भर्खरै :

भियतनाममा नेता किमका लागि कडा सुरक्षा

दोङदाङ, भियतनाम, १३ फागुन (एएफपी) । उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती सहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
उहाँ सोमबार भियतनामको सीमावर्ती सहर दोङदाङ पुग्दै हुनुहुन्छ । उहाँको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रमा रेल सेवा बन्द गरिएको छ ।
किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ । उहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दै हुनुहुन्छ ।
उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दै हुनुहुन्छ । दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोइ ल्याइनेछ । हनोइ यात्राका क्रममा उक्त सडकखण्ड पूरै बन्द गरिनेछ ।
किम शनिबार नै रेल चढेर भियतनामतर्फ लाग्नुभएको हो । उहाँ चीनको राजधानी बेइजिङ हँुदै रेलमा भियतनाम पुग्नु हुनेछ । भियतनामका अधिकारीले जनाएअनुसार उहाँ मङ्गलबार बिहानसम्ममा भियतनामको दोङदाङ सहरमा पुग्नु हुनेछ ।
उहाँले साढे दुई दिनको यात्रा र करिब चार हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न लाग्नुभएको हो । उक्त दोङदाङ शहर चीनसँगको सीमा क्षेत्रमा पर्दछ । त्यसैले पछिल्ला केही दिनयता यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको अधिकारीहरूले बताएका छन् ।
उहाँ भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारी साधनमा अपराह्न २ बजे भियतनामको राजधानी हनोइ पुग्नुहुने कार्यक्रम रहेको छ । उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोइ जान लाग्नुभएको हो । उहाँहरूबीच यो दोस्रो पटक भेटवार्ता हुन लागेको हो ।
हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोइ पुग्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *