भर्खरै :

एनप्याब्सनको वार्षिक कार्यक्रम सम्पन्न

भक्तपुर, ११ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले शिक्षाविद् तथा संस्कृतिविद्लाई सम्मान गरेको छ ।
नेशनल प्याब्सन भक्तपुरको सातौं वार्षिक साधारणसभाको अवसरमा त्रिवि शिक्षा सङ्कायका पूर्वडीन एवम् शिक्षाविद् पृथुचरण वैद्य र संस्कृतिकर्मी एवम् शिक्षासेवी तेजेश्वरबाबु ग्वंगलाई शनिबार सम्मान गरेको हो ।
भक्तपुरमा रहेर भक्तपुरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै शिक्षाविद् वैद्य र संस्कृति क्षेत्रमा निरन्तर लागिरहेका ग्वंगलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको एनप्याब्सन भक्तपुरका अध्यक्ष जीबी खड्काले जानकारी दिए ।
कार्यक्रममा सङ्घीय सांसद एवम् नेशनल प्याब्सनका पूर्व अध्यक्ष गीता राणाले शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्नु सराहनीय भएको चर्चा गर्दै शिक्षामा गुणस्तरीयताका लागि सबै पक्षबीच सहकार्य आवश्यक भएको बताइन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षा सङ्कायकी सहायक डीन डा. कृश्मिला आचार्यले शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नरहेको आरोप लगाइन् । उनले शिक्षाको विकासको लागि बलियो नियमावलीको खाँचो रहे पनि सरकारले त्यो खाँचो पूर्ति गर्न नसकेको बताइन् ।
कार्यक्रममा सम्मानित व्यक्तिहरू शिक्षाविद् पृथुचरण वैद्य र संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले शिक्षासँगै संस्कारको जरुरी रहेको बताउँदै संस्कारविनाको शिक्षा पूर्ण नहुने उल्लेख गर्दै निजी विद्यालयहरूलाई लाग्दै आएको आरोप घटाएर विद्यालय सञ्चालन गर्न अनुरोध गरे ।
शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख हरि दाहाल, एमनेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विक्रम ढुकुछु, नेशनल प्याब्सन भक्तपुरका सचिव शिवकृष्ण कवांलगायतले बोलेको सो कार्यक्रममा नेशनल प्याब्सनको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरूलाई पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *