भर्खरै :

स्थानीय तहलाई अधिकार नदिए सङ्घीय अपुरो हुने

भक्तपुर, १२ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ३ वडा एकाइ समिति, भक्तपुरको आयोजनामा शनिबार भनपा वडा नं. ३ बाट २०७३, ०७४ र ०७५ सालमा प्रमाणपत्र तह, स्नातक तह, स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजले देशभरका विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरी देशको लागि आवश्यक जनशक्ति तयार गरिरहेको बताउनुभयो ।
उहाँले सङ्घीयताको अर्थ स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउनु रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सरकार र विदेशी सहयोगविना नै पुनःनिर्माणको कार्यलाई अगाडि बढाइरहेको चर्चा गर्दै उहाँले भनपाले अमानत र उपभोक्ता समितिमार्फत गुणस्तरीय निर्माणहरू भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भनपाले तीन वर्षभित्र ख्वप अस्पतालको निर्माण कार्य सम्पन्न गर्नेछ । पुरानो सहरलाई मौलिक स्वरूपमा विकास गर्ने सोच राखी भनपाले कार्य गर्दैछ । नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखी नगरको १० वटै वडामा शारीरिक व्यायामका सामग्री जडान भइरहेको छ ।”
नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले नयाँ पुस्तालाई पुरानो पुस्ताले देश र जनताको हितमा काम गर्न प्रेरणा दिनुपर्ने, स्वार्थी प्रवृत्ति बढिरहेको समाजलाई रूपान्तरण गर्न सामाजिक भावना जगाउने कुराको प्रचार युवा पुस्तामा गराउनुपर्ने र विद्यार्थीहरूलाई विद्यावारिधिसम्मको शिक्षा हासिल गर्न उत्साहित बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नेक्राविसङ्घले विद्यार्थीहरूको सर्वा·ीण विकास, अनुशासन र सैद्धान्तिक स्तर उठाउने उद्देश्यले काम गर्दै आएको र विद्यार्थीलाई देशको सेवा गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो । ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले देशको लागि आवश्यक दक्ष इन्जिनियरहरू कलेजले तयार गरिरहेकोे बताउनुभयो ।
बधाई ज्ञापन कार्यक्रममा नेमकिपा ३ नं. वडा समन्वय समितिका संयोजक रामसुन्दर खाताखो, नेक्राविसङ्घका केन्द्रीय सदस्य सर्जु फसिकव, नेक्राविसङ्घ नगर समितिका अध्यक्ष प्रवीण प्रजापति, कार्यक्रमका सभापति मनिस गोरा, रोशन गोरालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि प्रजापतिले भनपा वडा नं. ३ बाट विभिन्न तहमा उत्तीर्ण र उत्कृष्ट करिब एक सय विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रमपश्चात सांस्कृतिक प्रस्तुतिहरू देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *