भर्खरै :

स्थानीय पाठ्यक्रमबारे शिक्षाविद् र शिक्षक–शिक्षिकाबीच अन्तरक्रिया

भक्तपुर, ८ चैत । भक्तपुर नगरपालिकाद्वारा विद्यालय स्तरमा सञ्चालित स्थानीय पाठ्यक्रमबारे विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक—शिक्षिकाहरूबीच शुक्रबार अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मौलिक सीप, प्रविधि, इतिहासलाई जीवित राख्न र नयाँ पुस्तालाई स्थानीय विषयमा जानकार बनाउन नगरपालिकाले शैक्षिक वर्ष २०७५ देखि भक्तपुरका सबै विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागू गरेको जानकारी दिनुभयो ।
प्रमुख प्रजापतिले निजी र सामुदायिक विद्यालयबीचको शैक्षिक गुणस्तरमा भएको भेद अन्त्य गर्न नगरपालिकाले समान रुपमा सबै विद्यालयहरूबीच विभिन्न प्रतियोगिता आयोजना गरेको र नगरपालिका क्षेत्रभित्रका सामुदायिक आधारभूत विद्यालयहरूको शैक्षिक स्तर उकास्न शिक्षक–शिक्षिकाहरूलाई तालिम सञ्चालन गरी विद्यालयको भौतिक सुधारको लागि आर्थिक सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले आधारभूत तहमा पढाउने शिक्षकहरूको लागि निकट भविष्यमै विभिन्न विषयहरूको तालिमहरू सञ्चालन गर्ने भनपाले तयारी गरिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “स्थानीय पाठ्क्रमलाई राम्रोसँग लागू गर्न विद्यालयहरूले थप मेहनत गर्नु आवश्यक छ ।”
कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले किताबमात्र पढाउने शिक्षक अब काम नलाग्ने बताउँदै प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्न शिक्षक–शिक्षिकाहरू प्रविधिमैत्री हुनुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयहरूमा स्थानीय सङ्ग्रहालयको आवश्यकता औंल्याउँदै भन्नुभयो, “ विद्यार्थीलाई करले होइन रहरले पढाउन हौस्याउनुपर्छ ।”
विद्यार्थीलाई धेरै भाषासिक्न र सिकाउन अभिप्रेरित गर्नुपर्नेमा जोड दिंदै शिक्षाविद् कोइरालाले भाषा, लिपी र संस्कृति हाम्रो देशकै सम्पत्ति भएको र यसको संरक्षण—सम्बद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
विद्यार्थीले जति धेरै भाषा सिक्यो उसको स्मरणशक्ति उत्तिकै बलियो हुने धारणा राख्दै उहाँले शिक्षक–शिक्षिकाहरूले विद्यार्थीको जिज्ञासा र रहरलाई बुझ्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय पाठ्यक्रमले भाषा र स्थानीय कला–संस्कृतिबारे सिक्ने राम्रो अवसर दिएको छ । भक्तपुरको इतिहास, संस्कृति र विशेषताबारे यहाँका विद्यार्थीले थाहा पाउनुपर्छ ।”
पाठ्य सामग्रीको सही सदुपयोग गरी विद्यार्थीको पठनशैली बदल्नुपर्ने, विद्यार्थीलाई प्रविधिमैत्री बनाउनुपर्ने, स्थानीय ज्ञान र सीपप्रयोग गरी शिक्षण विधि अपनाउनुपर्नेमा शिक्षाविद् कोइरालाले जोड दिनुभयो ।
स्थानीय पाठ्यक्रमनिर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले पाठ्यपुस्तकबाट हुबहु अध्यापन गराउने शिक्षण पद्धति पुरानो भइसकेको र स्थानीय पाठ्यक्रमको सही सदुपयोग गर्न सके विद्यार्थीहरू लाभान्वित हुने बताउनुभयो ।
स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सदस्य प्रा. सिद्धिरत्न शाक्यले विद्यार्थीको चौतर्फी विकास गर्न शिक्षक–शिक्षिकाहरू स्थानीय विषयवस्तुमा जानकार हुनुपर्ने र शिक्षकहरूले पाठ्यक्रमकै आधारमा विद्यार्थीलाई पढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बोल्नुभएको थियो भने विभिन्न सहभागी विद्यालयका शिक्षक–शिक्षिकाहरूले पनि जिज्ञासा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *