले विद्यार्थीहरूलाई राजनीतिमा लाग्न नहुने भन्नु आफैँमा ठूलो राजनीति भएको औंल्याउनुभयो ।
उहाँले संरा अमेरिकालगायतका साम्राज्यवादी देशहरूले स्वतन्त्र र सार्वभौम देश भेनेजुयलामाथि भएको असंवैधानिक हस्तक्षेपको विरोध नेमकिपाले मात्र गरेको स्पष्ट पार्दै यसबारे विद्यार्थीहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका पूर्वकेन्द्रीय सहसचिव लक्ष्मीकुमारी पोख्रेलले समाज वर्गमा विभाजित भएको बताउँदै कामदार वर्गका छोराछोरीहरू सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो । उहाँले सीमा अतिक्रमणले नेपालको सीमा खुम्चिएका कारण नेमकिपाले विरोध गरेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष तिलक सिजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हिक्मत भण्डारीलगायतले समसामयिक राजनीतिबारे विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *