भर्खरै :

‘पत्रसाहित्यमा रोहित’ पुस्तक सार्वजनिक

काठमाडौँ, २६ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सुन्दर वासीद्वारा लिखित ‘पत्रसाहित्यमा रोहित’ पुस्तक आइतबार सार्वजनिक गर्नुभयो ।
‘जेलका चिट्ठीहरू’ पुस्तकको शोध अध्ययनमा आधारित पुस्तक सार्वजनिक गर्दै उहाँले आफूले लेखेका विभिन्न पत्र साहित्य लेख्नुपर्नाको पृष्ठभूमिबारे चर्चा गर्नुभयो ।
“साहित्यिक मूल्यको लागि भन्दा पनि व्यवहारिक कुराबारे नयाँ पुस्तालाई जानकारी दिन फरक–फरक पृष्ठभूमिमा ती पत्रहरू लेखियो । अहिले त्यसको साहित्यिक मूल्यमाथि चर्चा हुँदैछ ।”, हरिबहादुर श्रेष्ठको नाममा साहित्य लेख्नुहुने रोहितले भन्नुभयो ।
आफूले कुनै पनि काम गर्दा जनताको कसरी हित हुनसक्छ भन्नेबारे चिन्तन गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “गीतैमात्र गाए पनि कसरी जनताको सेवा हुनसक्छ भन्नेबारे सोच्ने गर्छु ।”
‘जेलका चिट्ठी’मा सङ्कलित चिठ्ठीहरू पनि साहित्यको रूपमा भन्दा पनि २०४५ सालको भक्तपुर काण्डको समयमा परिवारलाई दुःख र समस्याको चिन्तनबाट अन्यत्र ध्यान खिच्न ती चिट्ठी लेखिएको अध्यक्ष बिजुक्छेंले स्पष्ट पार्नुभयो ।
उहाँले भारत प्रवासको समयमा मेडिकल कलेजमा पढ्ने विद्यार्थीहरूले जनताको सेवा गर्ने लक्ष्यतिरभन्दा पैसा कमाउनेमा ध्यान दिएको देखेर ‘साइन्स र डाक्टरी पढ्ने भाइ–बहिनीलाई विदेशमा बस्ने दाजुको चिट्ठी’, इन्जिनियरहरू भन्नासाथ भ्रष्टाचारी हुन्छ भन्ने मानसिकता हटाउन र इमानदार इन्जिनियर कस्ता हुन्छन् भन्नेबारे बताउन ‘इन्जिनियर र वैज्ञानिक बन्ने भाइ–बहिनीलाई चिट्ठी’ लेखेको र प्रवेशिका परीक्षापछि कुन विषय किन पढ्ने भन्नेबारे जानकारी दिन ‘मार्ग निर्देशनबारे भाइ–बहिनीलाई चिट्ठी’ लेखेको बताउँदै पत्रसाहित्य लेख्दा जसको नाममा लेखिएको हो, ती मानिस आफ्नै अघि रहेको महसुस हुने गरेको अनुभव बताउनुभयो ।
जनलेखक सङ्घका अध्यक्ष लक्ष्मणराज जोशीले पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्रमा फसाइएका तत्कालीन नेमकिसंका अध्यक्ष रोहितले अर्धाङ्गिनी शोभाको नाममा लेख्नुभएका २१ चिट्ठीहरूको सङ्गालो ‘जेलका चिट्ठीहरू’लाई केन्द्रबिन्दुमा राखेर तयार गरिएको शोधपत्रले साहित्यिक विधामा पत्रसाहित्यलाई मौलिक विधाको रूपमा स्थापित गर्न दरिलो टेवा दिने आशा व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईले ‘जेलका चिट्ठीहरू’को पुरक कृतिको रूपमा ‘पत्रसाहित्यमा रोहित’ पुस्तक प्रकाशन हुनु खुसीको विषय भएको धारणा राख्दै सार्वजनिक कृतिले नारायणमान बिजुक्छेंको साहित्यिक व्यक्तित्व अझ प्रकाशमा ल्याउन मद्दत गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पुस्तकका लेखक सुन्दर वासीले ‘पत्रसाहित्यमा रोहित’ पुस्तक तयार गर्न सहयोग गर्ने सबै सहयोगीप्रति आभार व्यक्त गर्दै श्रद्धेय अध्यक्ष रोहितको जन्म दिनमा पुस्तक सार्वजनिक गर्न पाउनु खुसीको विषय भएको बताउनुभयो ।
कार्यक्रममा गीतकार हरिहर तिमिल्सिना, शिक्षक रवीन्द्र न्हेम्हाफुकी, नीरज लवजू, सुरेश परियारले सार्वजनिक कृतिबारे समीक्षात्मक टिप्पणी गर्नुभयो । नेक्रासांसङ्घ केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रममा अमोद उलकले पनि बोल्नुभएको थियो ।
विसं १९९६ फागुन २६ गते जन्मनुभएका अध्यक्ष बिजुक्छें ८० औँ वर्षमा प्रवेश गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *