भर्खरै :

कोशी उच्च बाँध देश हितविपरीत !

कोशी उच्च बाँध उदयपुर र सुनसरी जिल्ला जोड्ने गरी सप्तकोशीको बराह क्षेत्रमा २६९ मिटर अग्लो बाँध (ड्याम) निर्माण गराउने योजना हो । त्यस बाँधबाट ३ हजार मेगावाट विद्युत् उत्पादन गरी नेपाल–भारतमा समानुपातिकरूपमा वितरण गर्ने सोच राखिएको छ । त्यही उच्च बाँधको आठ किलोमिटर तल चटरामा अर्को बाँध निर्माण गरी नेपालमा ५ लाख ४६ हजार र भारतमा ९ लाख ७६ हजार हेक्टर जमिनमा सिंचाइ गराउने लक्ष्य राखिएको छ । (राजधानी, ३० फागुन) । तल्लो बाँधबाट थप ३ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव राखेर भारतीय टोली सर्वेक्षणमा जुटिरहेको छ ।
मझौला र साना बाँधहरू निर्माण गरेर विद्युत् उत्पादन र सिंचाइ गर्ने कुरा नेपालको लागि स्वागतयोग्य नै हुन्छ । तर, भारतले निर्माण गर्ने कोशी उच्च बाँधजस्तो महत्वाकाङ्क्षी योजना राष्ट्रघाती हुन जान्छ ।
भारतबाट निर्माण गरिएका अगाडिका बाँधहरूबाट भारतको मात्र हित भएको र नेपाल ठगिएको जगजाहेर छ । कोशी र गण्डक योजना निर्माणमा भारतले जनाएको वचनबद्धताअनुसार कुनै कार्यान्वयन गरेको देखिँदैन । नेपालको कैयौँ विगाहा जमिन डुबान र कटानमा परी हजारौँ बासिन्दालाई विस्थापित बनाइयो । सम्झौताअनुसार भारतले दिनुपर्ने क्षतिपूर्ति कसैलाई दिएन । तसर्थ २६९ मिटर उचाइको कोशी उच्च बाँध निर्माण गरी पुनः नेपाल ठगिने अवस्था नेपाली काङ्ग्रेसको पालामा भएको भारतसँगको सम्झौताले सृजना गरेको छ । यसै सन्दर्भमा सीमाविद् एवम् नापी विशेषज्ञ बुद्धिनारायण श्रेष्ठ भन्नुहुन्छ –“बराह क्षेत्रमा उच्च कोशी बाँध निर्माण भएमा नदीको माथिल्लो तटीय क्षेत्रमा रहेका धनकुटा, भोजपुर र ते¥हथुमसम्मको नदी किनारी बेसी तथा बस्ती डुबानमा पर्नेछन् ।” (राजधानी, ३० फागुन)
नेपालको १८८० किमि सिमाना भारतसँग जोडिएको छ । त्यसमध्ये दार्चुलाको कालापानी, नलवपरासीको सुस्ता क्षेत्रलगायत ७१ स्थानमा भारतले ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि हडपेको छ । अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालको दक्षिणी सिमानामा दसजगाको नजिकमा लक्ष्मणपुर बाँध, रसियावाल–खुर्दलोटन बाँध, महलीसागरजस्ता बाँधहरूको निर्माण गरेर भारतले नेपालको हजारौँ बिगाहा जमिन जलमय बनाएर नेपाली जनतालाई दुःख दिइरहेको छ । अन्तर्राष्ट्रिय नियमअनुसार सिमानामा ८ किमि परमात्र बनाउन सकिन्छ तर नेपालको सिमानामै बनाउँदा पनि नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा उजुर गर्न जाने आँट गरेको छैन । भारतले नेपालका केही नेताहरूलाई फकाई फुलाई पार्टीगत र व्यक्तिगत लाभ दिई नेपालको हितविपरीत कार्य गरी नै रहेको छ । यसरी पार्टीगत फाइदा र व्यक्तिगत फाइदा लिई देश हितविपरीतको कोशी उच्च बाँध निर्माण गर्न भारत सफल भएमा नेपालीहरूको दुर्भाग्य हुनेछ । तसर्थ नेपालीहरू समयमै सचेत भएर कोशी उच्च बाँधको विरूद्ध आवाज उठाउन आवश्यक छ  ।
– सुवास दुवाल, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *