यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
संरा अमेरिकाले अघि सारेको हिन्द–प्रशान्त क्षेत्रीय मोर्चा छिमेकी देश चीनद्वारा प्रस्तावित एक क्षेत्र एक बाटो(बीआरआई)माथि तगारो राख्न ल्याइएको रणनीतिक कार्यक्रम हो । सोभियत सङ्घको विघटनपश्चात् संसारमा एकध्रुवीय प्रभुत्व जमाउँदै आएको संरा अमेरिकाले चीनको उदयलाई निको मानेको छैन । एक वा अर्को बहाना गरी चीनको आर्थिक विकासलाई रोक्ने प्रयासलाई संरा अमेरिकाले जारी राखेकै छ । भूमण्डलीकरणको पक्षधर संरा अमेरिका आज–भोलि व्यापार संरक्षणवादको सिद्धान्तमा अघि बढिरहेको छ । चीनको आर्थिक विकासलाई रोक्न संरा अमेरिकाले वरपरका देशलाई आफ्नो नेतृत्वमा मोर्चाबद्ध बनाउने, चीनविरोधी भावना प्रचार गर्ने र चीनलाई आन्तरिक द्वन्द्वमा फसाउने चालबाजी गरिरहेको छ । चीनलाई घेर्ने संरा अमेरिकी नीति नयाँ होइन । वरपरका देशलाई चीनसँग भिड्न संरा अमेरिकाले अनेक तरिकाबाट उक्साउने काम जारी राखेकै छ । हिन्द–प्रशान्त क्षेत्रीय मोर्चा दक्षिण एसियाली र दक्षिण–पूर्वी एसियाली देशलाई आफ्नो नेतृत्वमा ल्याउने रणनीतिअन्तर्गत संरा अमेरिकाले अघि सारेको रणनीतिक चाल चालेको हो ।
नेपाललगायत दक्षिण एसियाली देशहरूले बेल्ट एण्ड रोड कार्यक्रममा सहभागिता जनाएर चीनलाई एक्ल्याउने संरा अमेरिका र भारतको योजनामाथि धक्का पु¥याएको छ । आपसी हित र सहकार्यमा आधारित बेल्ट एण्ड रोड कार्यक्रमले संसारका धेरै देशमा जस्तै नेपालमा पनि चीनको प्रभावले जरा गाड्नेमा उनीहरू आत्तिएका छन् । नेपाल सरकारलाई अनेकन आर्थिक, कूटनीतिक र राजनीतिक लोभमा पारेर नेपाललाई चीनको प्रभावबाट मुक्त गर्ने अभियानमा यतिबेला संरा अमेरिका र हिन्द–प्रशान्त पक्षधर देशहरू सक्रियतापूर्वक लागेका छन् ।
पछिल्लो समय नेपालमा विशेषतः संरा अमेरिका, भारत, जापानलगायत हिन्द–प्रशान्त मोर्चासम्बद्ध देशका उच्चपदस्थ सरकारी र सुरक्षा अधिकारीहरूको गतिविधिले यतिबेला नेपाल रणनीतिक तारोमा रहेको प्रस्ट हुन्छ । नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र संरा अमेरिकी विदेश सचिव माइक पम्पोओबीच वाशिङ्टनमा भएको वार्तामा नेपालले हिन्द प्रशान्त मोर्चामा लचकता देखाएको छ । संसारमा युद्ध, हिंसा र हस्तक्षेप थोपर्दै आएको संरा अमेरिका र उसका पिछलग्गू देशहरूको रणनीतिक चालबाजीमा परी नेपालले आफ्नो छिमेकीमाथि घात गर्नु देशको हितमा हुनसक्दैन । छिमेकीको ढाडमा छुरा हानेर नेपालले प्रगति हासिल गर्न सम्भव छैन । चीनको उदयसँगै संसारको आँखा चीनमाथि परेको अवस्थामा नेपालको भू–रणनीतिक महत्व बढ्नु स्वाभाविक हो ।
बेल्ट एण्ड रोड कार्यक्रम संसारको आर्थिक विकास र आपसी हितको लागि कहिल्यै विदेशमा हस्तक्षेप नगरेको देश चीनले अघि सारेको कार्यक्रम हो । यसमा आन्तरिक मामिलामा हस्तक्षेपको कुनै गन्ध छैन । चीनले संसारभर बिनायुद्ध आपसी हितमा आधारित कार्यक्रम अघि सार्दा त्यसको प्रतिकारमा अघि सारेको अमेरिकी रणनीतिमा नेपाल सहभागी बन्नु हाम्रो भविष्यमाथि घात हो । हिन्द–प्रशान्त कार्यक्रममा सहभागिताले नेपाल फेरि पनि द्वन्द्वको भासमा फस्दै जानेछ । नेपालको शासक वर्गले कुनै पनि प्रलोभनमा परी टाढाको साम्राज्यवादी देशको सेवामा लाग्नु मानसिक प्रभुत्ववादको चाकडी गर्नु हो ।
Leave a Reply