भर्खरै :

नेपाल–भारत सीमा नियमन गर्नुको विकल्प छैन

मिनबहादुर बाटा
केही समयअगाडि नेपालका साङ्गीतिक क्षेत्रको लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल कञ्चनपुरको नेपाल–भारत सीमा नजिक पुगेर कार्यक्रम सञ्चालन गर्न खोज्दा भारतीय सैनिकको आक्रमणमा परेको समाचार प्रकाशित भयो । उनको क्यामेरासमेत खोसियो । क्यामेरामा रहेका भिजुअलहरू नहटाइएसम्म उनको टीमलाई भारतीय पक्षले छोडेन । आफ्नै भूमिमा बसेर कार्यक्रम सञ्चालन गर्न खोज्दा पनि भारतीय एसएसबीद्वारा ज्यादती भोग्नुप¥यो । एउटा लोकप्रिय कार्यक्रमका सञ्चालकलाई यस्तो ज्यादती हुन्छ भने सर्वसाधारणलाई कतिको पीडा होला ? यो सहजै अनुमान लगाउन सकिन्छ ।
भारतीय एसएसबीसँगको द्वन्द्वपश्चात् उनले सीमाबाट केही वर आएर कार्यक्रम सञ्चालन गरे । त्यहाँ उनले नेपाली जनता जतिसुकै स्वाभिमानी भए पनि, जतिसुकै पौरख, श्रम, सीप, बहादुर भए पनि सरकार कमजोर, लाचार र दलाली गर्ने चरित्रको भए जनताको मात्र केही लाग्दोरहेनछ भन्ने चिन्ता व्यक्त गरे । सरकार भनेको घरको मूलीजस्तै हो । अभिभावक गतिलो नभए घरका परिवारको बेहाल भएझैं नेपाल सरकार नालायक भएको कारण नेपालीहरू सीमामा निरिह भइरहनुपरेको वास्तविकतालाई उनले गीत सङ्गीतमार्फत प्रकट गरे । सरकार पानीमरुवा भएपछि नेपाली जनताले जति नै सीमामा लडेर रगत बगाए पनि केही लाग्दोरहेनछ भन्दै उनले दुखेसो पोखे । सीमावर्ती क्षेत्रमा तारबार अथवा पर्खाल लगाएर सीमा नियमित गर्न पनि सरकारको ध्यानाकर्षण गराए । गीत सङ्गीतमार्फत नेपाली जनतालाई सीमा जोगाउन आह्वान पनि गरे । उनको यो कार्य प्रशंसनीय छ ।
उक्त कार्यक्रममा एक स्थानीयले भारतीय प्रहरी नेपालभित्र पसेर तीन दिनभित्र यो ठाउँ नछोडे बालकदेखि वृद्धसम्म सबैलाई गोली हानेर मारिदिने धम्की दिएको र उक्त ठाउँमा नेपालीहरू भारतीय एसएसबीसँग सङ्घर्ष गर्दै त्रासपूर्ण जीवन बिताउन वाध्य भएको दुखेसो व्यक्त गरे । नेपाल सरकारलाई कर तिरिराखेको आफ्नो नम्बरी जग्गा हाल भारतीयले हडपेको बताउँदै छोरी चेली वन, जङ्गलमा दाउरा, घाँस गर्न जाँदा पनि भारतीयद्वारा हातपात, बलात्कारसमेत हुने गरेको बताए । यतिमात्रै होइन आफ्नै भूमिमा पशु चौपाया चराउन पनि भारतीयलाई कर तिर्नुपर्ने अवस्थाले नेपाली भएर बाँच्न गा¥हो परेको स्थानीयले बताए । यस्तो संवेदनशील अवस्था सृजना हँुदा पनि सरकार किन बोल्दैन ? हामीले चुनेर पठाएको सरकार खोइ ? भनेर उनीहरू प्रश्न गर्छन् ।
२०७३ फागुन २६ गते कञ्चनपुरको पुनर्वासअन्तर्गत आनन्दनगरमा आफ्नो सीमा जोगाउने लडाइँमा भारतीय प्रहरीको गोली खाएर नेपाली सपुत गोविन्द गौतमले ज्यान गुमाए । आफ्नै भूमिमा गोविन्दले भारतीय प्रहरीको गोली खाएर ढल्नुप¥यो । नेपाल सरकारले यस सम्बन्धमा भारतीय पक्षसँग जवाफ माग्न सकेन । व्यापक जनदबाबपछि सरकारले गोविन्द गौतमलाई सहिद घोषणा ग¥यो तर भारतसँग त्यसको क्षतिपूर्ति माग्ने साहस गर्न सकेन । सरकार खुस्केला कि भन्ने चिन्ताले शासकहरू ग्रस्त रहेको पाइयो । यो मुद्दामा केही समय जनस्तरबाट विरोध भयो र पछि आफै सेलाएर गयो । नेपाल सरकार आफूलाई सञ्चो भएको महशुश गर्नथाल्यो । उसले कतै आवाज उठाउने र टाउको दुखाउनुपर्ने आवश्यकता ठानेन । सीमावर्ती क्षेत्रका जनताले अझै पनि देशमा सरकार भएको महशुश गर्न पाएनन् । यसकारण जनता भन्छन्, सरकार पानीमरुवा सावित भयो ।
नेपाल भारतबीचमा रहेको १८८० कि.मि. लामो सीमा रेखामध्ये १२३३ कि.मि. जमिन र ६४७ कि.मि. नदी सिमानामा पर्दछ । नापी विभागले ८ हजार ५५४ सीमा स्तम्भमध्ये २ हजार ३४४ वटा सीमा स्तम्भ हराएको तथ्याङ्क प्रस्तुत गरेको छ । रातारात भारतीय पक्षद्वारा सीमास्तम्भ गायव पार्ने र नेपाली भूमि मिच्ने परम्परा जारी छ । नदीको बहाव नै फर्काएर पनि भारतीयले सीमा मिच्ने गरेका छन् । हालसम्म नेपालको ७०÷७१ ठाउँमा ६० हजारभन्दा बढी जमिन विस्तारवादी भारतले मिचिसकेको तथ्याङ्क सीमाविद्हरूले व्यक्त गर्ने गरेका छन् । दिनदिनै सीमा क्षेत्रमा भारतीय एसएसबीहरूले नेपालीहरूमाथि ज्यादती गरेको कुरा सुन्दै आएका छौँ । राती सुत्दा नेपाली र बिहान उठ्दा भारतीय हुनुपर्ने पीडा पनि नेपालीहरूसँग छ । यति हुँदा पनि के सरकार चुप लागेर बस्ने हो ?
नेपाल–भारत खुला सिमानाको कारण नेपालीहरूले भोग्नु परेका अनेक कठिनाइ, समस्या र झमेलाहरूका बारेमा दिनदिनै कुनै न कुनै समाचार हामीले सुन्दै आएका छाँै । कञ्चनपुरमा मात्र होइन पूर्वदेखि पश्चिमसम्मका अधिकांश नेपाल–भारत सिमानामा नेपालीहरूले दुःख पाएका छन् । सीमावर्ती क्षेत्रका नेपालीहरूलाई बढी पीडा हुनु त स्वाभाविक रह्यो । चोरी, डकैति, हत्या, हिंसा, बलात्कारजस्ता अपराधमा वृद्धि हुनुको एउटा कारण खुला सिमाना पनि हो । यसलाई नियमन नगर्दा नेपालको स्वाधीनता र सार्वभौमिकतामाथि नै खतरा उत्पन्न भएको छ ।
कञ्चनपुरका जनताले खुलमखुला सीमावर्ती क्षेत्रमा तारवार या पर्खाल लगाउन सरकारलाई आह्वान गरे । अन्य क्षेत्रका जनताको मनसाय पनि त्यही छ । सीमामा कडाइ भएन भने सारा विकृति नेपाल पस्छ । भारत सरकारको पनि मनसाय राम्रो छैन भन्ने कुरा नेपालीले बुझिसकेका छन् । नेपाललाई सिक्किम बनाउने मनसाय भारतीय विस्तारवादीहरूको दिमागमा रहेको कुरा भारतकै प्रोफेसर आर. के. यादवले आफ्नो पुस्तक ‘मिसन रअ’ मा प्रस्टसँग लेखेका छन् । यति हँुदाहँुदै पनि शासक दलहरू किन चुप ? दुईतिहाइको दम्भ देखाएर आफूलाई कम्युनिष्ट दाबी गर्नेहरू उखानटुक्का हालेरैमात्र बस्ने हुन् ? यदि त्यसो होइन भने देशको स्वाधीनता र सार्वभौमिकता रक्षाको निम्ति नेपाल–भारत खुला सिमानालाई नियमन गर्नुको विकल्प छैन । तत्काल यसतर्फ ध्यान दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *