पुरानोको सुस्केरा र नयाँको ताईफुई
- असार १२, २०८३
काठमाडौँ, ५ चैत । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मङ्गलबार बसेको बैठकमा सहरी क्षेत्रका सम्पदा क्षेत्र अतिक्रमण गरेर निजी घर निर्माण तीव्ररुपमा भइरहेको सम्बन्धमा समितिको ध्यानाकर्षण गराइयो । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मी, सम्पदा बचाउ अभियानका अभियानकर्मी गणपति श्रेष्ठ, कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेलगायतले यस विषयमा समितिको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँहरूले सम्पदाको पुनःनिर्माण गर्दा व्यापारिक प्रयोजनका लागि नभई जस्ताको तस्तै मौलिक ढाँचामा बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँहरुले हनुमानढोका क्षेत्रको पूर्वतर्फ निर्माणाधिन महर्जन कम्प्लेक्सले सम्पदा क्षेत्रलाई असर गर्ने गरी मापदण्ड मिचेर जमिनमुनि पार्किङ र बेसमेन्ट बनाएको तथा संरक्षित क्षेत्रको नियमविपरीत ३५ फिटभन्दा बढी अग्लो बनाउन लागेको तथ्य पेश गर्नुभएको थियो ।
महर्जन कम्प्लेक्सले सम्बन्धित सरकारी निर्देशनको पटकपटक अटेर गर्दै आएको सम्बन्धित सरकारी निकायको आरोप छ । बैठकमा पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले कानुन मिचेर सम्पदा क्षेत्रलाई असर पार्ने गरी महर्जन कम्प्लेक्स निर्माण गरेको भए डोजर लगाएर भत्काउनुपर्ने बताउनुभयो ।
उहाँले नियम कानुनभन्दा माथि कोही नहुने भन्दै सम्पदाको पुनःनिर्माण गर्दा मौलिक शैलीमा जस्ताको तस्तै बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसदहरु सुजिता शाक्य, नारदमुनी राना, चाँदतारा कुमारी, मोहन बानियाँ, सरिता गिरी, रेणुका गुरुङ, दिव्यमणि राजभण्डारी र सरलाकुमारी यादवले पनि सम्पदालाई असर गर्ने गरी मापदण्ड मिचेर महर्जन कम्प्लेक्स निर्माण गरेको भए तुरुन्त भत्काउनुपर्नेमा जोड दिनुभयो ।
धार्मिक सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि वैदेशिक सहयोग लिँदा सोच्नुपर्ने र सम्बन्धित सम्पदाका गुठीको सम्पत्ति परिचालन गर्नुपर्नेमा समिति सदस्यहरुको जोड थियो । बैठकमा विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा वरिपरि क्षेत्रमा अग्ला भवन निर्माण गर्न नहुने, कानुनी मापदण्डलाई कडाइका साथ लागू गर्नुपर्ने र सम्पदाको पुनःनिर्माण पुरानै ढाँचामा गरी संरक्षण गर्नुपर्नेमा जोड दिइएको थियो ।
कानुनको परिधिभित्रै रहेर कम्प्लेक्स निर्माण
महर्जन कम्प्लेक्सका अध्यक्ष कृष्णलाल महर्जनले कानुनको परिधिभित्रै रहेर कम्प्लेक्सको भवन निर्माण गरेको दाबी गर्नुभयो । कम्प्लेक्सको नक्सा हाल चार तलाको पास भएको र सोहीअनुसार निर्माण गर्दा ३१ फिटसम्म मात्र उचाइ रहेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो । सर्वाेच्च अदालतको पछिल्लो आदेशले पुरानो घरको संरचनाअनुसार ५३ फिटसम्म जान सकिने बाटो खुलेको उहाँको भनाइ थियो । कम्प्लेक्स निर्माणको क्रममा डोजर प्रयोग गर्दा सम्पदा क्षेत्रका पोखरीको पानी सुकेको र कम्प्लेक्सको बेसमेन्टदेखि हनुमानढोका दरबार क्षेत्रको राष्ट्रिय ढुकुटीसम्मको दूरी नौ मिटरको मात्र रहेकोले पनि सुरक्षामा खतरा रहेको दरबार हेरचाह अड्डाको भनाइ छ ।
बैठकमा पुरातत्व विभागका कामु महानिर्देशक दामोदर गौतमले भूकम्पले क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माणको अवस्थाबारे जानकारी गराउँदै हालसम्म २८ प्रतिशत कार्य सम्पन्न भएको बताउनुभयो ।
यस वर्ष ३० प्रतिशत पुनःनिर्माण सम्पन्न हुने र बाँकी आगामी दुई वर्षमा सकिने उहाँले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले आफूहरुले सरकारी मापदण्डअनुसार नै नक्सा पास गर्ने गरेको बताउँदै सम्पदा पुनःनिर्माण र संरक्षण कार्यलाई महत्वमा राखेको बताउनुभयो ।
Leave a Reply