भर्खरै :

स्रष्टा, सृजना र ‘सेल्फ सेन्सरसीप’

एसडी. राजचल
स्रष्टा वा सर्जकहरू समाजका ऐना हुन्, देशका सम्पत्ति हुन् । शासक दलहरूका निम्ति स्रष्टा सन्देश प्रवाहका कलात्मक माध्यमहरू हुन् । सरकार जनभावनालाई सम्बोधन गर्दै अगाडि बढेमा स्रष्टाहरू आफ्ना सृजनाको माध्यमबाट सन्देश प्रवाहको कार्यमा अहोरात्र खट्छन्, शासकहरूलाई सफल बनाउँछन् । होइन, सरकार जनताको भावनाविपरीतका क्रियाकलापमा आफूलाई संलग्न गराउँछन् भने तिनीहरूका गलत कदमविरुद्ध खबरदारी गरी सही मार्गमा ल्याउने प्रयास गर्छन् । त्यस हिसाबले पनि स्रष्टाहरू शासकहरूका निम्ति ऐना हुने गर्दछन् ।
स्रष्टाको सृजनाको स्रोत समाज नै हुने गर्दछ । सर्जकहरू पनि सामाजिक प्राणी हँुदा समाजका विकृति, विसङ्गति, शोषण, दमन, अन्याय, अत्याचार, अन्धविश्वास, भ्रष्टाचारलगायतका बेथितिहरूलाई सृजनशीलताको माध्यमबाट कलात्मकरूपमा प्रस्फुटन गर्नु स्वाभाविकमात्र होइन, अनिवार्य हो । पीडित जनताको भावना र आक्रोश उजागर नभएका साहित्य सृजनाहरू ‘कागजका खोष्टा’ हुन्छन् । स्रष्टा समाजका महत्वपूर्ण अङ्ग भएकोले समाजको पीडामा मल्हम लगाउने र हर्षमा खुसी साट्ने काममा कदाचित पछाडि पर्नु स्रष्टाका लागि सुहाउँदो विषय हुने गर्दैन । वर्गमा विभाजित समाजमा मानिसका आ– आप्mना पहिचानहरू हुन्छन् । पहिचान अनुसारको शब्द आफ्नो सृजनामा अटाउनु स्रष्टाहरूको विशेषता हुनुपर्दछ ।
दलका आ– आफ्ना सिद्धान्तहरू हुन्छन् । नेपालको सन्दर्भमा कैयौँ दलहरू दलगत स्वार्थबाट माथि उठ्न सकिरहेका छैनन् । आप्mनो दल सत्तामा रहँदा शासकले गरेका हरेक काम सही देख्ने र सत्तामा नरहँदा सत्तापक्षका कुनै पनि गतिविधि सही नदेख्ने मनोरोगबाट पीडित छन् । दलीय हिसाबले नेताहरू स्वार्थवस पनि नेतृत्वको आदेश शिरोधार्य गर्ने प्रवृत्तिका हुने भएकाले स्वतन्त्र नहुने र परिणाम गलत निर्णयमा पनि ‘पार्टीको आदेश’ मान्न बाध्य हुन्छन् । अर्कोतिर दलीय ‘व्हीप’ नमान्ने नेता तथा कार्यकर्ताहरूलाई कारबाही गर्नसक्ने भएकाले पनि नेता कार्यकर्ताहरूले दलगत स्वार्थबाट माथि उठेर काम गर्ने हिम्मत देखाउन सकिरहेका छैनन् । तर, स्रष्टा वा सर्जकहरू आप्mनो राजनीतिक अधिकारको उपयोग गर्दै सृजनाका लागि स्वतन्त्र हुन्छन् । जुनसुकै दलविरुद्ध पनि समर्थन, आलोचना वा विरोधका लागि कुनै व्हीप नलाग्ने र कारबाहीको भागीदार नहुने भएकाले नेता, कार्यकर्ताहरूले भन्दा बढी नै अभिव्यक्ति स्वतन्त्रता पाएका हुन्छन् । उनीहरू सृजनाको माध्यमबाट समाजलाई दिशानिर्देश गरिरहेका पनि हुन्छन् ।
यसरी स्रष्टाहरूले सरकारको काम कारबाहीलाई नजिकबाट नियालेर जो सृजना गरिरहेका हुन्छ्, त्यसले सरकारको गुण वा अवगुण, समर्थन वा आलोचना अभिव्यक्त गरिरहेको हुन्छ । विकृति र विसङ्गतिलाई नजिकबाट नियाल्दै कहिले कडा त कहिले नरम शब्दमा मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्न सर्जकहरू तम्सिएका हुन्छन् । एउटा असल, जनउत्तरदायी सरकार सर्जकका सृजनाहरूलाई नजिकबाट नियाल्दै आफ्ना गतिविधिलाई निरन्तरता दिने वा सुधारको मार्ग पहिल्याउने हो, त्यसमा चिन्तन मननका साथ गतिविधिलाई अगाडि बढाउँछन् । तर, प्रशंसा, समर्थन, वाह वाही एवम् सकारात्मक टिप्पणीका भोकाहरू जनमतलाई आफ्नो पक्षमा तान्न अनेक गतिविधि गर्छन् । गाली, विरोध र आलोचना सुन्न नसक्ने शासकहरू ‘बादशाहको नयाँ लुगा’ का बादशाह बन्न खोज्छन् । प्रशंसा पाउनकै निम्ति गैरकानुनी र अस्वस्थ कार्यमा समेत आफूलाई संलग्न गराउन उद्यत भएका हुन्छन् । ठीक र बेठीक छुट्याउने संयमितता समेत गुमाउन पुग्छन् । यतिखेर स्रष्टा पशुपति शर्माले एउटा गीत बजारमा ल्याए । ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ……….’ बोलको गीत सामाजिक सञ्जाल यू– ट्युबमार्फत सार्जजनिक गरे । वाइडबडी विमान खरिदलगायतमा भएको भ्रष्टाचार, नयाँ राजाहरूको उदय, असफल शासक, अनियमिततालगायत दर्जनौं बेथितिहरूलाई शब्दको माध्यमबाट उजागर उनका म्युजिक भिडियोलाई केही घण्टामा लाखौँ दर्शकले मनपराए । थुप्रैले शेयर गरे । लगत्तै उक्त म्युजिक भिडियोलाई यू–ट्युबाट हटाउन दबाब आएको र सोही अनुसार गर्न आफू बाध्य भएको स्वयम् स्रष्टा शर्मा स्वीकार्छन् । लोकतन्त्रमा समेत स्रष्टाको सृजना सरकारी कारण ‘सेल्फ सेन्सरसीप’ भएको छ । विकृति र विसङ्गति पँुजीवादी व्यवस्थाको उपज हो । यही व्यवस्था माथिको एउटा चोटिलो प्रहार पँुजीवादी शासकहरूको निम्ति टाउको दुखाइको विषय बन्यो । स्वतन्त्रताको नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि घात गरियो । सरकार चेतनाशून्य अराजकहरूको जमातको आरोप सही भएको पुष्टि भयो ।
सबै स्रष्टाहरू जनउत्तरदायी हुँदैनन् र जनउत्तरदायी स्रष्टाका शब्दहरू समाजबाट उत्पन्न हुन्छन् । मनोरञ्जनको लागि शब्दहरू खर्चिने कथित स्रष्टाहरू पँुजीवादको शिकार हुँदै आएका छन् । तिनीहरू पँुजीका निम्ति जस्तोसुकै घृणित काम गर्न तम्तयार हुन्छन् । सामाजिक असन्तुलन र अमर्यादित अवस्थाका स्रोत बन्न पुग्छन् । सबै स्रष्टाहरू सामाजिक हुँदैनन् । जनताको आवाज सम्बोधन गर्दैनन् । थोरै स्रष्टाहरू जनप्रिय हुन्छन्, समाज र जनताका मित्र बन्छन् । तिनीहरू जनताको आवाज शब्दबाट प्रस्फुटन गरी सामाजिक चेतना प्रसार गर्न समय खर्चन्छन् । मुलुकमा जनउत्तरदायी स्रष्टाको खाँचो यथावत छ । राणाकालीन र पञ्चायतकालीन कालरात्री गुजारिसकेका कैयौँ नेपाली जनता आज पनि सम्झन्छन् कि ती कालो भनिएका समयमा पनि स्रष्टाका आवाजले सहर बजारमा ठाउँ पाएका थिए । विगतका विभिन्न राजनीतिक व्यवस्था र शासकहरूविरुद्ध चेतनाको दियो बलेको थियो । जनतालाई विकृतिविरुद्ध एकगठ भई उठ्ने सन्देश दिइएको थियो । नाटक र रङ्गमञ्चहरूमा विभिन्न प्रस्तुति दिएका थिए कैयौँ सर्जकहरूले । स्रष्टाहरूले ‘विशिष्ट’ र ‘माननीय’हरूकै सामु तिनीहरूलाई नङ्ग्याएका थिए, शब्दरुपी काँडाले नघोचिएको पनि कहाँ हो र ? त्यतिखेर मुस्कानसहित प्रस्तुतिको मज्जा लिएका र तालीसमेत पिटेका कथित ‘विशिष्ट’ र ‘माननीय’हरू आज एउटा स्रष्टाको सृजनाले यति धेरै भयभित हुनु र धम्कीपूर्ण भाषा प्रयोग गर्नु लोकतन्त्र र गणतन्त्रको उपहास हो । संविधानले प्रत्येक नेपाली नागरिकलाई व्यक्तिगत स्वतन्त्रताको हक दिएको छ । जसअन्तर्गत व्यक्तिले सत्तापक्ष, प्रतिपक्ष, नोकरशाहीविरुद्ध बोल्ने स्वतन्त्रता दिएको छ । व्यक्तिगत आक्षेप लगाउन र कसैको चरित्र हत्या गर्न बन्देज लगाएको छ । सोही हकको उपयोग गर्दै सृजना गरेका सर्जकहरूलाई विभिन्न पक्षबाट भौतिक आक्रमण हुनसक्नेसम्मको धम्की असंवैधानिक कदम हो । यो कदम लोकतन्त्रका हिमायतीहरूलाई पटक्कै सुहाउने विषय होइन ।
सर्जकहरूमा स्रोत जनताको भावना हुनुपर्दछ । सृजना कागजको खोष्टा होइन, त्यसलाई अर्थपूर्ण बनाउनु हरेक सर्जकहरूको समाजप्रतिको दायित्व हो । स्रष्टा वा सर्जकहरूले समाजमा घटेका घटनाहरूलाई कलाको माध्यमबाट सन्देश प्रवाह गर्ने भएकाले हरेक लोककल्याणकारी राज्यले स्रष्टाको सम्मान गर्न सिक्नुपर्दछ । स्रष्टाप्रतिको अपमान जनताको भावनाविपरीतको कदम हो र जनभावनाविपरीतको कदमले जनतामा आक्रोशपूर्ण अभिव्यक्ति उत्पन्न हुनसक्दछ । सरकारी कदम सरकारकै लागि पतनको कारक बन्नजाने सम्भावना सरकारमा जान्ने र खुट्टा उचाल्नेहरूको लागि महत्वपूर्ण पाठ हो । आज राणा र पञ्चायतविरुद्ध सृजना गरेका कलाहरू लोकतन्त्रविरुद्ध प्रस्तुत गर्न पनि स्रष्टाहरू बाध्य छन् ।
लोकतन्त्रमा राणाकालीन र पञ्चायतकालीन विकृति र विसङ्गति हट्ने जनताको अपेक्षा थियो तर त्यसो भएको अनुभूति जनताले गर्न पाएका छैनन् । जनइच्छाविपरीत र असंवैधानिक कदम स्वयम् शासकहरूको लागि प्रत्युत्पादक हुनसक्नेतर्फ ध्यान जानु आवश्यक छ । संविधान, लोकतन्त्र र गणतन्त्रका हिमायतीहरूका गतिविधिहरू जनइच्छा सम्बोधन गर्ने अभिप्रायले हुनुपर्दछ । त्यसको लागि संवेदनशीलता र संयमितताको खाँचो हुन्छ । यसैको अभावमा सरकारले गलत निर्णय गर्ने प्रचलनलाई क्रमशः हटाउँदै लग्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *