ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबिच सहकार्यको खोजी
- भाद्र २८, २०८३
माइकल जोक्कर
न्युयोर्कका धितो बजार व्यापारी, सेनचेनका कारखानाका मजदुर, सिओलका ढुवानी कम्पनी, हानचाओका प्रविधि तथा थोक व्यापार कम्पनी र पेरिसका सौखिन फेसन व्यापारीबीच एउटा कुरा साझा छ । त्यो हो, चिनियाँ अर्थतन्त्रको अवस्थाले उनीहरूलाई कुनै न कुनै रुपमा प्रभावित गरेको हुन्छ ।
बितेको साल सन् २०१८ मा चीनको आर्थिक वृद्धि दर बितेका २८ वर्षकै सबभन्दा धिमा रहेको बताइयो । सन् २०१८ मा चीनको आर्थिक वृद्धि दर ६.६ प्रतिशत रह्यो । चीनभित्र र बाहिर यो विकसित अवस्थाले नयाँ प्रश्न उठाएको छ । चीनमा, विश्व बजारमा, उपभोगमा, उत्पादन र निर्यातमा र सन् २०१९ को विश्व अर्थतन्त्रमा यसको समग्र प्रभाव कस्तो पर्नेछ ?
बितेका बीस वर्षमा विश्व आर्थिक वृद्धिको महत्वपूर्ण हिस्साको नेतृत्व चीनले गरिरहेको अवस्थामा उसको कुनै पनि उल्लेख्य सुस्तता चासोको विषय बन्नु स्वाभाविक हो । संरा अमेरिकी अर्थतन्त्रबारे एउटा पुरानो भनाइ छ, “संरा अमेरिकाले हाछ्यु गर्दा संसारलाई रुघा लाग्छ ।” यो भनाइ यतिबेला चीनको सन्दर्भमा लागू हुन्छ । चीनमा जे हुन्छ त्यसले संसारमा प्रभाव पार्छ ।
तर, के २८ वर्षयता चीनको सबभन्दा धिमा आर्थिक वृद्धि दर हुनु सबै पक्षको चासोको विषय हो वा होइन ? हो पनि र होइन पनि ।
बितेका दसकमा चीनको अर्थतन्त्रले तीव्रगतिमा मात्र नभई नाटकीय रूपमा समेत कायापलट भएको छ । त्यसैको परिणामस्वरूप चीन आज संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । यो विकासक्रम आश्चर्य, विश्लेषण, अनुगमन र वस्तुगत रूपमा प्रमाणित गर्नुपर्ने विषय हो । चीनको अर्थतन्त्रबारे विज्ञता हासिल गरेका चीनभित्र र बाहिरका विद्वानहरूले हरेक समाचार, तस्वीर र आर्थिक सूचकलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेका हुन्छन् ।
तर सूक्ष्मदर्शक यन्त्रमा एउटा कोशलाई मात्र अवलोकन गर्दा हामीले पूरै मांशपेशी, हात, खुट्टा वा जीवको आत्मा देख्न सक्दैनौं ।
चीनको अर्थतन्त्रको वृद्धि दर धिमा भएको र यस्तो अवस्था बितेका केही वर्षदेखि चालू रहेको मेरो बुझाइ छ । साथै १४, १२, १०, ८ र ७ प्रतिशतको दरले वृद्धि भएको कुनै पनि अर्थतन्त्र सधैं त्यही गतिमा वृद्धि हुन सक्दैन र हुनु पनि हुँदैन भन्ने मेरो विश्वास छ ।
चीनको अर्थतन्त्र, समाज र विश्वको अर्थतन्त्र, राजनीति र व्यापारमा यसको प्रभाव यतिबेला सङ्क्रमणकालमा छ ।
उत्पादनमुखी र निर्यातकेन्द्रित अर्थतन्त्र अहिले अनुसन्धान, प्रविधि, उपभोग र सेवामुखी अर्थतन्त्रतिर अघि बढिरहेको छ । यो चीनको लागि सही रणनीति हो । तर, यो बाटो त्यत्ति सहज भने पक्कै होइन ।
संरा अमेरिकामा के भइरहेको छ, हेर्नोस् । स्थानीय, बन्द, उत्पादनमुखी, निर्यातमुखी अर्थतन्त्र (१९४७–८०) वित्तीय अर्थतन्त्र (संरा अमेरिकी अर्थतन्त्रको बहुमत क्षेत्रमा सेवा र वस्तुलाई वित्तीय सेवाले उछिनेको अवस्था) तर्फ अघि बढ्दा र भूमण्डलीकरणका कारण संरा अमेरिकी अर्थतन्त्रले बलियो धक्का सामना गर्नुप¥यो । फलतः संरा अमेरिकी मजदुरले ठूलो सङ्कट भोग्नुप¥यो ।
संरा अमेरिकामा बितेका २५ वर्षमा आर्थिक वृद्धि दर २–३ प्रतिशत हुनुलाई नै ‘उत्कृष्ट’ भनी व्याख्या गरियो । कतिबेला त्यो भन्दा कम प्रतिशतलाई समेत सामान्य मानियो ।
तब के चीनको वृद्धि दर र समग्र आर्थिक अवस्थाप्रति कुनै चिन्ता लिनु जायज हो ? धेरै सम्भव यसको उत्तर ‘हो’ नै हुन्छ । चीनको ऋण दर, प्रमुख उत्पादन क्षेत्रमा सुस्तता, कच्चा पदार्थ र वस्तुको खरिदमा न्यूनता, घरजग्गा क्षेत्रमा बढ्दो निर्भरता र आकर्षक प्याकेजको निरन्तर आवश्यकता आदि कारणले यो चिन्ता जायज छ ।
तथापि यिनलाई चिन्ताको विषयमात्र नबनाई निश्चित परिपे्रक्ष्यमा समीक्षा पनि गर्नुपर्छ । चिनियाँ अर्थतन्त्रमा आएको सुस्तताको कारण विश्व अर्थतन्त्रको समग्र वृद्धिदरमा पनि सुस्तता आउनु हो । युरोप पनि सङ्कुचनमा डुबेको छ र मध्यम वृद्धिमा खुम्चिनुपरेको छ । दक्षिण अमेरिकी अर्थतन्त्र सिधै खस्किएको छ । अफ्रिकाको अवस्था भने दोहोरो रह्यो । एकातिर विश्व अर्थतन्त्रलाई अघि बढाउने शक्ति पनि देखियो भने अर्कोतिर विश्वको आर्थिक वृद्धिको लागि अफ्रिकाले पछाडिबाट तान्ने काम पनि गरेको छ ।
बृहत् अर्थतन्त्रको कोणबाट हेर्दा चीनको आर्थिक वृद्धिदर संसारका अरु देशको तुलनामा राम्रो अवस्थामा छ ।
आजको अवस्था बुझ्न र भविष्यबारे राम्रो बुझाइ बनाउन चीनले बितेका चालिस वर्षमा के कति सफलता हासिल ग¥यो भन्ने कुरा बुझ्न जरुरी छ । केही तलका सूचकाङ्कको जानकारी राखौं ः
–चीनले ७० करोड जनतालाई गरिबीबाट माथि उकासेको छ ।
–विश्व अर्थतन्त्रमा आर्थिक रुपमा कम महत्व राख्ने देशबाट चीन आज संसारको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ ।
–अनुसन्धान, प्रविधिचलित अर्थतन्त्र बनाउनमा चीनमात्र संरा अमेरिकाभन्दा पछाडि छ ।
–विश्वको अर्थतन्त्र निकै खराब अवस्थामा स्वतन्त्र व्यापारमाथि प्रश्न उठ्यो, विश्वव्यापीकरणको समग्र मूल्यमान्यतामाथि प्रश्न उठ्दै थियो, त्यस्तो अवस्थामा पनि चीनले आफ्नो वृद्धि दर ६ प्रतिशतभन्दा माथि नै कायम राख्न सफल भयो ।
–विश्व अर्थतन्त्रका दुई ठूला शक्तिबीच पछिल्लो समयमा भएको निकै गम्भीर व्यापार युद्धको समयमा पनि चीनले आफ्नो वृद्धि दर कायम राख्यो ।
समग्र आर्थिक वृद्धि धिमा भएको छ । तर, अर्थतन्त्रमा परिपक्वता र विश्व आर्थिक सङ्क्रमणको अवस्थामा चीनको अािर्थक वृद्धि भने अझ बृहत् बन्दै गएको छ । यदि हामीले सूक्ष्मदर्शक कोणलाई हटाएर समग्र चिनियाँ अर्थतन्त्रलाई हेर्ने हो भने अवस्था निकै राम्रो छ ।
चिनियाँ अर्थतन्त्र उत्पादनमुखी र निर्यातमा आधारित अर्थतन्त्रबाट उपभोग र सेवाको अर्थतन्त्रमा सङ्क्रमण भइरहेको छ । चीनमा उपभोग निकै ठूलो छ र धेरै जस्तो दीर्घकालीन सूचकाङ्कहरू लगातार वृद्धि भइरहेका छन् । निःसन्देह यसका नकारात्मक पक्ष छन् । यो सङ्क्रमणले केही नकारात्मक प्रभाव पनि पारेका छन् । तर, यो अवस्था दीगो वृद्धिको लागि नभई नहुने पक्ष हो ।
विद्युतीय व्यापार र नयाँ थोक बजारले चिनियाँ नागरिकको मनोरञ्जनका तरिकादेखि दैनिक रुपमा तरकारी किन्ने तरिकासम्ममा समेत परिवर्तन ल्याएको छ । पसल जाने तरिका, सञ्चार गर्ने, सामाजीकरण हुने र वस्तु वा सेवा उपभोग गर्ने सबै तरिकामा धेरै प्रकारका परिवर्तन आइसकेका छन् । चीनमा आज जस्तो विद्युतीय अर्थतन्त्र छ त्यो चार वर्षअघि कल्पना पनि गर्न सकिन्नथ्यो ।
वातारणीय क्षति कम गर्ने र विगतमा भएका क्षति सच्याउने पहल अघि बढिरहेको छ । निःसन्देह कहिले उकालो र कहिले ओरालो हुनसक्छ । तर, समग्रमा विकासक्रम सकारात्मक रुपमा अघि बढिरहेको छ ।
चीनको सेवा क्षेत्र समग्रमा विस्तार भइरहेको छ । तर, वित्तीय सेवामा तीव्ररुपमा सुधार नहुँदा अझ जुन तीब्रता हुनुपर्ने वृद्धिदर छ, त्यसमा केही सुस्तता आएको छ ।
अर्थतन्त्र र आर्थिक वृद्धि निरपेक्ष विषय होइन । चीनको लागि राम्रो वा नराम्रो पक्षले अरूको लागि पनि राम्रो वा नराम्रो प्रभाव पार्ने देखिएको छ । त्यसबाहेक चीनको आर्थिक प्रगतिको अवस्थालाई केही महिना वा वर्षमा मात्र मापन गर्न सकिन्न । बरु दसकमा मात्र गर्नुपर्छ ।
एक पटक कक्षामा मैले नराम्रो काम गरें र त्यसको दोषारोपण अर्को साथीको थाप्लोमा थोपर्न खोजें । मेरो शिक्षकले भने, “माइकल, तिमीले अरुलाई एउटा औंलाले दोष लगाइरहँदा तीन वटा औंलाले तिमीलाई नै औंल्याइरहेको हुन्छ ।”
यो पाठ मैले जीवनभर आफ्नो साथ लिएर हिंडेको छु । कहिले यो पाठ काम लाग्छ, कहिले त्यत्ति प्रभावकारी हुने गर्दैन । तर, म यसबाट शिक्षा लिएर बसेको छु ।
तर, यो पाठ कुनै पनि देश, विश्वव्यापी सङ्गठन, लगानीकर्ता, ब्रान्ड र अर्थशास्त्रीले सिक्नुपर्छ ।
(लेखक चीन–एसिया प्रशान्त रणनीतिका उपसभापति र टोपकिन्स इन्टरनेशनल नामको विश्वव्यापी डिजिटल संस्थामा आबद्ध छन् ।)
नेपाली अनुवादः सुशिला
बेइजिङ रिभ्यु (फेब्रुअरी)
Leave a Reply