यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
यशराज
सन् १९५० को दशकमा चिनियाँ क्रान्तिको विकास तथा सफलतापश्चात् विश्वका जनता सँगसँगै नेपालीहरूबीच पनि नयाँ उत्साहको सञ्चार भयो । चिनियाँ क्रान्तिको सन्देश विशेषगरी नेपाली किसानहरू तथा तल्लो वर्गबीच फैलियो । रुसी अक्टोबर समाजवादी क्रान्तिको सन्देश नेपाली समाजमा अपेक्षाकृत छिटो पुग्न नसके तापनि चिनियाँ क्रान्तिले तत्कालै नेपाली जनताबीच सकारात्मक प्रभाव पारेको राजनीतिक घटनाक्रमले पुष्टि गर्छ । चिनियाँ क्रान्तिका नायक अध्यक्ष माओ त्सेतुङ नेपाली किसान, बौद्धिक, युवा–विद्यार्थीबीच अध्ययनको अनिवार्य विषत्र्mैँ बन्यो । अध्यक्ष माओ नेपाली परिवर्तनकामी जनताका एक आदर्श नायक बने । एक विशाल देशलाई साम्राज्यवादी तथा उपनिवेशवादीहरूको पञ्जाबाट सदाको निम्ति मुक्त गर्ने चिनियाँ क्रान्ति र शोषित–पीडित कामदार जनताको नेतृत्वमा शासन सत्ता स्थापना गर्न कुशल नेतृत्व प्रदान गर्ने एक महान व्यक्तित्वबारे व्यापक चर्चा–परिचर्चा देश–विदेशमा समेत हुनु अस्वाभाविक पक्कै होइन । नेपालजस्तो अर्ध–औपनिवेशिक देशका जनतालाई मुक्तिको उपाय बताउने माओ त्सेतुङको शिक्षा, योगदान र व्यक्तित्वको अध्ययन तथा अनुशरण गर्नु तत्कालीन आवश्यकतासमेत थियो भन्नु युक्तिसङ्गत मान्न सकिन्छ । त्यसैले नै हुनुपर्छ बौद्धिक, किसान र विद्यार्थीहरूका हात–हातमा ‘रातो किताब’ पुग्न थाल्यो र माओ त्सेतुङ्ग विचारधाराप्रति नेपाली प्रगतिशील जनता आकर्षित हुन थाले । निरङ्कुश पञ्चायती कालरात्रीमा रुमलिरहेका नेपाली जनताको निम्ति प्रकाशको पुञ्ज भेटिएझैँ भयो । नेपाली क्रान्तिको उत्थान एवम् विकासमा माओ त्सेतुङ्ग विचारधारा ऊर्जाको स्रोत र पथप्रदर्शक बन्यो भन्नु अतियोक्ति नहोला ! हुनान किसान आन्दोलनबाट प्रेरित भएर बागमती, नारायणी, जनकपुरलगायतका अञ्चलमा किसान सङ्घर्ष अगाडि बढ्न थाले । किसानहरूमा आन्दोलनको भावना र जागरणको लहर अभूतपूर्व ढङ्गमा विकास हुन थाल्यो र सामन्ती तथा प्रतिक्रियावादी वर्गको होस गुम्यो । किसान आन्दोलनकै कारण पञ्चायती शासकहरूमाथि चर्को दबाब पर्न थाल्यो । जनताको विद्रोही आवाज तथा परिवर्तनप्रतिको उत्कट अभिलाषा छेक्न–रोक्न सकिने स्थितिमा थिएन । यसप्रकार माओ त्सेतुङ्ग विचारधारा तत्कालीन नेपाली समाजमा अँधेरीमा हराएकाको निम्ति तेजिलो बत्ती सिद्ध भए भने प्रतिक्रियावादीको निम्ति खतराको घण्टी !
त्यही परिप्रेक्ष्यमा प्रतिक्रियावादीहरूले एउटा नयाँ षड्यन्त्रको चक्रव्युह रचे । अध्यक्ष माओको बद्नाम गर्ने र माओ त्सेतुङ्ग विचारधाराको अपव्याख्या गर्ने या बङ्ग्याउने । नियोजितरुपमा चीन र चिनियाँ क्रान्तिविरुद्ध तिनीहरू प्रचारबाजीमा लागे । त्यसो गर्नु पछाडि तिनीहरूको मुख्य उद्देश्य थियो– नेपालमा चिनियाँ क्रान्तिको बढ्दो प्रभाव रोक्ने र उर्लंदो कम्युनिष्ट आन्दोलन दबाउने । किसानहरूबीच पैmलिरहेको सङ्घर्षको भावनामा तिनीहरू चिसो पानी खन्याउन चाहन्थे । तसर्थ तिनीहरूले चीनलाई विवादमा फसाउने, चीनविरोधी गतिविधि चर्काउने, अनावश्यक ढङ्गमा तिब्बतको मामिला उछाल्ने आदि कार्यलाई मलजल दिइरहे । दशकौँ पछिसम्म पनि ती कार्यलाई तिनीहरूले निरन्तरता दिइरहेका छन् । पश्चिमाहरूको उक्साहटमा परी बेलामौकामा ‘एक चीन नीति’विपरीत तिनीहरू लेख्न, बोल्न र गतिविधिमा संलग्न हुनसमेत पछि पर्दैनन् । चीनको आँखा चिम्लेर विरोध गरेर पश्चिमाहरूलाई रिझाउनु र तिनीहरूबाट ‘स्याबास’, ‘बक्सिस्’ या ‘दक्षिणा’ प्राप्त गर्नुलाई नै केही नेपाली ‘बुद्धिजीवी’, ‘राजनीतिज्ञ’ आफ्नो सफलता ठान्छन् । त्यसैलाई दिनचर्या बनाइरहेकाहरूको कमी छैन भन्ने यथार्थ बेलामौकामा चर्चाको विषय बन्ने गर्छ । आखिर चीन, चिनियाँ क्रान्ति र त्यसका नेता अध्यक्ष माओबारे सच्चाई लेख्न र बोल्न तिनीहरू किन आजसम्म पनि डराइरहेका छन् ?
दैनिक ‘नयाँ पत्रिका’ मा हालै प्रकाशित नेपाली काङ्ग्रेसका नेता डा. नारायण खड्काको ‘अग्रलेख’ ले नियोजित रुपमा चीन र चिनियाँ क्रान्तिका नेता अध्यक्ष माओ त्सेतुङ्गबारे दिग्भ्रमित पार्ने चेष्टा गरिएको प्रस्ट अनुभूत हुन्छ । चिनियाँ क्रान्तिमा अध्यक्ष माओको महत्र्वपूर्ण भूमिका, अतुलनीय योगदान तथा उहाँको प्रभावशाली व्यक्तित्वमाथि हिलो छ्याप्ने काम निश्चय पनि एक ‘पूर्व मन्त्री’, ‘इतिहासका ज्ञाता’ तथा ‘परिपक्व राजनीतिज्ञ’ को निम्ति शोभनीय हुन्न । राजनीतिक इतिहासका हरेक विद्यार्थीलाई अवगत हुनुपर्ने हो – राज्यसत्ता कुनै फूलदान होइन । हरेक राज्यसत्ता दमनकारी हुन्छ । व्यवहारतः वर्ग रहेसम्म वर्गीय तानाशाही अनिवार्य हुन्छ । डा. खड्काले माओको सत्तालाई अधिनायकवादी देख्नु यस अर्थमा कुनै आश्चर्य होइन । नेपालको सन्दर्भमा जब जब नेपाली काङ्ग्रेसको सरकार बन्छ तब तब न्यायप्रेमी जनतामाथि दमन गरी देशलाई द्वन्द्वको स्थितिमा पु¥याएको घामजत्तिकै छर्लङ्ग छ । विसं २००७ पछि बारम्बार सरकारमा गएर निहत्था जनतामाथि गोली हानी हत्या गर्ने, आतङ्क मच्चाउने नेकाका कुनै नेतालाई कुनै अन्य सत्ताको चरित्रमाथि प्रश्न तेस्र्याउने नैतिकरूपमा अधिकार छैन । प्रश्न गर्नुभन्दा अगाडि आप्mनो अनुहार ऐनामा हेर्न एक सचेत नेपालीको नाताले सुझाव छ ।
आजसम्म आइपुग्दा नेपाली समाजलाई प्रस्ट जानकारी भइसकेको छ, बुद्धिजीवीहरू पनि वर्गमा विभक्त हुन्छन् । सरकारबाट फाइदा लिने, व्यक्तिगत उद्देश्य पूरा गर्ने र पद तथा लाभलाई अन्तिम गन्तव्य ठान्ने एकथरी पुँजीवादी बुद्धिजीवी हुन्छन् भने देश र जनताको व्यापक फाइदाको निम्ति सङ्घर्ष गर्ने, फराकिलो दृष्टिकोण राख्ने र विचार तथा सिद्धान्तमा अडिग रहने सर्वहारावादी दृष्टिकोणका अर्कोथरी बुद्धिजीवी पनि हुन्छन् । चिनियाँ समाजमा अध्यक्ष माओले सर्वहारावादी चिन्तनलाई प्रश्रय दिनुभयो र चरम व्यक्तिवादी तथा साम्राज्यवादी शक्तिको दलाली गर्ने क्रान्तिका विरोधी बुद्धिजीवीहरूको तीब्र विरोध तथा आलोचना गर्नुभयो । ती जनविरोधी तथा ‘हरिया सर्प’ हरूप्रति माओ त्सेतुङ्गले उदार नीति नअपनाउनु भएको सत्य हो । जनताप्रति इमानदार, देशप्रति बफादार र व्यावहारिक धरातलमा पुगेर जनताको जीवनमा सहयोग पु¥याउने तथा समाज परिवर्तनमा भूमिका निर्वाह गर्ने बुद्धिजीवीहरू नै सच्चा बुद्धिजीवी हुने अध्यक्ष माओको धारणा थियो । सेवाभावले ओतप्रोत र मन–वचन–कर्मले आमूल परिवर्तनप्रति प्रतिबद्ध विषयवस्तुका जानकार व्यक्तिहरूलाई उहाँले उच्च सम्मान गर्नुभएको यथार्थ कसैबाट छिपेको छैन । अध्यक्ष माओले बुद्धिजीवीहरूको सल्लाह–सुझाव नसुनेको प्रसङ्ग ‘झूटलाई सय चोटि दोहो¥याउने प्रवृत्ति’को उपजबाहेक अरु केही पनि होइन । त्यसो त बुद्धिजीवीहरूले सघाउँदैमा मात्र राज्यसत्ता पतन नहुने भए या समुन्नतिको ढोका खुल्ने भए नवरत्नहरूले घेरिएका दरबारहरू त कहिल्यै नढल्नु पर्ने हो ! इतिहासले पुष्टि गरिसकेको छ कि जनता नै निर्णायक शक्ति हो । जनताको इमानदारीपूर्वक निःस्वार्थ सेवा नै महत्र्वपूर्ण विषय हो ।
हो, अध्यक्ष माओ व्यक्ति विशेषलाई भन्दा पनि जनतालाई ज्ञान, गुण, विचारको खानी या मुहान ठान्नुहुन्थ्यो । जनताप्रति उहाँको अटल विश्वास थियो । त्यसकारण उहाँ बारम्बार जनताबीच पुग्न, जनताबाट सिक्न र जनताको सेवा गर्न अभिप्रेरित गर्नुहुन्थ्यो, निर्देशन दिनुहुन्थ्यो र त्यसको निम्ति अगुवाइ गर्नुहुन्थ्यो । जनसङ्घर्षमा होमिएका बौद्धिकहरूको उहाँ हृदयदेखि कदर गर्नुहुन्थ्यो । यही सन्दर्भमा उहाँले भन्नुभयो– “सयौँ फूल फुल्न देऊ ।” अध्यक्ष माओले बुद्धिजीवीहरूलाई जनताका समस्याका असल सहयोगी एवम् भरपर्दो मित्र बन्न र समाजको आवश्यकताबमोजिम आफूलाई व्यावहारिकरुपमा प्रस्तुत गर्न सुझाउनुहुन्थ्यो । त्यही सन्दर्भमा उहाँले भन्नुभयो– “आठ–दशवटा बीऊको बारेमा जानकारी नराख्ने कसरी बुद्धिजीवी ?” त्यसो भनेर अध्यक्ष माओले किसानहरूमा अन्तरनिहित ज्ञान–गुण, सीप–क्षमतालाई कम आँक्न नहुने र तिनको पनि पूर्ण सदुपयोग गर्नुपर्ने विचार अभिव्यक्त गर्नुभएको हो ।
अध्यक्ष माओ एउटा धनी किसान परिवारमा जन्मनुभएको थियो । अध्ययनशीलता, व्यावहारिक ज्ञान, कला–साहित्यबारे गम्भीर अध्ययन, माक्र्सवाद र चिनियाँइतिहासबारे गहन अध्ययन, सैन्यविज्ञानमा दख्खल आदि उहाँको व्यक्तित्वका विविध उज्याला पक्ष हुन् । एक किसानको छोरो रणविद् बनेर विश्वका महाशक्ति देशहरूलाई चिनियाँ भूमिबाट भगाउन सफल भएको कुनै दन्त्यकथा पक्कै होइन, न त परिकथा नै । असम्भव ठानिएका युद्धसमेत जितेर विशाल चिनियाँ भूमिलाई दासताबाट मुक्त पार्न नेतृत्व प्रदान गर्ने अध्यक्ष माओमा लघुताभाष देख्ने, हीनताबोध देख्ने र उहाँको कद होचो देख्ने कस्तो चस्मा प¥यो, खोजीकै विषय हो ! चिनियाँ इतिहास, भूगोल, साहित्य, दर्शनशास्त्र तथा रणनीतिमा विशिष्ट ज्ञान हासिल गरी गन्थनमात्र गरी बस्ने होइन बरु समाज बदल्न साहसिक नेतृत्व प्रदान गर्ने व्यक्तिहरूको अवमूल्यन गर्न खोज्नु डाक्टर सा’बको दुस्साहस नभई के ? यस पछाडि के बाध्यता लुकेको छ ? अध्यक्ष माओको योगदान तथा व्यक्तित्वबारे लेखिएको आधिकारिक पुस्तक अमेरिकी पत्रकार एड्गर स्नोद्वारा लिखित ‘चिनियाँ आकाशमा रातो तारा’ हो । डाक्टर सा’बले कुन ‘प्रायोजित’ पुस्तक अध्ययन गर्नुभयो, कुन्नि !? सायद चीनबारे आधिकारिक पुस्तक पढ्न नेपाली काङ्गे्रसभित्रको ‘वीपीकालीन’ प्रतिबन्ध अहिलेसम्म फुकुवा भइसकेको छैन कि !?
निराधार तर्कहरूको पुलिन्दा तयार पार्दै डा. खड्काले लेखमा माओले विद्वानहरूलाई दण्डित गरेको समेत बताएका छन् । तर, वास्तविकता अत्यन्त फरक छ ! अध्यक्ष माओले कहिल्यै भौतिक सफायाको कुरा गर्नुभएन । भारतमा नक्सलवाडीले वर्गशत्रु सफायाको नीति लिँदासमेत चिनियाँ कम्युनिष्ट पार्टीले विरोध गरेको इतिहासका अध्येताहरूलाई प्रस्ट थाहा छ । बरु अध्यक्ष माओले बौद्धिकहरूको व्यापक परिचालन गरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूसँग चीनको कूटनीतिक सम्बन्ध, सांस्कृतिक सम्बन्ध स्थापित गर्दै विकास गर्न र सम्बन्धलाई देश–देशबीच मात्र सीमित नराखी जनस्तरसम्म पु¥याउन बुद्धिमत्तापूर्ण कार्य दूरगामी सोचका साथ गर्नुभएको आज स्पष्ट हुँदैछ । त्यही अन्तर्राष्ट्रिय सम्बन्धको बलियो जगमा चीन अगाडि बढ्दैछ । साथै विश्व कम्युनिष्ट आन्दोलन तथा साम्राज्यवादविरोधी सङ्घर्षमा चीन र चिनियाँ नेतृत्वले चर्को सैद्धान्तिक बहस अगाडि बढाएर वैचारिक परिपक्वता प्रदर्शन गरेको वास्तविकता छोपेर छोप्न सकिन्न । एसिया र एसिया–प्रशान्त क्षेत्रका देशहरूलाई औपनिवेशिकताबाट मुक्त बनाउन दिलोज्यानले सहयोग गरी क्षेत्रीय शान्ति तथा विश्व शान्तिमा चीनले उल्लेख्य भूमिका निर्वाह गरेको र साम्राज्यवादीहरूलाई घुँडा टेकाउन सफल भएको गर्विलो इतिहासको रचना गरेको कसैले लुकाउँदैमा लुक्ने छैन । यी सम्पूर्ण ऐतिहासिक घटनाहरू अध्यक्ष माओकै समयमा भए–घटेका थिए । यसरी उन्नत विचार, समाजवाद तथा समृद्धिको जग हाल्न अध्यक्ष माओको नेतृत्वकारी भूमिका रहेको अस्वीकार गर्दै माओ विचारमा अब्बल होइन भन्दै आर्थिक रुपमा असफल देखाउन खोज्नु स्वयम् छलछाम हो र जरा बिनाफलको कल्पना गर्ने मूर्ख बन्नु हो । अध्यक्ष माओका सबै प्रयोग असफल भए भनी यतिखेर हल्ला गरी बेमौसमी बाजा बजाएर आपैm हाँसोको पात्र साबित हुनेबाहेक अरु केही हात नलाग्नेबारे डा. खड्काले बेलैमा हेक्का राखेको भए जाती हुने थियो । यो लेख डा. खड्काले हालै गरेको चीन भ्रमणको क्रममा देखिएका आश्चर्यजनक चिनियाँ प्रगति तथा उपलब्धिबाट तिर्मिराएर प्रतिक्रियामा तयार पारिएको हो या आप्mनो पार्टीको विगतका अकर्मण्यताप्रति प्रायश्चित गर्दै अरुको ‘कमजोरी’ बारे हल्ला गरेर आप्mना गल्ती–कमजोरी लुकाउने धृष्टताको प्रतिफल हो, आशङ्का गर्ने प्रशस्त ठाउँ छन् । संरा अमेरिकी साम्राज्यवादले प्रजग कोरियालाई समर्थन नगर्न नेपाललाई दबाब दिइरहेको र तिब्बती शरणार्थीहरूलाई फिर्ता पठाउने कार्य बन्द गर्ने लगायतका चीनविरोधी प्रस्तावहरू नेपाल सरकारसमक्ष अघि सारिरहेकै घडीमा डा. खड्काको यो पूर्वाग्रहले भरिपूर्ण लेख आउनु के संयोग मात्र मान्न सकिएला ? प्रश्न गम्भीर छ ।
Leave a Reply