भर्खरै :

नेक्रायुसङ्घ दैलेखको नवौं जिल्ला सम्मेलन सम्पन्न

दैलेख, २८ फागुन । देशको सार्वभौमिकता, भूअखण्डता र राष्ट्रिय स्वाधीनताको रक्षा गरौं भन्ने नाराका साथ नेपाल क्रान्तिकारी युवा सङ्घ दैलेखको ९ औं जिल्ला सम्मेलन चामुण्डाको चाल्नेमा जुलुस परिक्रमा र बाजागाजासहित बृहत् रुपमा सम्पन्न भयो । उक्त सम्मेलनको फागुन २५ गते नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले उद्घाटन गर्नुभयो । उहाँले भन्नुभयो – नेपाल क्रान्तिकारी युवा सङ्घ विकृति र विसङ्गतिविरुद्ध सङ्घर्ष गर्दै आइरहेको छ, नेपाल मजदुर किसान पार्टी राष्ट्रघाती सन्धि सम्झौताको विरोध गरिरहेको छ ।
उहाँले भन्नुभयो–अङ्गीकृत नागरिकलाई उच्च राज्यको ओहोदामा राख्न नहुने, विदेशीको इसारामा संविधान संशोधन देश हितविपरीत छ, नेपाल मजदुर किसान पार्टी तत्काल स्थानीय तहको निर्वाचन अविलम्ब गर्ने पक्षमा छ । नेपाल मजदुर किसान पार्टी हिमाल, पहाड र तराई पर्ने गरी सीमा निर्धारण गरिनुपर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिनुपर्नेमा जोड दिन्छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य बजिरसिंह विकले अन्तर्राष्ट्रिय महिला नेताहरूले गरेको कठोर सङ्घर्ष र त्यसबाट प्राप्त उपलब्धिको अवसर भएकोले महिला मुक्तिका लागि युवा महिलाहरू पनि सङ्घर्षमा लाग्न जरुरी छ, हाल नेपाली चेलीबेटीहरू विदेशमा कष्टकर जीवन बिताउन बाध्य छन्, बहुमत जनतालाई हित हुने व्यवस्थाको लागिपरेको छ भन्नुभयो । कामदार जनताको हित हुने समाजवादी व्यवस्था स्थापना गर्र्ने पार्टी नेमकिपामा लामबद्ध हुन उहाँले अनुरोध गर्नुभयो ।
सम्मेलनमा शुभकामना दिदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले कामदार वर्गका महिलालाई सचेत र सङ्गठित पार्दै समाजवादी आन्दोलनमा लामबद्ध हुन जरुरी छ, देशका गरिब जनता शिक्षा र स्वास्थ्यबाट वञ्चित छन्, त्यसैले कामदार वर्गका महिलालाई अनिवार्य शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सम्मेलन सफलताको शुभकामना दिदै नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय उपाध्यक्ष राजवीर डङ्गोलले देशको विकासमा कठोर परीक्षण गर्ने युवाहरूलाई नेपाल सरकारले विदेशका गल्लीमा बिक्री गरिरहेको छ, शासक दलका नेताहरूले नेपालका गरिब युवाहरूलाई स्वदेशमा रोजगारीको बन्दोबस्तको लागि आवाज उठाइ रहेका छैनन् सबै कामदार वर्गका युवालाई स्वदेशमा रोजगारीको ग्यारेन्टी गर्न नेक्रायुसङ्घ सङ्घर्षरत छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका जिल्ला समिति उपाध्यक्ष बमबहादुर सिंह, जिल्ला सदस्य नीरकबहादुर शाही, नेपाल क्रान्तिकारी युवा सङ्घका प्रदेश नं.६ का उपाध्यक्ष लक्ष्मीकुमार विक, नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला अध्यक्ष तिलकप्रसाद आचार्य, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका अध्यक्ष कालबहादुर सिजापति, नेक्रायुसङ्घ सुर्खेतका अध्यक्ष गोविन्दनाथ योगीले पनि शुभकामना मन्तव्य राख्नुभयो ।
त्यस्तै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय सदस्य कुमारविक्रम शाही, नेपाल क्रान्तिकारी महिला सङ्घका प्रतिनिधि नन्दा विष्ट, चामुण्डा क्याम्पसका प्रमुख प्रेम विष्ट, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष बमबहादुर विष्ट, नेपाल मजदुर किसान पार्टी चामुण्डाका उपाध्यक्ष बासुदेव कँडेल, नेपाल क्रान्तिकारी युवा सङ्घका चामुण्डा अध्यक्ष गगन केसीलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा सपना शाही, धीरेन्द्रबहादुर शाहीले प्रगतिशील गीतहरू प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा सुरेन्द्रबहादुर शाही र सञ्चालन खगेन्द्रबहादुर शाहीले बोल्नुभएको थियो । कार्यक्रमको सभापतित्व नेपाल क्रान्तिकारी युवा सङ्घ ९ औं जिल्ला सम्मेलन तयारी समितिका संयोजक डबलबहादुर कठायतले गर्नुभएको थियो । कार्यक्रममा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घले पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
सम्मेलनले खगेन्द्रबहादुर शाहीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *