भर्खरै :

विषादी प्रयोगः व्यापारी–व्यवसायीको लागि कि आम मानिसको लागि ?

नवराज बुढाथोकी
(उपप्राध्यापक), ख्वप ई.कलेज
कसै–कसैले औषधिको रूपमा चिन्ने गरेको ‘विषादी’ को विस्तृत अर्थ कीटनाशक, ढुसीनाशक, झारनाशक गर्ने रासायनिक यौगिक वा पदार्थलाई बुझ्न सकिन्छ । एक विषादीले मानवलगायत कुनै पनि लक्षित नगरिएको जन्तु वा वनस्पतिलाई नकारात्मक असर नगरिकन लक्षित शत्रुजीव (target pests) लाई मात्र सखाप पार्नुपर्दछ । तर, यथार्थमा विषादीहरू केही सुधारिएको भेटिए तापनि कुनै आदर्श वा पूर्ण भएको पाइँदैन । नेपालको इतिहासमा पहिलोपटक प्रयोग भएको विषादी डी.डी.टी (Dichloro diphenyl trichloro ethane) हो भने पाइरथ्रम (Pyrethrum) संयुक्त राज्य अमेरिकाबाट गण्डकी हाइड्रो परियोजनको लागि ल्याइएको थियो । विषादी प्रयोगको औपचारिक सुरूवात भने सन् १९५५ मा तत्कालीन नेपालको सरकारले डी.डी.टी. खरिद गरेर भएको थियो ।
सन् १९५५ मा पेरिस ग्रिन (Paris green), गामाक्सीन
(Gamaxene) र निकोटिन सल्फेट (Nicotine Sulphate) खरिदको प्रक्रिया सुरू गरिएको थियो । यिनीहरू सबैजसो यू.एस. एजेन्सी (US Agency) मार्फत सरूवा रोग नियन्त्रणको लागि प्रयोगमा ल्याइएको थियो । नेपालमा आम मानिसहरूले प्रयोग गर्ने विधि र त्यसबाट आइपर्ने जोखिमको जानकारीविना नै खेतीपातीमा विषादी प्रयोग गर्न थाले ।
विगतमा धेरै वर्षसम्म विषादीको प्रयोग कुनै नियम कानुनविना नै चलिरहेको थियो । यसै समयमा विश्वको शिलशिला हेर्दा ¥याचलकार्सनको सन् १९६२ मा भएको ‘साइलेन्ट स्प्रिङ्ग’ (Silent Spring) नामक पुस्तकको प्रकाशनपछि मात्र यिनीहरूले वातावरण र मानव संसारमा पार्ने असरको सम्बन्धमा विश्वको चासो सुरू भयो । विश्व स्वास्थ्य सङ्गठन (WHO) को विभिन्न समयमा निकालेका प्रतिवेदनअनुसार लाखौँ किसानहरू विषादीजन्य विषाक्ततता (Pesticide Poisoning) को शिकार बन्ने गरेका छन् । यसमा चाखलाग्दो कुरा के छ भने विकसित देशहरूमा प्रयोग हुने विषादीको मात्र तुलनात्मक रूपमा धेरै बढी हुन्छ र पनि नेपालजस्ता विकासशील देशहरूमा विषाक्ततताको शिकार धेरै भएको विभिन्न तथ्याङ्कहरूले देखाउँछन् । यसले विषादी प्रयोगमा विशेषगरी प्रयोगकर्ताको कारणले हुने गम्भीर त्रुटीतिर सङ्केत गर्दछ । “थोरै विषादी प्रयोग गर्दा नै राम्रो काम गर्छ भने धेरै प्रयोग गरे अझै राम्रो हुन्छ” भन्ने भनाइलाई विश्वास गर्दा हुने अत्यधिक प्रयोगले मानवलगायत अन्य जीव र वातावरणमा नकारात्मक असर परेको छ । यस्ता रासायनिक यौगिकहरूको दुरूपयोग र अत्यधिक प्रयोग दुवै अवस्थामा समस्या हुनसक्छन् । अझै बढी समस्या त विषादीको दीर्घकालीन समस्या नदेख्दा वा नबुभ्mदा हुन्छ ।
खाद्यपदार्थको गुण र मात्रा दुवैलाई शत्रुजीवको आक्रमणको कारण ठूलो असर पारेको हुन्छ । विषादीको कृषि उपज बढाउनमा प्रमुख भूमिका हुन्छ । बालीनालीमा लाग्ने रोगको रोकथाम खाद्य उत्पादनमा वृद्धि र अन्ततः पेशाबाट हुने नाफामा वृद्धिलाई विषादीको प्रयोगबाट हुने मुख्य फाइदाको रूपमा लिन सकिन्छ । यस्ता रसायनहरूले गोडमेल खर्च र शत्रुजीवलाई हातैले हटाउँदा लाग्ने खर्च कम गरेर नाफा बढाउन मद्दत गरेको हुन्छ । यिनीहरूको प्रयोग नआएको भए किसानले आफ्नो खेतीबाट धेरै खालका बिरूवा, फलफूल र सागपातहरू प्रत्येक वर्ष गुमाउँदै गएका हुन्थे । अझ तिनीहरूले बिरूवा उत्पादन गर्नका लागि चाहिने कति बीउ नै गुमाउनुपर्ने हुन्थ्यो । अर्कोतिर विषादी प्रयोगले प्राकृतिक वनस्पति चक्र खलबल्याउँछ । माटोमा पोषण तत्वको असन्तुलन, हावामा प्रदूषण, पानीमा प्रदूषणलगायतले मानव अनि अरू जनावरमा विभिन्न रोगहरू निम्त्याउँछ । यू.एन. (UN) को खाद्य तथा प्रदूषण विज्ञहरूका अनुसार तीव्ररूपमा बढ्दो जनसङ्ख्यालाई खाद्यपदार्थ पर्याप्त हुनको लागि विषादी आवश्यकता हुन्छ भन्ने धारणा मिथ्यामात्र हो । यसैबेला सम्बन्धित उद्योगहरू अहिले भइरहेका प्रयोगलाई नियतवश गरिएको दुरूपयोग हो भन्दै दोष जति उपभोगकर्तामा थुपार्न खोज्दछन् । उपभोक्तालाई बचाउन विषादी प्रयोगको चक्रभर, उत्पादकहरूमा धेरै उत्तरदायित्व रहेको हुन्छ ।
रासायनिक विषादी सर्वत्र प्रयोग भइरहेको सन्दर्भमा नेपालमा यिनीहरूको प्रयोग तरकारी, तोरी र सुर्ती खेतीमा बढी केन्द्रित छ भने भौगोलिक दृष्टिकोणको आधारमा हेर्दा तराई क्षेत्र, काठमाडौं उपत्यका र यसको आसपासका क्षेत्रहरूमा अत्यधिक प्रयोग भइरहेको विभिन्न तथ्याङ्कहरूले देखाएका छन् । यी क्षेत्रहरूमा व्यवसायिक प्रचुर मात्रामा खनिज तथा भिटामिन पाइने भएकाले यी चिजहरू स्वस्थ भोजका मुख्य अङ्ग हुन् । तरकारी खेतीमा बढी रोग र कीराको सङ्क्रमण हुने कारणले नेपाल र भारतजस्ता विकासशील देशका विभिन्न ठाउँहरूमा तरकारी बालीमा नै अत्यधिक विषादी प्रयोग गरिएको हुनुपर्छ । तर, उपभोक्ताहरूको चाहना भने दाग नलागेका सागपात, तरकारी नै खाउँ भन्ने हुन्छ ।
विगतमा कृषिमा आत्मनिर्भर रहेको भक्तपुरमा हाल तरकारी उत्पादनमा व्यवसायीकरण भएको छ । यस जिल्लामा उत्पादित तरकारी केही स्थानीय बजारमा खपत हुन्छ त केही उपत्यकाका साना–साना बजारमा जान्छन् भने बाँकी कालिमाटी बजारमा बिक्री वितरण भइरहेको छ । भक्तपुरमा गरिएका केही सर्वेक्षणहरूलाई हेर्दा विषादीको लापरबाही र जोखिमपूर्ण रूपमा गरिने गलत प्रयोगका कारण जनमानसमा चिन्ता फैलिएको छ । प्रायः किसानहरूले अन्जानमा यसो गरिरहेका छन् । उनीहरूलाई प्रयोग गर्ने विधि र अन्य कुराको राम्रो जानकारी छैन । धेरैले अरूको बारेमा सोच्न चाहँदैनन् र आफ्नो फाइदा (Profit) मात्र बढी सोच्ने गरेको पाइन्छ । यो कुरामा विषादी प्रयोगपश्चात् पर्खने समय (Waiting Period) मा देखाइएको लापरबाही र बाँकी रहेको विषादी वा विषादीको खाली भाँडा यत्रतत्र फ्याकिएको देख्दा बढी स्पस्ट भएको छ । त्यस्तै रासायनिक विषादीको अत्यधिक प्रयोग र दुरूपयोग गरेकाले लापरबाहीको सीमा नाघेको बुझिन्छ । भक्तपुरका तरकारी खेती हुने प्रमुख क्षेत्रहरूमा भएको अध्ययनअनुसार असाक्षर वा कम पढेका र वृद्धा अवस्थातिर लागेका किसानहरू बढी सङ्ख्यामा तरकारी खेतीमा संलग्न रहेका छन् । समग्रमा भन्ने हो भने तरकारी खेती वा कृषिलाई नै प्रायःकिसानहरूले दोस्रो वा वैकल्पिक पेशाको रूपमा मात्र लिएको पाइन्छ । एक सर्वेक्षणमा १२३ सहभागीमा ७८ प्रतिशत सहभागीहरू पूर्ण असाक्षर वा ८ कक्षाभन्दा कम पढेका थिए । त्यस्तै ९० प्रतिशतले आफ्नो नजीक स्थानीय बजारमा उपलब्ध पसलहरूबाट पसलेको सल्लाहमा नै विषादी किनेको भेटियो ।
समाजमा लिङ्गको आधारमा विभाजन गरेको कामको बाँडफाँटले पुरूषले के गर्ने र महिलाले के गर्ने भन्ने कुरा निर्धारण गर्दछ । तिनीहरूले भिन्न भूमिकाको कारणले गर्दा फरक खालको सांस्कृतिक, भौतिक र आर्थिक बाध्यताको सामना गर्नुपर्दछ । परम्परागत समाजमा व्यवसायिक कृषि प्रायःपुरूषको नेतृत्वमा सञ्चालन गरेको पाइन्छ । पुरूषले जमिन खनजोत गर्छन्, सिँचाइ गर्छन्, खेती भित्याउँछन् र उत्पादनलाई बजारसम्म पु¥याउँछन् । त्यस्तै पुरूषहरु कस्तो विषादी किन्ने हो त्यसको निर्णय गरी किनेर ल्याउँछन् । महिलाहरूको मुख्य भूमिका भनेको घरायसी नै रहन्छ । उनीहरूले प्रत्येक काममा पुरूषलाई सघाउने गर्दछन् र थप जिम्मेवारी भान्सा र बच्चा हुर्काउने हुन्छ । यसो गर्दा पुरूषभन्दा महिलालाई विषादीकोexposure बढी हुनाले असर पनि बढी भएको पाइएको छ ।
विज्ञहरूका अनुसार सुरक्षित विषादी प्रयोगको बारेमा प्रयोगकर्तालाई विशेष शैक्षिक कार्यक्रमहरू प्रभावकारी ढङ्गबाट दिइराख्नुपर्दछ । यसो गर्नाले विषादीको असर स्वाट्टै घटाउन सकिन्छ ।
त्यस्तै ग्रामीण समुदायमा बसोबास क्षेत्र नजीक, स्कूल र खेल मैदान नजीक विषादी प्रयोग गर्न नदिई समुदायमा पर्ने असर कम गर्न सकिन्छ । विषादीको विकल्पमा पत्ता लगाइएका तरिकाहरू अपनाउनुपर्दछ । अन्तमा कृषिमा एक बाली प्रविधि (Monoculture Technology )नगर्नु पनि शत्रुजीवहरूबाट जोगिने अर्को राम्रो उपाय पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *