भर्खरै :

सिके राउतसँगको सहमति भारतको निर्देशनमा !

भक्तपुर, फागुन २५ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समिति छात्रा विभागको आयोजनामा १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुईदिने छात्रा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भारतले पाकिस्तानमा गरेको आक्रमणमा घाइते पाइलटलाई रिहाइ गरेको घटना प्रशंसनीय भएको बताउँदै विश्वमा भारत नाङ्गिदै गएको स्पष्ट पार्नुभयो ।
उहाँले नेपाल सरकार र सिके रावतबीच भएको ‘सहमति’ भारतकै निर्देशनमा भएको हुनसक्ने आशड्ढा व्यक्त गर्दै सरकार भारतको रणनीतिको चङ्गुलमा फस्दै गएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले राजनीति देश र जनताको निःस्वार्थ सेवा गर्नुभएको बताउँदै कार्यकर्तालाई राजनैतिकरूपले सचेत र सङ्गठित गर्नु नेतृत्व तहको जिम्मेवारी भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “परीक्षामा चिट चोर्ने संस्कारले विद्यार्थी कमजोर हुने हुँदा अध्ययनमा जोड दिनु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानले नेमकिपा स्थापनाकालदेखि नै शोषक वर्गको निम्ति आँखाको कसिङ्गर भएको बताउँदै कामदार महिला सशक्त भए परिवर्तन सम्भव हुने प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “२०४५ सालको भक्तपुर काण्ड नेमकिपालाई नष्ट गर्ने उद्देश्यले राज्यस्तरबाट रचिएको षड्यन्त्र भएको समयक्रमले प्रमाणित गरिसकेको छ ।”
महिलाहरू सङ्गठनमा नलाग्दा वर्ग शत्रुले फसाउने गरेको अनुभव सुनाउँदै उहाँले नयाँ पुस्ता हरेक क्षेत्रमा सचेत भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले संरा अमेरिका भारतलाई आफ्नो हातमा लिएर चीनलाई घेर्ने नीतिका साथ अगाडि बढेको बताउँदै चीनले संसारभर सही कूटनैतिक सम्बन्ध बनाएको प्रस्ट पार्नुभयो । उहाँले संरा अमेरिकी साम्राज्यवादको संसारभर विरोध बढिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश थुसाले अमेरिकी साम्राज्यवादले भेनेजुयलामा भएको पेट्रोलियम र सुन खानीमा आँखा गाडेको बताउँदै राष्ट्रपति माडुरोको प्रगतिशील नीति ट्रम्प सरकारको निम्ति टाउको दुखाइ भएको औँल्याउनुभयो ।
नर्सिङ समाज नेपालका अध्यक्ष देविका दनेखूले छात्रा विद्यार्थी कार्यकर्ताहरू स्वास्थ्यबारे जानकार भए सङ्गठन गर्न सहज हुने बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले पञ्चायत ढाल्न नेक्राविसङ्घका विद्यार्थीहरू सङ्घर्षको मोर्चामा अगाडि रहेको बताउँदै सङ्गठन निर्माणमा निरन्तर खटिनुपर्र्नेमा जोड दिनुभयो ।
आयोजक समितिका संयोजक जानकी सिजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्य कोपिला तामाङ, सुरेश परियारलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *