यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अभिभावकको पहिलो रोजाइ सस्तो र गुणस्तरीय शिक्षा हुने भएकोले शैक्षिक संस्थाहरूको स्थापना सेवा भावले हुनुपर्ने बताउनुभएको छ ।
सुर्योदय सेकेन्डरी स्कूलको ३९ औं वार्षिकोत्सव कार्यक्रमको शनिबार उद्घाटन गर्दै प्रमुख प्रजापतिले विद्यार्थीलाई पारिवारिक दबाबमा नभई उसको क्षमता र इच्छाअनुसार विषय छनोट गर्न दिएमा विद्यार्थीको प्रगति हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “किताबी ज्ञानसँगसँगै व्यवहारिक र अतिरिक्त क्रियाकलापमा सक्रिय बनाइराख्नुपर्छ ।”
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्ने, सफा र व्यवस्थित सांस्कृतिक नगर बनाउने उद्देश्यले कार्य गरिरहेको हुनाले नगरवासीहरूबाट निरन्तर सहयोग प्राप्त हुने आशा प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृृति, सम्पदा संरक्षण, खेलकुद, राजनीतिबारे नयाँ पुस्तालाई जानकारी दिन स्थानीय पाठ्यक्रम लागू गरेको बताउँदै उहाँले स्थानीय पाठ्यक्रम लागू गर्ने देशकै पहिलो स्थानीय तह भक्तपुर नगरपालिका भएको जानकारी दिनुभयो ।
भक्तपुर नपाका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थीहरूको सिकाइ कहिल्यै समाप्त नहुने बताउँदै समृृद्ध र सुखी देश निर्माणको लागि विद्यालयस्तरबाट इमानदार, अनुशासित र कर्तव्यबोध नागरिक तयार गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरूको एकरुपताको लागि शैक्षिक क्यालेन्डर प्रकाशन गरी आफ्नो गतिविधिलाई अगाडि बढाउने र विद्यालयको अनुगमन र नियमनमा जोड दिइरहेको उहाँले चर्चा गर्नुभयो ।
सूर्याेदय माविका सञ्चालक महेन्द्रगोपाल कर्माचार्यले विद्यालय स्थापनाको आधार, इतिहास र उद्देश्यबारे प्रस्ट पार्दै शिक्षामा भइरहेको व्यापारीकरणको विरोध गर्नुभयो ।
विद्यालयका प्रअ विजय कर्माचार्यले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्याव्सन भक्तपुर जिल्ला कार्य समितिका सचिव कुमार श्रेष्ठ, एन.प्याव्सन भक्तपुरका जी.बी. खड्का, प्याव्सन भक्तपुर नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजगोपाल कर्माचार्यलगायतले संस्कारयुक्त शिक्षाको आवश्यकता औंल्याउँदै कमजोर विद्यार्थीको मनोबल बढाउन हौसला दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूले विद्यालयका उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
Leave a Reply