भर्खरै :

नेमकिपा कैलाली सम्मेलन सम्पन्न

कैलाली, १२ फागुन । “पार्टी विश्वविद्यालयजस्तै हो । कार्यकर्ताहरूले पार्टीको सिद्धान्त र प्रकाशनहरू अध्ययन गरी अन्तरक्रिया एवम् छलफल गर्नु आवश्यक छ । महाधिवेशनमा जिल्ला जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षक हुनेहरू पार्टीको सिद्धान्तबारे जानकार हुनु आवश्यक छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपा कैलालीको छैटौँ जिल्ला सम्मेलनको बन्दसत्रमा आइतबार व्यक्त गर्नुभएको हो ।
कार्यकर्ताहरूले साम्प्रदायिक विचारको खण्डन गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले वर्गसङ्घर्षलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रतिक्रियावादीहरूले इमानदार कार्यकर्तालाई भड्काउने, निरुत्साहित गर्ने, बिगार्ने पनि गर्छन् । विसं २००६ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीको विरोधमा विसं २००८ मा नेपाल प्रगतिशील कम्युनिष्ट पार्टीको नामले जनकपुरमा पर्चा छरेको थियो । त्यस घटनाबाट नेमकिपाका कार्यकर्ताहरू सचेत हुनु आवश्यक छ ।”
सिद्धान्तहीन पार्टीहरू धेरै स्थानमा चुनाव जितेर र सरकार गठन गरेर पनि देश र जनताको हित नहुने स्पष्ट पार्दै सचिव सुवालले नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि यही स्थितिको कारण नेपाली जनताले दुःख पाएको बताउनुभयो ।
उहाँले स्पष्ट पार्दै भन्नुभयो, सरकारमा गएका पार्टीहरूका कमजोरीकै कारण नेपाली जनताले दुःख पाएका हुन् ।”
पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले क्रान्तिको निम्ति पुरानो पुस्ताले नयाँ पुस्तालाई तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सम्मेलनको बन्दसत्रबाट रमेशकुमार रावलको अध्यक्षतामा १५ सदस्यीय नेमकिपा कैलाली कार्यसमिति गठन गरेको छ । सम्मेलनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *