भर्खरै :

अन्तर्राष्ट्रिय महिला दिवस

इरिना मालेन्कोभ (Irina Malenkov)
औद्योगिक देशहरूमा सन् १९०० को दसकदेखि महिला दिवस मनाउन थालेको हो । अन्तर्राष्ट्रिय महिला दिवसका केही ऐतिहासिक पृष्ठभूमि यसप्रकार छन् ः–
सन् १९०८ मा ज्याला वृद्धि, काम गर्ने समय घटाउने, मत दिने र राख्ने अधिकार आदि विषयमा महिलाहरूबीच चर्चाको विषय बन्यो । महिला आन्दोलन र आवाजमाथि भएको दमन, अन्याय र शोषणले गर्दा उनीहरूको एकतामा थप बल मिल्यो । परिणामत १९०८ मा न्युयोर्क सहरमा मात्र १५ हजार महिलाहरूको बृहत् प्रदर्शन भयो । ८ घण्टाको काम, समान ज्याला, मताधिकार त्यस आन्दोलनको माग थियो ।
सन् १९०९ मा अमेरिकी समाजवादी पार्टी (Socialist Party of USA) ले घोषणा गरेअनुसार सन् १९०९ देखि अमेरिकामा राष्ट्रिय महिला दिवस (National Women’s Day–NWD) मनाउन सुरू गरियो । संयुक्त राज्य अमेरिकाभरि यो दिवस फेब्रुअरी २८ को दिन मनाउने चलन थियो । यो चलन सन् १९१३ फेब्रुअरीसम्म रह्यो ।
सन् १९१० मा अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनमा महिला दिवसलाई अन्तर्राष्ट्रियस्वरूप दिने निर्णय भयो । यद्यपि कुनै निश्चित दिन भने तोकिएको थिएन । सम्पूर्ण विश्वका महिलाहरूले मत दिने अधिकार पाउनको लागि, महिला अधिकार आन्दोलनको निम्ति अन्तर्राष्ट्रिय महिला दिवसको प्रस्ताव ल्याएका थिए । लगभग १७ देशका १०० महिलाहरूले सो अन्तर्राष्ट्रिय सम्मेलनबाट उक्त प्रस्तावलाई सर्वसम्मतिले पारित गरे । त्यसमध्येका ३ महिलालाई फिनल्याण्डको संसदले प्रथम महिलाको दर्जाबाट सम्मान ग¥यो ।
सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय सर्वप्रथम अष्ट्रिया, डेनमार्क, जर्मनी र स्वीजरल्याण्डमा कार्यान्वयन भयो । ती देशहरूले मार्च १९ का दिन सर्वप्रथम महिला दिवस मनाएका थिए । लाखौं महिला तथा पुरूषहरूले सो प्रदर्शनीमा भाग लिएका थिए । महिलाहरूको काम गर्ने अधिकार, दक्ष बन्ने अधिकार, मत दिने अधिकार, ठूल–ठूला पदमा छानिने अधिकार पाउन र सम्पूर्णखाले भेदभावको विरोधमा मार्च १९ मा ठूलो प्रदर्शन भयो । त्यसको अर्को हप्ता मार्च २५ का दिन न्युयोर्कको एक कारखानामा भयानक आगलागी (Triangle Fire) भयो । १४० जना इटाली र यहुदी महिला मजदुरहरूले सो दुर्घटनामा परी जीवन गुमाउनुप¥यो । यस घटनाले राम्रो काम गर्ने वातावरणको मागप्रति सबै जनताको ध्यान आकृष्ट भयो । संयुक्त राज्य अमेरिकाको श्रम मन्त्रालयको कुर्सी हल्लिन थाल्यो र संसारका महिलाहरूको माग त्यसप्रति केन्द्रित भयो ।
सन् १९१३–१९१४ मा प्रथम विश्वयुद्धको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय महिला दिवस विश्व शान्तिको आह्वान गर्दै मनाइयो । सन् १९१४ मा युरोपभरिका महिलाहरूले युद्धविरोधी सङ्घर्षमा ऐक्यबद्धता जाहेर गरे ।
सन् १९१८–१९९९ मा समाजवादी आन्दोलनमा अन्तर्राष्ट्रिय महिला दिवसको महत्व संसारमा बढ्दै गयो, विकसित देशमा होस् वा विकासोन्मुख देशमा संसारभरि मान्यता प्राप्त हुँदै गयो । अन्तर्राष्ट्रिय महिला सङ्घ (IWR) झन् झन् बलियो हुँदै गयो । संयुक्त राष्ट्र सङ्घले पनि प्रत्येक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना ग¥यो । सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा महिला सहभागिताको निम्ति यस सम्मेलनले टेवा पु¥याउँदै गयो । संयुक्त राष्ट्र सङ्घले सन् १९७५ लाई ‘अन्तर्राष्ट्रिय महिला वर्ष’ को घोषणा ग¥यो । विभिन्न देशका सरकार र महिला सङ्गठनहरूले मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउँदै आएका छन् । यो दिनले महिला आन्दोलनको उपलब्धि र सफलतालाई जनाउँछ । त्यस्तै जीवनका हरेक क्षेत्रमा महिला अधिकार र समानताको लागि गर्न बाँकी सङ्घर्षबारे सचेतता गराइँदै छ ।
२०००–२००७ मा अन्तर्राष्ट्रिय महिला दिवसको दिन विभिन्न देशहरूमा सार्वजनिक बिदाको व्यवस्था गरिएको छ । (नेपालमा पनि यो २००७ देखि यस दिन सबै महिलाहरूलाई (निजी क्षेत्रमा काम गर्ने महिलाहरूलाई पनि) सार्वजनिक बिदा दिने घोषणा गरिएको छ । –सं.) अरमानिया, रसिया, अजरबैजान, बेलारूस, बुल्गेरिया, कजाकस्तान, किर्गिस्तान, मेडोनिया, मोलदोभा (Moldova), मंगोलिया, ताजकिस्तान, युक्रेन, उजबेकिस्तान र भियतनाम आदि देशहरूमा यो दिन सार्वजनिक बिदा हुन्छ । कति देशहरूमा यो दिन पुरूषहरूले आफ्ना आमा, जहान, साथी, महिला साथीहरू वा महिलाहरूलाई फूलको गुच्छा र उपहार दिने चलन पनि देखिन्छ ।
सन् १९९९ मा मैले पहिलोपटक विदेशमा अन्तर्राष्ट्रिय महिला दिवस मनाएँ । त्यतिबेला म नेदरल्याण्डमा विद्यार्थीहरूको कार्यक्रममा थिएँ । हामी तीन महिलासहित चार जना थियौँ । सोभियत रूसको परम्पराअनुसार पुरूष साथीले हामीलाई त्यो दिन फूलको उपहार दिए । त्यसैबेला हामीसँग डलर र स्टर्लिङ्ग पाउण्डजस्ता मुद्रा (Hard Currency) थिएन । डच साथीहरू यो देखेर अचम्ममा परे । मार्च ८ को सन्दर्भको दिन हो भन्नेबारे उनीहरूलाई जानकारी नै रहेनछ ।
नेदरल्याण्डमा अन्तर्राष्ट्रिय महिला दिवसको दिन सार्वजनिक बिदा नहुनुमात्र होइन जनतालाई यसबारे कुनै जानकारी नै थिएन । अनौठो कुरा त के थियो भने नेदरल्याण्ड सबभन्दा बढी महिलावादी देश हो । महिला दिवसलाई ‘रूसी बोल्शेविकहरू’ ले आविष्कार गरेका होइनन् बरू संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको थियो । त्यसको अर्थ समाजमा महिलाहरूले गरेको ठूलो योगदान र सफलतालाई मनाएको हो ।
रूसबाट गएका हामी चार जनाले नेदरल्याण्डका साथीहरूलाई अन्तर्राष्ट्रिय महिला दिवसबारे बुझाउन खोज्यौँ तर सकेनौँ । अन्तमा उनीहरूले भने,“त्यसो भए अन्तर्राष्ट्रिय महिला दिवस भनेको आमाको मुख हेर्ने दिनजस्तै रहेछ हगि ?” हामीले भन्यौँ,“हो पनि र होइन पनि ।”
यो दिनले मातृत्वलाई मात्र दर्शाउँदैन । रूसका र अन्य सङ्घर्षशील कामदार महिलाहरू आमाभन्दा बढी उच्च हुन् । जुन देशमा महिला डाक्टर, महिला प्राध्यापक, महिला इन्जिनियर, महिला प्रबन्धक आदि दुर्लभ रूपमा पाइन्छ, त्यहाँ महिला अधिकार र सङ्घर्षको दिनबारे बुझाउन गा¥हो हुनेरहेछ । तिनीहरू महिला दिवसबारे कल्पना पनि गर्नसक्दैनन् ।
मेरो निम्ति मार्च ८ सुगन्धित फूलको गुच्छाको वासनासँगै आउँछ । सोभियत रूसको बेला हामीलाई यस्तै उपहार दिने चलन थियो । विद्यालयका स–साना छात्रहरू पनि हप्ता दिन अगाडिदेखि फूल उपहार दिन तयारी गर्थे । कारखाना र कार्यालयहरूमा मार्च ८ को अघिल्लो साँझ उत्कृष्ट महिला कर्मचारीलाई पुरस्कार दिने चलन थियो । हजुरआमा, छोरी–बुहारी, श्रीमती, भाञ्जी, नातिनी आदि सबैको दिन हुन्थ्यो मार्च ८ । भोज र नाचगानको रात हुन्थ्यो, पुरूषहरू आफै साहित्यका नायकहरू जस्तै फूर्तिला र वीरहरू देखिन्थे र महिलाहरूकै टी.भी. कार्यक्रमहरू हुन्थे ।
आज पनि पुँजीवादी व्यवस्थाको रूसमा यो दिन सार्वजनिक बिदा नै छ । तर, पहिले र अहिलेमा तात्विक अन्तर छ । हालसालै मात्रको कुरा हो । म मस्कोको हवाई अड्डामा पुग्दा एक हुल महिला र केटीहरू बाटोछेउ उभिरहेको देखेँ । उनीहरू सामान्य काम गर्ने लुगामै थिए । त्यो हुलले मलाई मेरो विगतलाई सम्झायो । हामी पनि कलेज पढ्ने हुँदा त्यसरी नै सबै मिलेर काम गर्न जान बाटोछेउमा हामी ट्रक पर्खिने गथ्र्यौँ । त्यतिबेला हामी एक अर्कालाई जिस्काउँदै, हाँस्दै र रमाइलो गर्दै ट्रक कुर्ने गर्दथ्यौँ । उनीहरूलाई देख्दा मलाई त्यही क्षणको याद आयो । तर, ती केटीहरूको मुहार हाम्रोजस्तो चहकिलो थिएन । ओठमा मुस्कान थिएन । सबैजना चुपचाप थिए । ती केटीहरूको केही पर केटाहरू पनि यताउति हेर्दै थिए ।
विदेशीहरू चिल्ला गाडीमा आउँदै थिए र ती केटीहरूतिर हेर्दै मनपरेकोलाई आफ्नो गाडीमा राखेर लग्थे । अनि मैले बुझँे, ती केटीहरू वेश्यालयबाट ल्याइएका रहेछन् र ती केटाहरू ग्राहक मिलाई दिन पछाडि बसेका रहेछन् ।
रूसको आजको पुँजीवादी समाजमा महिला दिवस मनाउनुको केही अर्थ छैन । ती केटीहरू के भनेर महिला दिवस मनाउँछन् ? रूस र अरू सोभियत सङ्घबाट टुक्रिएका देशहरूमा आज महिलाहरू बजारमा बेचिने सामान बन्न बाध्य छन् । सोभियत सङ्घ पतन भएपश्चात् महिलाहरू नै पहिलो शिकार भए । महिलाहरू जागिरबाट निकालिए र ज्यालामा व्यापक कटौती भयो । आज हजारौँ युवतीहरू “धनी विदेशी केटासँग बिहे गर्ने सपना देख्छन्, परिश्रमी मोडेल हुने चाहना राख्छन् ।” रूसमा अहिले लोग्नेले श्रीमतीहरूलाई सामन्तीको बेलामा जस्तै क्रूर दुव्र्यवहार गरेको धेरै बढेको छ ।
शिशु स्याहार केन्द्रहरू तिर्न नसक्ने गरी महँगा छन् । त्यसैले धेरै आमाहरू आफ्ना नानीहरूलाई घरमै छोड्न बाध्य छन् । कतिले त स्याहार गर्न नसक्ने हुँदा नाबालक बच्चाहरूको हत्या पनि गर्ने गर्दछन् । रक्सी खाने र मादक पदार्थको लतबाट धेरै महिलाहरू ग्रसित छन् । धेरैजसो निजी कम्पनीहरूले महिला कर्मचारी भर्ना गर्दा कम्तीमा पाँच वर्षसम्म गर्भवती नहुने कबुल गराउँछन् । महिलाहरूको निम्ति आफ्ना नानीहरूलाई हुर्काउने र पढाउने ठूलो समस्या भएको छ । अहिले रूसका महिलाहरू १५ औं र १६ औं मध्यकालीन अवस्थामा छन् ।
रूस र लिथुवानियाका महिलाहरू बेल्जियममा यौनदासीको रूपमा कसरी जीवन बिताउँछन् भन्नेबारे एउटा फिल्म भर्खरै हेरेँ । ती महिलाहरूले भोग्ने पीडादायी भोगात्न्दा मलाई उनीहरूको सोचाइदेखि दुःख लाग्यो । ती यौनदासीहरू आफ्नो पेशा र आफ्नो अवस्थालाई सामान्य सपना लिँदारहेछन् । ती महिलाहरू जसका हजुरआमाहरूले नाजीविरूद्ध युद्ध गरेका थिए, जसका हजुरआमाहरू संसारकै पहिलोपटक अन्तरिक्षमा पुगेका थिए र जो मानव समाजका समान हिस्सेदारहरू थिए आज उनका नातिनीहरू वेश्या हुनु साधारण कुरा भन्ठान्छन् । ती हजुरआमाहरूमध्ये कसले यस्तो भयावह स्थितिको अपेक्षा गरेका थिए होलान् र ¤ यी सब स्थितिका जिम्मेवार गोर्भाचोभ, एल्टसिन र अहिलेका शासकहरू वा तथाकथित ‘प्रतिष्ठाका मुक्तिदाताहरू’ हुन् ।
तर, हामी सोभियत महिलाहरू साँच्चीकै भाग्यमानी छौँ । मानव इतिहासमै सबभन्दा राम्रो समाजमा हामी सोभियत महिलाहरू जन्मियौँ र जीवन बिताउने मौका पायौँ । अहिले भोगिरहेको समाजभन्दा उत्कृष्ट र शोषणरहित समाजमा हामी रहन पायौँ । विश्वका अरू देशका जनता त्यही हिजोको सोभियत समाजजस्तो समाजवादी व्यवस्थाको निम्ति लडिरहेका छन् । ती मित्रहरूले त्यो समाज त भोग्न पाएका छैनन् तर त्यसको निम्ति सङ्घर्षरत छन् । हामी रूसी जनताले त देखिसकेका छौँ र अनुभव गरिसकेका छौँ । त्यसैले त्यस्तो समाज बनाउन पक्कै सकिन्छ । आज पनि त्यो सम्भव छ । नयाँ पुस्तालाई हामीले शिक्षित बनाउँदै लग्न सक्छौँ । २१ औं शताब्दीमा अर्थपूर्ण जीवन जीउन समाजवादको निम्ति लड्न सिकाउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *