भर्खरै :

‘जापानी केन तानाकालाई विश्वकै सबैभन्दा वृद्धा’ को मान्यता

टोकियो, जापान, २५ फागुन (रासस÷एएफपी) ः आफ्नो जीवनको उत्तराद्र्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी काने तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वल्र्ड रेकर्डस्ले शनिबार जनाएको छ ।
विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको बर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिनुभएकी तानाका चार सन्तानकी आमा हुनुहुन्छ भने उहाँले पछि एक सन्तानलाई धर्मसन्तानका रूपमा संरक्षण दिनुभएको छ ।
तानाकालाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता दिएपछि उहाँ बस्दै आउनुभएको जापानको पश्चिमी फुकुओमा शहरमा नगर प्रमुख सोइचिरो ताकाशिमा तथा दर्जनौँ शुभेच्छुक भेला भै उहाँको सम्मानमा एक कार्यक्रम गरी खुशियाली मनाइएको छ । उहाँलाई एक नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको छ ।
उहाँका लागि जीवनमा सबैभन्दा सुखद् क्षण कुन रह्यो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले संक्षिप्त तर प्रष्ट स्वरमा भन्नुभयो, “अहिले ।”
सामान्यतया हरेक विहान ६ बजे उठ्ने तानाका अहिले पनि दिनभर गणितका कुरा तथा सुन्दर हस्तलेखनका लागि अभ्यास गर्नुहुन्छ । उहाँले बसेर खेल्न सक्ने खेलहरू खेल्न मन पराउनुहुने, गिनिज वल्र्ड रेकर्डसले जनाएको छ ।
विश्वका धेरै बाँच्ने मुलुकका नागरिकको जस्तै जापानीहरूको आयु पनि दीर्घ रहने गरेको पाइन्छ ।
जापानी जिरोएमोन किमुरा कानूनी रूपमा रेकर्ड गरिएका व्यक्तिमध्ये विश्वकै सवैभन्दा बढी बाँच्ने पुरूष थिए जसको मृत्यु ११६ बर्षको उमेरमा सन् २०१३ को जुनमा भएको थियो ।
गिनिज बुकका अनुसार विश्वकै सबैभन्दा बढी बाँच्ने व्यक्तिका रूपमा भने फ्रान्सकी जेन लुईस केल्मेन्ट हुनुहुन्छ जसको मृत्यु सन् १९९७ मा १२२ बर्षको उमेरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *