भर्खरै :

सार्वजनिक स्थानमा बम विस्फोटन निन्दनीय

– सुरज सिंह
शुक्रबार साँझ काठमाडौँ रिङरोड नजिकै नख्खु दोबाटोमा शक्तिशाली बम विस्फोट हुँदा तीन जना गम्भीर घाइते भए । तीमध्ये एक जना सिंहप्रसाद गुरुङको शनिबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भयो । उक्त विस्फोटन एनसेल प्राइवेट कम्पनीको गेटमा गरिएको भनिए पनि सार्वजनिक सडकमा भएको थियो । त्यसकारण सडकमा हिंडिरहेका ३ जना अञ्जान व्यक्तिहरू विस्फोटको सिकार भए । एक व्यक्तिको त ज्यान नै गइसकेको छ ।
बम विस्फोटन गराउने व्यक्ति वा समूहको एनसेल कम्पनीसित व्यक्तिगत वा सामूहिक असन्तुष्टि, प्रतिपस्र्धा वा शत्रुता होला तर त्यसको निम्ति सर्वसाधारण जनता धरापमा पार्ने काम हुनु निन्दनीय छ । विस्फोटनले आसपासका घरहरू कम्पनसहित हल्लिए र स्थानीय जनता आतङ्कित भए । जनतालाई आतङ्कित पार्नु र निर्दाेषहरूको अङ्गभङ्ग गर्नु नै उद्देश्य हो भने आतङ्कवादको निन्दा गर्नुबाहेक केही भन्नु रहेन । एनसेल कम्पनीले नेपाली जनताको शोषण गरेको र कर छलेको भन्दै त्यसमाथि कारबाही गरेको दाबी हो भने पनि यो सही बाटो होइन । कुनै राजनीति उद्देश्य बोकेको समूहले कहिल्यै निर्दाेष जनतालाई पीडित बनाउने काम गर्दैन, गर्नु नै हुँदैन । सार्वजनिक स्थानमा बम विस्फोटन गराई सर्वसाधारण नागरिकहरूलाई पीडित बनाउने काम जस कसैबाट भएको भए पनि निन्दनीय छ । घोषित युद्धमा शत्रुविरुद्ध आक्रमण गर्नु बेग्लै पक्ष हो तर आफूसित साधन स्रोत र सीप छ भन्दैमा विनाकारण बम विस्फोटन गराउँदै हिँड्नु स्वस्थ मानसिकताको परिचायक होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *