भर्खरै :

‘विश्वका क्रान्तिकारी महिलाहरू’ पुस्तक सार्वजनिक

काठमाडाँै, २४ फागुन । १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले विभिन्न देशका क्रान्तिकारी महिलाहरूका जीवनीको सङ्कलन ‘विश्वका क्रान्तिकारी महिलाहरू’ सार्वजनिक गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेंले केही मानिसले चाहँदैमा समाजमा परिवर्तन पनि नहुने र बिगार्दैमा समाज नबिग्रने बताउनुभयो ।
उहाँले आफ्नो देशका सबै कुरालाई आँखा चिम्लेर समर्थन गर्ने विचार अन्धराष्ट्रवादी भएको विचार राख्दै अन्धराष्ट्रवाद र सङ्कीर्ण राष्ट्रवादले सही निष्कर्षमा नपुग्ने बताउनुभयो ।
सार्वजनिक पुस्तकमा सङ्कलित महिलाहरूको जीवनीबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले क्रान्तिकारी महिलाहरूका त्याग र बलिदानबाट नयाँ पुस्ताका महिलाहरूले सिक्नुपर्नेमा जोड दिनुभयो ।
अमेरिकी पत्रकार अन्ना लुइस स्ट्रङको बलिदानीपूर्ण जीवनबारे प्रकाश पार्दै उहाँले भन्नुभयो, “अमेरिकाको सुखसयल त्यागेर अन्नाले चीनको विकट येनान क्षेत्र जाने बाटो रोज्नुभयो । झिलिमिलीको जीवनभन्दा उहाँले न्यायको लागि लडिरहेका चिनियाँ जनताको सङ्घर्षमा होमिएकोमा आत्मसन्तोष पाउनुभयो ।”
कार्यक्रममा प्राध्यापक समाजका सहसचिव तथा ख्वप इन्जिनियरिङ कलेजका प्रिन्सिपल ई. सुजन माकले अन्ना लुइस स्ट्रङ, इन्जिनियर समाजका उपाध्यक्ष ई.नरेश खत्रीले जेनी माक्र्स र इन्जिनियर समाजका सदस्य तथा ख्वप कलेज अफ इन्जिनियरिङका प्रिन्सिपल ई. सुनिल दुवालले रोजा लक्जम्वर्गको जीवनीबारे स्लाइड प्रस्तुति गर्नुभयो ।
नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैंया सुवालको सभापतित्वमा भएको कार्यक्रममा सङ्घका कान्ति अवा र रोशनमैंया सुवालले पनि बोल्नुभएको थियो ।
समाजवादी क्रान्तिले मात्र महिला मुक्ति हुने
“संसारको सबै क्रान्तिले महिला मुक्ति गर्नसकेन । तर, रूसको समाजवादी क्रान्तिले मात्र साँचो अर्थमा महिला मुक्त गर्नसक्यो ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको आयोजनामा शुक्रबार ख्वप इन्जिनियिरिङ कलेजमा भएको प्रवचन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
“शिक्षकले विद्यार्थीलाई विचार दिने भएकोले शिक्षकहरूलाई राजनीतिक सङ्गठनमा आबद्ध गर्नु आवश्यक छ । राजनीतिक कार्यकर्ताहरूले शिक्षकहरूलाई सङ्गठनमा आबद्ध गर्ने भूमिका निर्वाह गर्नुपर्छ । शिक्षकहरूले पनि राजनीतिप्रति चासो लिई अगाडि बढ्नु आवश्यक छ ।” अध्यक्ष रोहितले भन्नुभयो ।
पुँजीवादी अदालतले मजदुर–किसानको पक्षमा फैसला नगर्ने विचार राख्दै उहाँले क्रान्तिको अनुकूल परिस्थिति तयार नभएसम्म क्रान्ति सफल नहुने बताउनुभयो ।
रवीन्द्रनाथ टैगोरले सोभियत सङ्घमा आफूले गरेको भ्रमणबारे आफ्नो देशसँग तुलना गरेर लेखिएको साहित्य उत्कृष्ट रहेको चर्चा गर्दै उहाँले कुनै पनि देशको इतिहास र साहित्य अध्ययन गर्दा त्यस देशको समाज र विश्व घटनाक्रमलाई तुलना गरेर अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीको भाषा तथा पढाइ राम्रो बनाउन शिक्षकले प्राथमिक तहदेखि नै मेहनत गर्नुपर्छ । नगरपालिकाले शिक्षकहरूलाई तालिम दिई योग्य बनाउनुपर्छ । तालिम प्राप्त शिक्षकहरूलाई मात्र पढाउन दिने व्यवस्था गर्नुपर्छ । यसो गर्न सके सक्षम नयाँ पुस्ता तयार हुनुको साथै समाजको सेवा हुनेछ ।”
विभिन्न देशका साहित्य र क्रान्तिबारे अध्ययन गरी नियमितरूपमा छलफल र समीक्षात्मक कार्यक्रम राख्न सके हाम्रो सांस्कृतिक स्तर विकास हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
समानताका नाममा ज्वाइँ र भाञ्जाभाञ्जीलाई देशको नागरिकता दिए देशको लागि घातक हुने दोहो¥याउँदै अध्यक्ष रोहितले नेपाल–भारत सीमा बन्द गर्नुपर्नेमा बुद्धिजीवीहरूको जोडदार मत रहेको चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले महिलाहरूको ज्याला वृद्धि, कामको समय घटाउन र मताधिकारको लागि भएको आन्दोलनको स्मरणमा कार्यक्रमको आयोजना गर्नु सकारात्मक भएको बताउनुभयो ।
संविधानमा महिला र पुरूषबीच समानता उल्लेख भए पनि व्यवहारमा नभएको स्पष्ट पार्दै प्रमुख प्रजापतिले भन्नुभयो, “महिला र पुरूषलाई शत्रुको रूपमा हेर्नु त्रुटिपूर्ण छ । समाजमा लैङ्गिक समस्या होइन वर्गीय समस्या छ । महिला मुक्ति वर्गीय मुक्तिको रूपमा अगाडि बढ्नुपर्छ ।”
नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको सर्वोच्च पदमा महिला पुगे पनि महिलाको स्थितिमा परिवर्तन नआउनु पुँजीवादी व्यवस्थाकै दोष हो, उहाँले भन्नुभयो ।
महिलाको प्रतिनिधित्वले मात्र समाजमा आमूल परिवर्तन नहुने स्पष्ट पार्दै प्रमुख प्रजापतिले वर्गीय प्रतिनिधित्वले मात्र समाजमा परिवर्तन ल्याउन सकिने धारणा राख्नुभयो ।
राजनीतिक पार्टीमा महिलाको सहभागिता ३३ प्रतिशत हुनुपर्ने संवैधानिक प्रावधान भए पनि सिद्धान्त र दर्शन नबुझ्दा समस्या भएको उल्लेख गर्दै उहाँले आरक्षणको व्यवस्था सधैँको लागि गर्न नहुने र आरक्षणले प्रतिस्पर्धाको भावना कम गराउने बताउनुभयो ।
पैसाको लागि आफ्नो शरिर बेच्नुपर्ने बाध्यता राज्यले नै सृजना गरेको चर्चा गर्दै उहाँले महिला हिंसाजस्ता जघन्य अपराध गर्ने अपराधीहरूलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका सभापति, कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले छाउपडी र दाइजोको अन्त्य नहुनु तथा निर्मला पन्तको बलात्कारपछि हत्याका अभियुक्तहरूलाई हालसम्म पनि दण्ड दिन नसक्नुले महिला दिवसलाई उत्सवको रूपमा मनाउन नसकिने बताउनुभयो ।
महिला–बालबालिकासम्बन्धी अपराध ७५ प्रतिशतले वृद्धि हुनु कम्युनिष्ट भनिने सरकारप्रति व्यङ्गय हो, उहाँले भन्नुभयो ।
महिलाहरूको सहभागिता सङ्ख्यात्मक भन्दा गुणात्मक हुनुपर्ने आवश्यकता औँल्याउँदै उपप्रमुख जोशीले कसैको सिफारिसमा होइन आफ्नै सक्षमतामा महिला अगाडि बढ्न सक्नुपर्नेमा जोड दिनुभयो ।
सभ्य र सुसंस्कृत समाज निर्माणमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले ज्ञानको ज्योतिले मात्र समाजलाई अगाडि बढाउन सकिने विचार राख्नुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले सोभियत क्रान्तिपछि सोभियत सरकारले महिला र पुरूषको भेद पूर्णरूपमा अन्त्य गरेको उल्लेख गर्दै समाजमा व्यक्तिगत सम्पत्तिको उदयपछि पितृसत्तात्मक समाज उदय भएको र शोषणको सुरूवात भएको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरका प्राचार्य सुनिल दुवालले अन्तर्राष्ट्रिय महिला नेतृ क्लारा जेटकिन, अन्ना लुइस स्ट्रङ र महिला मुक्तिको बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापति र विभागीय प्रमुख लिवास फैजूले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका शिक्षिका प्रभा प्रजापतिले हाडसम्बन्धी रोग ‘अष्टिओपोरोसिस’ र ख्वप माविका शिक्षिका सुशमा सापकोटाले ‘आमा’ उपन्यास र उपन्यासको मुख्य पात्र ‘आमा’ बारे प्रस्तुति गर्नुभएको थियो ।
प्रभात स्कूलमा प्रवचन कार्यक्रम
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रभात इ. सेकेण्डरी स्कूलमा शुक्रबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले महिला र पुरूष समाजका दुई पाङ्ग्रा भएको चर्चा गर्दैै परिवार र निजी सम्पत्तिको उत्पत्तिसँगै समाज धनी र गरिब वर्गमा विभाजित भएको र महिलामाथि विभेद बढेको बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा महिलाको सम्मान र प्रतिष्ठा नहुने उल्लेख गर्दै उहाँले नेपाली महिलाहरू पनि घरेलु कामदारको रूपमा खाडी मुलुकमा अपमानित जीवन बिताइरहन बाध्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादको उत्पतिसँगै मजदुर वर्गलाई पशुजस्तै व्यवहार गरियो । यसको विरूद्ध मजदुरहरूले निरन्तर आन्दोलन गरे । मजदुर वर्गलाई मताधिकार पनि थिएन । यसकारण मजदुर वर्गले ज्याला बढाउने, कामको समय घटाउनेलगायत मताधिकारको माग राखी आन्दोलन गरेको थियो ।”
जर्मनीका समाजवादी महिला नेतृ क्लारा जेटकिनले सन् १९१० को दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनमा ८ मार्चको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राख्नुभएको सचिव सुवालले स्मरण गराउनुभयो ।
सोभियत सङ्घको विघटनपछि रूसमा पनि महिलाहरू शरिर बेच्न बाध्य भएको घटनाको चर्चा गर्दै उहाँले समाजवादी राज्य व्यवस्थामा महिलाहरूको इज्जत प्रतिष्ठित हुने बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, ”दक्षिण अफ्रिकाको विश्व कप खेलकुदमा युरोपका प्रमाणपत्र भएका शरिर बेच्ने महिलाहरू ४० हजार गएको समाचार प्रकाशित भएको थियो । यसले पनि पुँजीवादी देशमा महिला सम्मानित नहुने पुष्टि गर्छ ।”
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले अन्तर्राष्ट्रवादी पत्रकार अन्ना लुइस स्ट्रङजस्ता नेतृहरूको जीवनीबाट प्रेरणा पाएर अगाडि बढ्न सकेमात्र साँचो अर्थमा उहाँप्रति सम्मान हुने धारणा राख्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले क्रान्तिकारी महिला नेतृ क्लारा जेटकिनको जीवनीबारे बोल्दै उहाँले पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
इन्जिनियर समाजका उपाध्यक्ष नरेश खत्रीले समाजवादी व्यवस्थामा मात्र साँचो अर्थमा समानता हुने उल्लेख गर्दै जेनी माक्र्सको जीवनीबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णबहादुर प्रजापति, शिक्षिकाहरू मीरा दुगुजू, जगतलक्ष्मी पहिजू र चण्डेश्वरी किसीले पनि बोल्नुभएको थियो ।
दैलेखमा १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ दैलेख जिल्ला समितिको आयोजनामा शुक्रबार माथिल्लो डुङ्गेश्वरमा जनसभा सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले पुँजीवादी व्यवस्थामा सरकार कमिसन र भ्रष्टाचारमा अलमलिने भएकोले श्रमिक महिलाले मुक्ति नपाउने हुँदा नेमकिपाले वर्गीय राजनीतिको माध्यमद्वारा कामदार वर्गलाई सचेत र सङ्गठित गर्दै आएको बताउनुभयो ।
नेकपाको सरकार अपराधीहरूलाई संरक्षण गर्ने जनविरोधी सरकार भएको र सरकारको क्रियाकलापबाट कामदार जनतामाथि घात भइरहेको चर्चा गर्दै उहाँले सचेत नागरिकले नक्कली कम्युनिष्टविरूद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नारी दिवसको नाउँमा अन्य राजनीतिक दलका महिला सङ्गठनहरूले महिलाहरूको वास्तविक मुद्दालाई ओझेल पार्न सतही तथा बोक्रे कुरा गरेर जनतालाई झुक्याउने काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एउटा मानिसले अर्को मानिसलाई शोषण गर्न नपाउने बन्दोबस्तको लागि समाजवादी व्यवस्था स्थापना गर्नु जरूरी छ । राज्यको प्रमुख पदमा महिला पुग्दैमा महिला मुक्ति हुनेछैन । कामदार महिलाहरू राजनीतिकरूपले सचेत र सङ्गठित हुन जरूरी छ ।”
नेमकिपाका अर्का केन्द्रीय सदस्य नर्मा गुरूङले महिलाहरू राजनीतिकरूपले सचेत र सङ्गठित नभएसम्म शोषकहरूले दबाइराख्ने भएकाले वर्गसङ्घर्षलाई कामदार महिलाको पक्षमा अगाडि बढाउनु जरूरी रहेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सदस्य सृजना सैंजूले पुँजीवादले महिलालाई शोकेसमा राखेर बेच्ने वस्तुजस्तै बनाउने भएकोले वर्गीय शोषण र पुँजीवादी व्यवस्थालाई ध्वस्त पार्नुपर्ने बताउनुभयो ।
सरकारले जनतालाई शोषण गरिरहेको हुँदा कम्युनिष्ट नामधारी संशोधनवादीलाई परास्त गर्नु जरूरी रहेको उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कुमारीरूमा गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा दैलेखका निरकबहादुर शाही, जगत ओली, नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटा, नेक्रामसङ्घ दैलेखका खगीसरा रेग्मी, तुल्सीकुमारी कठायतलगायतले बोल्नुभएको थियो ।
डुङ्गेश्वर पुलदेखि पीपल चौतारीसम्म भएको ¥याली सभामा परिणत भएको थियो ।
वागीश्वरीमा शिक्षक सङ्घले मनाए श्रमिक महिला दिवस
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वागीश्वरी एकाइ समितिको आयोजनामा शुक्रबार सम्पन्न १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रवचन कार्यक्रम भएको छ ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य गङ्गा वैद्यले पुरुष र महिलामा भएको पितृसत्तात्मक सोचका कारण महिलाहरू पछाडि परेको हो भन्नुभयो ।
शताब्दी अगाडि क्लारा जेटकिनलगायतका महिला नेतृहरूले महिलालाई मताधिकार र दैनिक ८ घण्टा कामका लागि गरेको सङ्घर्षले नै आज महिलाहरू अगाडि बढेको बताउँदै उहाँले महिलाहरू राजनैतिक रूपले सचेत र सङ्गठित हुन आवश्यक छ भन्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले समाजमा व्याप्त छुवाछूत, धामी झाँक्रीलगायतका अन्धविश्वासलाई छोड्दै जानुपर्ने आवश्यकता औँल्याउँदै समाजलाई अगाडि बढाउन कुसंस्कारलाई परिवर्तन गर्नुपर्छ भन्नुभयो ।
२०४५ सालमा राज्यस्तरबाट रचिएको भक्तपुर काण्डमा भएको प्रहरी दमनविरुद्ध महिलाहरूले गरेको आन्दोलनको प्रसङ्ग जोड्दै उहाँले महिलाहरू पनि एउटा शक्ति हो, महिलाहरूले पनि समाज परिवर्तन गर्नसक्छन् भन्नुभयो ।
नेक्राशिसङ्घका प्रतिनिधि अम्बिका न्याइच्याईले भक्तपुरमा २०३९ सालदेखि नै प्रौढ कक्षा, साक्षरता कक्षा सञ्चालन गरेको प्रसङ्ग जोड्दै उहाँले संसारको आधा आकाश ढाकेका महिलाहरूलाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा अगाडि बढाउन शिक्षा अत्यावश्यक छ भन्नुभयो ।
उत्पादनका साधनमाथिको स्वामित्वले समाजको संस्कार र संस्कृति निर्धारण हुने कार्ल माक्र्सको भनाइलाई उद्धृत गर्दै उहाँले समाजको सांस्कृतिक स्तर माथि उकास्न उत्पादनका साधनमाथिको स्वामित्वका लागि श्रमिक महिलाहरू सङ्गठित हुनुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष विश्वेश्वर मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा शिक्षिकाहरू मैयाकेशरी कोजू, कृष्णमाया गोसाई, सिर्जना पन्थ, श्रीया पहिजु, जुना प्रजापति, रामलक्ष्मी अवाललगायतले बोल्नुभएको थियो ।
कैलालीमा महिला प्रशिक्षण
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार कैलालीमा महिला प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्थाले नै महिला र पुरुषबीच समानता स्थापना गर्नसक्ने धारणा राख्दै पुँजीवादी व्यवस्थाले महिलामाथि अझ बढी शोषण गर्ने विचार राख्नुभयो । उहाँले काम गरी खाने वर्गको स्वर्ग समाजवादी स्थापनापछि मात्र व्यापक श्रमिक महिलाको हित हुने भएकोले महिला आन्दोलनलाई समाजवादी आन्दोलनसँग जोड्नुपर्ने बताउनुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले कुनै पनि काम गर्दा वा सङ्गठनमा लाग्दा कसैको लहैलहैमा लाग्नुभन्दा पनि बुझेर लाग्नु उचित हुने धारणा राख्नुभयो । श्रमिक महिलाहरू आफ्नै वर्गको पार्टीमा लाग्नुपर्ने विचार राख्दै उहाँले शोषक वर्गको पार्टीमा लागेर कामदार जनताको हित हुननसक्ने बताउनुभयो । नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर तारामीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको इतिहासबारे प्रकाश पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली जिल्ला समितिका अध्यक्ष लक्ष्मी पुनको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ कैलाली जिल्ला समितिका अध्यक्ष गजबहादुर दर्लामी, नेक्राशिसङ्घका सदस्य रत्ना रावल, दुर्गा बुढालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *