भर्खरै :

नगर प्रमुख प्रजापति आस्था थियटरमा

भक्तपुर, २ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको मुक्तिको निम्ति एकता चाहिने र गरीबी अन्त्य भएपछि समानता पाउने विचार व्यक्त गर्नुभएको छ ।
आस्था सांस्कृतिक परिवारद्वारा प्रस्तुत ‘बहुलाकाजीको सपना’ नाटक हेरिसकेपछि शनिबार प्रमुख प्रजापतिले आमूल परिवर्तनले गरीब जनताले पनि व्यक्तित्व विकास अवसर पाउने उल्लेख गर्दै नाटकले समाज परिवर्तन गर्न न्यायप्रेमी जनतालाई घच्घच्याएको विचार व्यक्त गर्नुभयो ।
बोल्न नसक्ने र बोल्न नपाउने राणाकालीन समयमा बहुलाकाजीको भूमिका जोडेर नाटकमार्फत स्वतन्त्रताको आवाज उठाइएको ‘बहुलाकाजीको सपना’ नाटक प्रगतिशील नाटक भएको चर्चा गर्दै उहाँले नाटकले दर्शकको मन जित्न सफल भएको बताउनुभयो ।
गत फागुन २८ गतेदेखि दिनको तीन चरणमा मञ्चन भइरहेको सो नाटक आज आइतबारसम्म चल्नेछ । बिहान ८ बजे, दिउँसो ३ बजे र साँझ ५ बजे सुरु भइरहेको सो नाटक हेर्न आयोजक समितिले आग्रह गरेको छ ।
आदर्श समाज तथा प्रगतिशील संस्कृति निर्माणमा समर्पित आस्था सांस्कृतिक परिवारले प्रत्येक वर्ष नाटक मञ्चन गरिरहेको छ ।
नाटककार विजय मल्लद्वारा लिखित सो नाटकको निर्देशन रमेश प्रजापतिले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *